यस्ता छन् नौ अवस्था शिक्षक पदमुक्त हुने


काठमाडौं/५ माघ– विद्यालयका शिक्षक वा कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको प्रमाणित भएमा पदबाट हटाइने भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको शिक्षा ऐनको मस्यौदामा यस्तो व्यवस्था गरिएको हो । ऐनको मस्यौदाको परिच्छेद ६ को दफा ५९ को उपदफा २ को (६) मा यस्तो व्यवस्था गरिएको हो ।
मस्यौदामा देहायका अवस्थामा शिक्षक र कर्मचारीलाई पदबाट हटाइनेछ भनी नौ अवस्थाहरु उल्लेख गरिएको छ । मस्यौदामा उल्लेख भएका नौ अवस्थाहरु यस्ता छन् :
क) पदीय दायित्व पुरा नगर्ने
ख) विना सूचना लगातार पन्ध्र दिनभन्दा बढी समय विद्यालयमा अनुपस्थित रहेमा
ग) विद्यालयमा मादक पदार्थ सेवन गरी आएको कुरा प्रमाणित भएमा
घ) नैतिक पतन देखिने कुनै फोजदारी अभियोगमा अदालतबात सजाय पाएमा
ङ) सार्वजनिक विद्यालयका शिक्षक वा कर्मचारीले विद्यालय समयमा अन्यत्र अध्यापन वा काम गरेमा वा अन्य कुनै व्यावसायिक क्रियाकलाप गरेमा
च) स्थायी आवासीय अनुमतिपत्र लिएको प्रमाणित भएमा
छ) शिक्षक वा कर्मचारी राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको प्रमाणित भएमा
ज) आफूले अध्यापन गर्ने कक्षा र विषयमा विद्यार्थीको तोकिएको न्युनतम उपलब्धिस्तर हासिल गराउन नसकेमा
झ) तोकिएको अधिकारीको स्वीकृति नलिई खटिएको विद्यालय बाहेक अन्यत्र शिक्षण वा प्रशिक्षण कार्य गरेमा