काठमाडौं/५ माघ– त्रिभुवन विश्वविद्यालयले यही शैक्षिक शत्रदेखि स्नातकोत्तर तहमा श्रम शिक्षा अध्ययनका लागि भर्ना प्रक्रिया सुरु गरेको छ ।
मानविकी तथा सामाजिक शास्त्र संकाय, डीनको कार्यालयअन्तर्गत २०७६ (सन् २०२०) बाट सञ्चालन हुने श्रम अध्ययन, स्नातकोत्तर कार्यक्रममा पहिलो समूहको रुपमा नयाँ विद्यार्थी भर्ना प्रक्रिया सुरु गरेको हो । श्रम शिक्षा अध्ययन स्नातकोत्तर कार्यक्रमले श्रम र यसका बहुआयामिक सम्बन्धका बारेमा विद्यार्थीलाई सैद्धान्तिक र व्यावहारिक दुवै विषयमा ज्ञान र सीप सिकाउने लक्ष्य लिएको छ ।
माघ ५ गतेबाट भर्ना आवेदन फारम वितरण सुरु गर्ने र भर्ना हुन इच्छुकले फागुन ४ गतेभित्र आवेदन भरेर बुझाउनु पर्ने त्रिविले जनाएको छ । श्रम अध्ययन स्नातकोत्तर कार्यक्रममा भर्नाका लागि त्रिवि वा यसबाट मान्यताप्राप्त शैीक्षक संस्थाबाट कुनै पनि विषयमा स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्छ । त्रिविका अनुसार प्रवेश परीक्षा र मौखिक परीक्षा उत्तीर्ण भई योग्यताक्रम भित्र परेका विद्यार्थीले मात्र भर्ना पाउनेछन् ।
श्रमलाई सम्मान गर्दै प्राज्ञिक अध्ययन अनुसन्धान गर्ने, श्रम सम्बन्धी नीति निर्माण र कार्यान्वयनका पक्षमा काम गर्न विश्वबजारमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्य साथ कार्यक्रमको सुरुवता गरिएको त्रिविको भनाई छ ।
त्रिविले विश्वस्तरका श्रम विश्वविद्यालय, चाइना लेबर रिलेसन युनिभर्सिटी, ग्लोबल लेबर युनिभर्सिटी, जवहारलाल नेहरु विश्वविद्यालय आदि विश्वविद्यालयको पाठ्यक्रम र प्राध्यापकसँगको अन्तिरक्रियाबाट पाठ्यक्रमलाई अन्तिम रुपमा दिएको बताएको छ ।