प्याव्सनले ‘विद्यालय शिक्षा’ विषयक राष्ट्रिय सम्मेलन गर्दै


काठमाण्डौं ७ माघ– निजी तथा आवासीय विद्यालयहरूको छाता संगठन (प्याव्सन) ले ‘विद्यालय शिक्षा’ सम्बन्धि दुई दिने राष्ट्रिय सम्मेलन गर्ने भएको छ ।
मंगलबार पत्रकार सम्मेलन गर्दै शिक्षालाई नयाँ आयामबाट अन्र्तराष्ट्रिय स्तरमा पुर्याउन सम्मेलन गर्न लागिएको बताउँदै प्याव्सनका अध्यक्ष टिकाराम पुरीले जानकारी दिए । प्याब्सनको आयोजना र सीटीएफको सह–आयोजनामा माघ ९ र १० गते होटल हायातमा हुन गईरहेको उक्त सम्मेलनमा देश र विदेशका विभिन्न विज्ञहरूको प्रस्तुती रहने छ । साथै यसका लागि सम्पूर्ण तयारी सम्पन्न भईसकेको अध्यक्ष पुरीले बताए ।
सम्मेलनमा निजी विद्यालय सञ्चालक, शिक्षकलगायत सरकारी निकायका प्रतिनिधि, विश्वविद्यालका प्राध्यापक, को–अर्डिनेटर, अध्येता, अनुसन्धानकर्ता, शिक्षाविद्, सामुदायिक विद्यालयका शिक्षक, शिक्षा पत्रकार र शिक्षा नीति निर्माणमा संलग्न व्यक्तिहरू सहित तीन सय भन्दा बढी व्यक्तिहरूको सहभागिता रहने छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको समन्वय र काठमाण्डौं विश्वविद्यालय स्कुल अफ एजुकेशनको प्राविधिक सहयोगमा सो सम्मेलन कार्यक्रम हुन गईरहेको हो ।
उक्त सम्मेलनमा भाग लिन प्याव्सनले आफ्ना केन्द्रिय समितिका सल्लाहकार, पदाधिकारी तथा सदस्यहरु, प्रदेश पदाधिकारी र जिल्ला अध्यक्षहरुलाई अनिवार्य गरेको छ । त्यसै गरि सशुल्क सहभागि हुनु पर्ने उक्त सम्मेलनमा भाग लिन चाहनेले अनलाईन मार्फत् बुकिङ् गर्दा प्रति व्यक्ति १३ हजार र कार्यक्रमकै दिन दर्ता गर्दा प्रति व्यक्ति १५ हजार तिर्नु पर्ने व्यवस्था गरिएको सम्मेलनका संयोजक राजेन्द्र वानियाँले जानकारी दिए । सो कार्यक्रमले नेपालको विद्यालय शिक्षाको क्षेत्रमा गुणस्तर र व्यवस्थापनमा नयाँ बहस सुरू गर्ने अपेक्षा समेत गरिएको छ ।