काठमाडौं विश्वविद्यालयले प्राविधिक तथा व्यावसायिक विषयका शिक्षक उत्पादन गर्ने

काठमाडौं /२५ पुस-काठमाडौं विश्वविद्यालयले प्राविधिक तथा व्यावसायिक विषयका शिक्षक उत्पादन गर्ने भएको छ । स्कुल अफ एजुकेसन संकाय अन्तर्गत प्राविधिक तथा व्यावसायिक विषयको अध्यापन गरी शिक्षक उत्पादन गर्ने भएको हो ।


विश्वविद्यालयले सिभिल इन्जिनियरङ र आइटी विषय पठनपाठन गराउनका लागि तीनओटा शैक्षिक संस्थासँग सम्झौता गरेको छ । बुटवल प्राविधिक प्रतिष्ठान (बीटीआई), जानकी कलेज फर प्रोफेसनल स्टडीज र सिन्धुली सामुदायिक प्राविधिक प्रतिष्ठानसंग सम्झौता गरेको हो ।


बीटीआईले स्नातक तहको जनरल मेकानिकलका कक्षा सञ्चालन गर्नेे, जानकी कलेज फर प्रोफेसनल स्टडिजले सूचना प्रविधि र बीटेक एड आईटीका कक्षा सञ्चालन गर्ने र सिन्धुली सामुदायिक प्राविधिक प्रतिष्ठानले सिभिल इन्जिनियरिङ र बिटेक एड सिभिल इन्जिनियरिङ स्नातक तहको कक्षा सञ्चालन गर्ने गरी सम्झौता गरिएको काठमाडौं विश्वविद्यालयले जनाएको छ ।


सम्झौतामा विश्वविद्यालयको तर्फबाट रजिष्ट्रार प्रा.डा.सुबोध शर्मा र बुटवल प्राविधिक प्रतिष्ठानका तर्फबाट अध्यक्ष शिवराज सुवेदीले हस्ताक्षर गरेका छन् । त्यसैगरी जानकी कलेज फर प्रोफेसनल स्टडीजका अध्यक्ष पंकज जालान र सिन्धुली सामुदायिक प्राविधिक प्रतिष्ठानका तर्फबाट सचिव गोविन्द गजुरेलले हस्ताक्षर गरेका छन् ।


साथै उपकुलपति प्रा.डा. भोला थापा, संस्थापक उपकुलपति प्राडा सुरेशराज शर्मा, रजिष्ट्रार प्राडा शर्मा, स्कुल अफ एजुकेसनका डीन प्रा.डा. बालचन्द्र लुईटेल, स्कुल अफ इन्जिनियरिङका प्रा.डा. मनिष पोखरेलको उपस्थितिमा हस्ताक्षर गरीएको थियो ।