काठमाडौं /२५ पुस-कोभिड १९ संकट व्यवस्थापन समितिको ( सीसीएमसीसी) को बैठकले आगामी माघ १५ गतेसम्म कक्षा १० सम्मको विद्यालय बन्द गर्न सिफारिस गरेको छ । आइतबार बसेको बैठकले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको हो ।
देशभरका सबै आधारभूत तथा माध्यामिक विद्यालयहरुले वार्षिक विदामा मिलान हुने गरी आगामी माघ १५ गते सम्म विदा दिन शिक्षा मन्त्रालय मार्फत जारी गर्न सिफारिश गर्ने निर्णय गरेको छ ।
त्यसैगरी विदाकै अवधिमा १२ वर्षदेखी १८ वर्ष भन्दा माथिका सबै उमेर समुहका पूर्ण खोप लगाउन बाँकी शिक्षक, कर्मचारी तथा अभिभावकलाई खोप उपलब्ध गराउन स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले आपुर्ति गर्नुपर्ने निर्णय गरेको जनाएको छ ।
त्यस्तै विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्व निर्धारीत सेमेष्टर र वार्षिक परीक्षाहरु जनस्वस्थ्य र सूरक्षा मापदण्ड पालना हुनेगरी जेड आकारमा बसाई व्यावस्था गरी सञ्चालन गर्न, परीक्षा केन्द्रमा मास्क र स्यानिटाइजरको प्रयोग अनिवार्य गर्न र भौतिक दुरीको प्रावधान कडाईका साथ परीपालन गर्ने व्यावस्था मिलाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिश गरिएको छ ।
कोरोना संक्रमण पछिल्लो दिनमा बढ्दै गएको निष्कर्षका साथ बैठकले विद्यालय तह बन्द गर्ने निर्णय गरेकोे हो । त्यसैगरी बैठकले गरेको निर्णय कार्यान्वयनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई लेखी पठाउने निर्णय बैठकले गरेको छ ।
विद्यालय बन्द गर्ने सन्दर्भमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज कुनै निर्णय नगरेको र एक दुई दिनमा निर्णय गर्ने जनाएको छ ।



