रेल–वे र टेक्सटाइल इन्जिनियरिङ क्याम्पसको स्थापना गर्ने योजनामा छौं

काठमाडौं /१५ माघ-नेपालमा इन्जिनियरिङ शिक्षाको अवस्था र इन्जिनियरिङ शिक्षालाई गुणस्तरिय बनाउन विश्वविद्यालयलको भूमिका तथा पूर्वाञ्चल विशवविद्यालयको इन्जिनियरिङ शिक्षा र भावि योजनाबारे पूर्वाञ्चल विशवविद्यालय इन्जिनियरिङ संकायका डीन प्रा.देवीप्रसाद भट्टराईसँगको संवाद् ।


नेपालमा इन्जिनियरिङ शिक्षाको वर्तमान अवस्था कस्तो छ ?


हाल नेपालमा ११ वटा विश्वविद्यालय सञ्चालनमा छन् र ति मध्ये ६ वटा विश्वविद्यालयले मात्र इन्जिनियरिङ शिक्षाका कार्यक्रमहरु सञ्चालन गरेका छन् । बाँकी ५ वटाले इन्जिनियरिङ कार्यक्रमहरु सञ्चालन गर्दैनन् । ११ वटा आंगिक क्याम्पस र ४१ वटा सम्बन्धन प्राप्त क्याम्पसहरुमा गरि जम्मा ५२ वटा उच्च शैक्षिक संस्थाहरुमा इन्जिनियरिङ विषयको पढाई हुन्छ । स्नातक तहमा १७ वटा कार्यक्रम तथा स्नातकोत्तर तहमा २१ वटा र २ वटा विश्वविद्यालयमा पिएचडीका कार्यक्रम समेत सञ्चालनमा छन् । जसमा सिभिल र आर्किटेक्चर जस्ता पुराना स्थापित विषयदेखि एरोस्पेस र आर्टिफिसीएल इन्टेलिजेन्स जस्ता अत्याधुनिक कार्यक्रमहरु समेत समावेश गरिएका छन् । विश्वविद्यालय अनुदान आयोगको तथ्याङक अनुसार हाल इन्जिनियरिङ विषयमा अध्ययनरत विद्यार्थीको संख्या २९ हजार ८ सय रहेको छ । यो संख्या कूल विद्यार्थी भर्नाको ६ प्रतिशत मात्र हो । जसमध्ये २४ हजार ७ सय ४० पुरुष र ५ हजार ६० महिला विद्यार्थी अध्ययनरत छन् ।


इन्जिनियरिङ शिक्षालाई गुणस्तरिय बनाउन विश्वविद्यालयले के के गर्नुपर्ने अवश्यकता देख्नु हुन्छ ?


सबै भन्दा मुख्य कुरा समय सुहाउँदो पाठ्यक्रमको तर्जुमा र त्यसको कार्यन्वयनको सवाल हो । इन्जिनियरिङ शिक्षाका विभिन्न विधामा राष्ट्रिय तथा अन्तराष्ट्रिय मागलाई सम्बोधन गर्न सक्ने कार्यक्रम , त्यसका लागि आवश्यक पूर्वाधार, मानव संसाधन, प्रविधिमैत्री वातावरण , साधन स्रोतले सम्पन्न प्रयोगशाला र कक्षा कोठाहरु हुनुपर्ने अनिवार्य शर्त हुन् । विश्वविद्यालयले आफ्ना आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरुले यी मापदण्डहरु पुरा गरे नगरेको कडाईका साथ आवधिक रुपमा अनुगमन गर्ने हो भने शिक्षाको स्तर नउक्सने कुरै छैन । त्यसैगरी वार्षिक क्यालेण्डर प्रकाशन तथा कार्यन्वयन, आन्तरिक तथा सेमेस्टर परीक्षाहरु समयमा सम्पन्न हुनुपर्ने परीक्षाफल २ महिना भित्रमा प्रकाशन गर्न सकियो भने विश्वविद्यालयप्रति विद्यार्थी तथा अभिभावकको आकर्षण सहजै बढ्नेछ र इञ्जिनियरिङ शिक्षाको गुणस्तरमा अभिवृद्धि हुनेछ ।


विश्वको परिप्रेक्ष्यमा नेपालको इन्जिनियरिङ शिक्षालाई कसरि मुल्याङ्कन गर्न सकिन्छ ?


विकासशील र विकसित मुलुकका विकासका मोडलहरु फरक हुन्छन । हामी आधारभूत आवश्यकता र पूर्वाधारको विकासको लागि जुधि राखेका छौं, भने विकसित मुलुकहरुको ध्यान तिब्र औद्योगिकीकरण र मानविय सुख र सन्तुष्टिको चरम विकासको परिकल्पना र पूर्तिमा केन्द्रित छ । हाम्रो अवाश्यकता पूर्वाधार विकासमा जस्तै सडक, खानेपानी, बिजुली, सिंचाई, दुरसंचार आदिको विकासमा लक्षित हुनुपर्ने छ र तदनुरुपको दक्ष जनशक्तिको उत्पादनलाई पहिलो र अनिवार्य आवश्यकताको रुपमा हेरिएको छ । त्यसैले हाम्रो देशमा अहिले पनि सिभिल इन्जिनियरिङको सबै भन्दा बढि माग देखिन्छ, जवकि विकसित मुलुकमा पहिलो रोजाइका विषयमा यो पर्दैन । भारतमा समेत क्रिम विद्यार्थीको रोजाइमा , कम्प्युटर , इलेट्रोनिक्स हुने गर्दछ । तर पनि भूमण्डलीकरणको प्रभाव र असिमित मानविय ईच्छा आवश्यकताले गर्दा अन्य कार्यक्रमहरुको राष्ट्रिय तथा अन्तराष्ट्रिय महत्व र माग बढ्दो छ त्यसैले त्यसतर्फ पनि हाम्रो ध्यान गएको छ र सो अनुरुपका कार्यक्रमहरु सञ्चालित छन् ।


पूर्वाञ्चल विश्वविद्यालयको इन्जिनियरिङ संकायमा डीनको कार्यभार समालेको एक वर्ष पुगेको छ, यो समयमा के के गर्नु भयो ?


मेरो एक वर्षको अवधिमा भएका मुख्य मुख्य कार्यहरुलाई बुँदागत रुपमा यसरी प्रस्तुत गर्दछु :
१. आंगिक तथा सम्बन्धन प्राप्त सवै क्याम्पस ÷कलेजको स्थलगत रुपमा निरिक्षण गरि आवश्यकता अनुसार भौतिक पूर्वाधार , प्रयोगशाला र पठनपाठन कार्यको स्तर उन्नयन गरि स्तरिय सेवा दिन निर्देशन दिइयो ।


२. पुसेट – पुर्वाञ्चाल विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजिलाई लाई स्कुल अफ इन्जिनियरिङ र स्कुल अफ साइन्स् एण्ड टेक्नोलोजिको रुपमा छुट्टा छुट्टै स्थापना गर्न संकाय तथा कर्मचारीको व्यवस्थापन गर्ने कार्य सम्पन्न भयो ।


३. पुर्वाञ्चल विश्वविद्यालय इन्जिनियरिङ संकाय तथा त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ संस्थान विच मानविय शंसाधन तथा प्रयोगशाला र अनुसन्धान कार्यमा एक अर्का विच पारस्परिक सहयोग समन्वय गर्ने सम्वन्धमा सम्झौता सम्पन्न भयो । शिक्षकहरुलाई अनुसन्धान उच्च अध्ययन तथा पि एचडि डिग्रिको निमित्त अभिप्रेरित गर्ने योजना रहेको छ ।


४. इन्जिनियरिङ संकाय अन्तर्गतका विभिन्न कार्यक्रमका १० वर्ष पुराना सिलेवसलाई विषय समिति मार्फत शंसोधन तथा पुनर्लेखन गराई विद्या परिषद् तथा प्राज्ञिक परिषद् मार्फत अनुमोदन गराई उक्त संसोधित सिलेवसलाइ यसै वर्षबाट क्रमशः लागु गर्दै जाने क्रममा रहेको छ ।


५.पुर्वाञ्चल विश्वविद्यालय इन्जिनियरिङ संकाय तथा काठमाडौं विश्वविद्यालय बिच Renewable and Sustainable Energy Laboratory(RSEL) प्रदेश नं १ का लागि Solar & Renewable Energy focusing in Province–1 मार्फत सहकार्यको कार्य सुरुवात गरिएको ।


६. पुर्वाञ्चल विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङको स्नातकोत्तर तहमा अध्ययनरत ३ जना विद्यार्थीलाइ अनुसन्धान कार्यका लागि श्री महेन्द्र गोल्छा रिसर्च फाउन्डेसन द्वारा छात्रवृत्ति प्रदान गर्न सहमति प्राप्त भयो ।


७.परीक्षा व्यवस्थापन कार्यालयमा इन्जिनियरिङ संकायको नतिजालाइ छिटो छरितो र प्रभावकारी बनाउन डेपुटी कन्ट्रोलर (इन्जिनियरिङ) को व्यवस्थापना गरिएको छ ।


८.कक्षा संचालनलाइ व्यवस्थित वनाउन एकाडेमिक क्यालेण्डर प्रकाशन गरि त्यसलाइ कडाईका साथ पालना गर्न थालिएको छ ।


९.विश्वविद्यालय अन्तर्गतका सबै कलेज बिचको मास्टर्सको थेसिस रिपोर्टको स्ट्रक्चरमा एक रुपता कायम गर्न थालिएको छ ।


१०. अनलाइन विधिबाट प्रवेश परीक्षाको आवेदन फाराम र दस्तुर र डकुमेन्ट बुझाउने कार्य संचालनको सुरुवात गरिएको छ ।


११. विश्वविद्यालय अन्तर्गतका आंगिक तथा सम्वन्धन प्राप्त कलेज व्यवस्थापनसँग नियमित बैठक गरि समस्याको पहिचान र आवश्यकता अनुसार समाधानका उपायवारे छलफल सहित क्रमशः कार्यान्वयन गर्ने गरिएको छ ।


१२. प्रवेश परिक्षा बिनियामावाली तथा छात्रवृत्ति विनियामावालीमा देखिएका त्रुटी तथा कमजोरीलाई संसोधन तथा परिमार्जन गरि नयाँ विनियामावाली लागु गरि सोही अनुरुप कार्य सञ्चालन गर्न थालिएको छ ।


१३. Electronics & Telecommunication Engineering विषयको नाम र कोर्स कन्टेन्टमा समयानुकुल परिवर्तन गरि Electronics Telecommunication & automation Engineering राखि एकाडेमिक काउन्सिलबाट अनुमोदन गराउने कार्य भयो । यस कार्यक्रममा बढी रोजगारमुखी तथा अत्याधुनिक विषयहरु समावेस गरिएको छ ।


१४. पुर्वान्चल विश्वविद्यालय इन्जिनियरिङ संकायको आफ्नै website www.pufoe.edu.np र इमेल @pufoe.edu.np बनाई सोही माध्यमको प्रयोग गरि आवश्यक सुचना सम्प्रेसण वा आदान प्रदान गर्ने गरिएको छ ।


विश्वविद्यालयको परीक्षा सञ्चालन र नतिजा प्रकाशनमा समस्या हुँदा विद्यार्थीको विश्वास गुमाउँदै गएको अवस्था छ, यसलाई के भन्नु हुन्छ ?


एकदम सहिभन्नु भयो । परीक्षा र मुल्याङ्कन पद्धतिलाइ सुधार गर्नको लागि केहि महत्वपूर्ण कार्यहरु गर्दै छौँ । स्नातकोत्तर तहको परीक्षालाई चाडै नै संकाय अन्तर्गत राखेर परीक्षाका कामहरु सञ्चालन हुनेछ । परीक्षा सकिएको ७५ दिन भित्रमा परीक्षाफल प्रकाशन गर्न अधिकतम पहल गरिनेछ । परीक्षा व्यवस्थापन कार्यालयमा इञ्जिनियरिङ संकायको नतिजालाइ छिटो छरितो र प्रभावकारी बनाउन डेपुटी कन्ट्रोलर (इञ्जिनियरिङ) को व्यवस्थापन गरिसकिएको छ ।


परीक्षा संचालन र नतिजा प्रकाशनलाई examination calendar बनाई अघि बढ्न सकेमा धेरै हदसम्म ढिला सुस्तीमा कमि आउनेछ । निकट भविष्यमा तहगत रुपमा उत्तर पुस्तिकालाई coding /decoding गरिनेछ । यसरी परिक्षा सञ्चालन र नतिजा प्रकाशन समयमा गर्ने लक्ष्य राखिएको छ । तर कोभिड लगायतका जोखिमले गर्दा माथिका लक्ष्य र योजनाहरु पुरा गर्न निकै नै जोखिम पूर्ण परिस्थिति विद्यमान छ ।


हाम्रा विश्वविद्यालयले लामो समयसम्म पाठ्यक्रम परीमार्जन नगरी सञ्चालन गरेको पाईन्छ, यो सवालमा पुर्वाञ्चलको अवस्था कस्तो छ ?


पाठ्यक्रम परिमार्जन र पुनर्लेखनले बदलिदो विश्व परिस्थिति र नयामाग र आवश्यकतालाई सम्बोधन गर्न सक्नु पर्छ । पूर्वाञ्चल विश्वविद्याल इन्जिनियरिङ संकाय अन्तर्गतका विभिन्न कार्यक्रमका १० वर्ष पुराना सिलेवसलाई विषय समिति मार्फत शंसोधन तथा पुनर्लेखन गरी विद्यापरिषद् तथा प्राज्ञिक परिषद् मार्फत अनुमोदन गराई उक्त शंसोधित सिलेवसलाई यसै वर्षवाट क्रमशःलागु गर्दै जाने क्रममा रहेको छ । सोहि सम्बन्धमा स्थानीय र अन्तराष्ट्रिय बजारलाई ध्यानमा राखी Electronics & Telecommunication Engineering विषयको नाम र कोर्स कन्टेन्टमा समयानुकुल परिवर्तन गरि Electronics Telecommunication & automation Engineering राखि एकाडेमिक काउन्सिलवाट अनुमोदन गराउने कार्य भएको छ । यस कार्यक्रममा वढि रोजगारमुखी तथा अत्याधुनिक विषयहरु समावेश गरिएका छन् । यसरि हामी पाठ्यक्रम परिमार्जन र संसोधनलाई भविष्यमा समेत आवश्यकता अनुसार गर्दै लाने कुरामा प्रतिवद्ध छौँ ।


नेपाली विश्वविद्यालयहरु प्रति विद्यार्थीहरुको आकर्षण घट्नुको कारण के हो जस्तो लाग्छ ? आकर्षण बढाउन विश्वविद्यलायहरुले के गर्नुपर्ला ?


भूमण्डलीकरण र सुचना र प्रविधिको अभूतपूर्व विकासले गर्दा नेपाली विद्यार्थीहरुले पनि आफ्नो रोजाइ र भविष्यमा अपनाउने पेशालाई ध्यान दिएर उच्च शिक्षाका कार्यक्रम र सो सम्बन्धि राम्रा शैक्षिक संस्थाहरु छनौट गरेको देखिन्छ । सोहि क्रममा विकसित मुलुकका सुविधा सम्पन्न कलेजतर्फ ध्यान जानु स्वाभाविक पनि हो । जसले गर्दा नेपाली विद्यार्थीहरुको यहाँका विश्वविद्यालय प्रति आकर्षण घटेको देखिन्छ।


अर्को कारण नेपालको अस्थिर राजनैतिक परिस्थिति, चरम बेथिति, आकर्षक रोजगारीको अभाव र विकास र निर्माणप्रति राज्यतहबाटै ढिला सुस्ति देखिनुले अहिलेका नयाँ पुस्तामा नैराश्यता छाएको हुन सक्छ । यहाँका प्राविधिक विषयहरु बाहेक अन्य विषयहरु रोजगारमुखी नभएर जागिरमुखी हुनु पनि हो ।


फेरी पनि देश भित्रै केहि आशलाग्दा प्रयासहरु भएका छन् , कालो बादलभित्र चाँदीको घेरा हुन्छ भने जस्तै केहि सकारात्मक उपलब्धिहरुको सुरुवात भएको छ । विश्वविद्यालय प्रति आकर्षण बढाउन निम्न अनुसारको कार्यहरु गर्नु पर्छ ।


– विद्यार्थीको रोजाई र देश विदेशको श्रम बजारको मागलाइ सम्बोधनहुने रोजगारमुखी कार्यक्रम सञ्चालन गर्ने ।
– पठनपाठनका माध्यम बढी प्रविधि मैत्रीबनाउने ताकि विषम परिस्थितिमा पनि कक्षा सञ्चालन रहोस् ।
– निजी क्षेत्रद्वारा सञ्चालन भए पूर्वाधार, साधन स्रोत र दक्ष जनशक्तिद्वारा सञ्चालित हुने ।
– प्रत्येक विश्वविद्यालयको आफ्नो शैक्षिक तालिका अनिवार्य लागु गर्ने तथा गराउने ।
– आवश्यकता र औचित्यका आधारमा मात्र सम्बन्धन दिने , जथाभावी सम्बन्धन दिने कार्य बन्द गर्नुपर्छ ।
– विश्वविद्यालयलाई उच्च ज्ञानको केन्द्र विन्दुको रुपमा विकास गर्न सकेमा नेपाली विद्यार्थीको आकर्षण पुनः बढ्नेछ ।

आगामी दिनमा पूर्वाञ्चल विश्वविद्यालयको इन्जिनियरिङ शिक्षालाई उत्कृष्ट बनाउन के के योजना बनाउनु भएको छ ?


पूर्वाञ्चल विश्वविद्यालय इन्जिनियरिङ संकायका भावी योजना बुँदागत रुपमा निम्न छन् :

– पूर्वाञ्चल विश्वविद्यालय इन्जिनियरिङ संकाय अन्तर्गतका आंगिक कलेज र डीन कार्यालय विच गत वर्ष गरेका कामको समिक्षा र आगामी योजनाबारे अन्तरकृया कार्यक्रम गर्ने ।


– आंगिक क्याम्पसको ल्याबमा demonstrator/Lab Instructor को व्यवस्था गरी प्रयोगशालालाई स्तरीयता प्रदान गर्ने ।


– इन्जिनियरिङ संकाय अन्तर्गत स्नातकोत्तर तहको नियमित परीक्षा सञ्चालन गर्ने ।


– उपयोगी र देश/विदेशमा माग रहेका थप विषयमा आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा स्नातक/स्नातकोत्तर कार्यक्रम अघि बढाउने ।


– परीक्षालाई थप व्यवस्थित बनाउँदै परीक्षा सकिएको ७५ दिन भित्रमा नतिजा प्रकाशन गर्ने आवश्यक तयारी गर्ने ।


– आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरुमा स्मार्ट क्लास रुमको व्यवस्थापन र सञ्चालन गर्न तयारी गर्ने ।


– विषय सम्बन्धित व्यवस्थित पुस्तकालय तथा क्अष्भलतषष्अ वयगचलबमिा विद्यार्थी शिक्षकको पहँुचलाई सुनश्चित गर्न पहल गर्ने ।


– राम्रो नतिजा ल्याउने स्कुल कलेजलाई पुरस्कारको व्यवस्था गर्ने र परीक्षाफल सुधार्ने कार्यलाई प्राथमिकता दिइने ।


– सम्भव भएसम्म थप एक आंगिक क्याम्पसको स्थापना गर्ने जहाँ रेल–वे इन्जिनियरिङ, टेक्सटाइल इन्जिनियरिङ जस्ता नयाँ तथा स्वदेशमै आवश्यक पर्ने जनशक्तिको उत्पादन गर्न सकियोस् ।


– विभिन्न विश्वविद्यालय, सम्वन्धित कलेज तथा निकायहरुसँग सहकार्य समन्वय र वहस अन्तरकृयालाई निरन्तरता दिइने छ ।