शिक्षकहरूले बुझाए १३ बुँदे माग राख्दै मुख्यमन्त्रीलाई ज्ञापन पत्र

विराटनगर/४ माघ-प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन १ नम्बर प्रदेश समितिले १३ बुँदे माग राख्दै मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । सोमबार संगठनका प्रदेश अध्यक्ष कमलप्रसाद तिम्सिना, केन्द्रीय उपाध्यक्ष तथा प्रदेश इञ्चार्ज हिक्मतबहादुर बस्नेतसहितको टोलीले १३ बुँदे माग राख्दै ज्ञापन पत्र बुझाएको हो ।


ज्ञापन पत्रमा प्रदेश नं. १ को शिक्षा ऐन र नियमावली तुरुन्त जारी गर्नुपर्ने माग गर्दे सङ्घीय शिक्षा ऐन लगायत शिक्षा सम्बन्धी कानून्हरु यथासिघ्र जारी गर्न संघीय सरकारसँग पहल गर्न माग गरिएको छ । कोभिड १९ को सङ्क्रामणको क्रममा ओमिक्रोन भेरियन्टले शैक्षिक क्षेत्रमा गम्भीर प्रभाव पारेकाले सम्पूर्ण शिक्षक र विद्यार्थीलाई खोपको सुनिश्चितता गर्न र स्वास्थ्यको मापदण्ड अपनाइ विद्यालय सञ्चालन गर्ने वातावरण तयार गर्न ज्ञापन पत्रमा माग गरिएको छ ।


प्रदेशमा न्यूनतम बेतनमा कार्यरत बाल विकास शिक्षक, विद्यालय कर्मचारीहरूको समस्या समाधानका लागि विद्यालयमा दरबन्दी कायम गरी स्थायित्वको प्रबन्ध गर्न पनि माग गरिएको छ । राहत शिक्षकको रुपमा काममा खटाइएका शिक्षकहरु उमेरको हद का कारण शिक्षक सेवा आयोगले खोलेको स्थायी शिक्षकको विज्ञापनमा सहभागि हुन बञ्चित भई शिक्षण सेवाबाट नै हातधुनु पर्ने अवस्था आएकाले विज्ञापन सच्याई परीक्षामा सहभागी गराउनुपर्ने पनि माग गरिएको छ ।


ज्ञापन पत्रमा शिक्षा सेवा मर्यादित बनाउन अन्य कर्मचारीको भन्दा शिक्षक सेवासुविधामा कम्तिमा १० प्रतिशत बढी हुनुपर्ने, प्रदेश १ को कुल बजेटको २० प्रतिशत रकम शिक्षा क्षेत्रमा खर्चनुपर्ने माग उल्लेख छ ।


विगतदेखि कक्षा ११ र १२ तथा प्राविधिक धारका अनुदान नियुक्ति गरिएका शिक्षक प्रशिक्षकहरुका समस्याहरुको सुनुवाई हुनुपर्ने, प्रदेश स्तरमा शिक्षकहरुको तहगत रुपमा बढुवाको विशिष्ट श्रेणीको व्यावस्था हनुपर्ने, प्रदेश तथा स्थानीय तहमा समायोजन भएका कर्मचारीहरुलाई दिइएको एक तह बढुवाको प्रबन्धलाई शिक्षकहरुमा पनि लागु हुनुपर्ने र शिक्षकहरुलाई समेत निजामती कर्मचारी सरह पर्यटन काजको प्रबन्ध गर्नुपर्ने लगायतका माग रहेका छन् ।