काठमाडौं /१९ पुस-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक मेलाको नाममा राजस्व छलि गर्ने शैक्षिक परामर्श संस्थालाई कारवाही गर्ने भएको छ । मन्त्रालयले दिएको अनुमति भन्दा विपरीत तरिकाले मेला सञ्चालन गर्ने संस्थलाई कारवाही गर्ने जनाएको हो ।
केही शैक्षिक परामर्श संस्थाहरुले मन्त्रालयसँग एउटा अनुमति लिने र अरु थप शैक्षिक परामर्श संस्थाहरुलाई सहभागि गराएर मेला आयोजना गर्ने तयारी गर्दे विज्ञापन गरेपछि मन्त्रालयले यसको अनुगमन गर्नुका साथै कानून विपरीत सञ्चालन गरेको पाइएमा कारवाही गरिने जनाएको छ ।
मन्त्रालयलाई बुझाइएको मेला अनुमतिको आवेदनमा शैक्षिक परामर्श व्यावसायीहरुलाई सहभागि मात्र गराइने भनिएपनि परामर्श संस्थाहरुलाई सहभागि गराएर मेलामा विद्यार्थीलाई परामर्श दिइने भनेर अनुमति नलिएका कारण यो कार्यविधि विपरीत रहेको मन्त्रालयको भनाई छ ।
एउटा परामर्श संस्थाले अनुमति लिएर शिक्षा मन्त्रालयको आँखा छल्दै धेरै परामर्श संस्थाहरुलाई व्यावसायि प्रायोजनका लागि स्टल बेच्दै रकम असुल्ने, मेलामा प्रायोजन गर्न लगाउने गतिविधि गर्दे राज्यलाई राजस्व छले पछि मन्त्रालयले कडाई गर्न लागेको हो ।
त्यसैगरी मन्त्रालयले तोकेको निर्देशन अनुसार तालिम प्राप्त व्यात्तिले मात्र परामर्श दिनुपर्नेमा विदेशी नागरीक तथा विश्वविद्यालय वा कलेजका प्रतिनिधिले परामर्श दिने गरेकाले यसको पनि मन्त्रालयसँग अनुमति लिनुपर्ने अनिवार्य रहेको जनाएको छ ।
मन्त्रालयका अनुसार कुनै पनि शैक्षिक परामर्श संस्थाहरुले यसरि आफु खुशि मेला सञ्चालन गर्ने अनुमति नरहेको बताएको छ । खबर एजुकेशनसँगको संवादमा मन्त्रालयले यसलाई कानूनि दायरामा ल्याउनका लागि प्रक्रिया अगाडि बढाई सकिएको जानकारी दिएको छ ।
यदि एउटै मेलामा धेरै शैक्षिक परामर्श संस्थाहरुलाई सहभागि गराउने वा हुने हो भने सबै संस्थाहरुले शिक्षा मन्त्रालयसँग वेग्ला वेग्लै अनुमति लिनुपर्ने छ । अन्यथा कानून विपरीत हुने र राजस्व छलि हुने जनाएको छ । त्यसैगरी शिक्षा मन्त्रालयको अनुमति विना अरु संस्था वा व्याक्तिहरुले परामर्श दिएको पाइएमा समेत कारवाही हुने मन्त्रालयको भनाई छ ।
शैक्षिक मेला आयोजना गर्दा नेपाली परामर्श संस्थाहरुले पाँचहजार र विदेशी संस्थाहरुले एक हजार तिर्नुपर्ने प्रावधान रहेको छ । तर एउटा संस्थाले पाँचहजार तिर्ने र मन्त्रालयको अनुमति विना अरु परामर्श संस्थाहरु र विदेशी शैक्षिक संस्थाहरुलाई सहभागि गराई राजस्व छल्दै आएको पाइएको छ ।

त्यसैगरी शिक्षा मन्त्रालयले दिएको अनुमतिमा शैक्षिक मेला सम्पन्न भएको ७ दिन भित्र प्रदर्शनीमा सहभागी संस्थाहरु, सेवा ग्राहीलाई प्रदान गरिएको सेवा, आम्दानी खर्चको विवरण तथा कर कार्यालयको फरफारक सहितको प्रतिवेदन शिक्षा मन्त्रालयमा अनिवार्यरुपमा पेस गर्नुपर्ने भनिए पनि यस भन्दा अगाडि भएका शैक्षिक मेलाको विवरण हेर्ने हो भने केही परामर्श संस्थाहरुले मन्त्रालयमा गलत विवरण पेस गरि राजस्व छलि गर्दे आएको पाइएको छ ।
यस सवालमा मन्त्रालयले पछिल्लो समयमा अनुमति लिएका सबै शैक्षिक मेलाको गोप्यरुपमा अनुगमन गर्ने र अनुमति लिए अनुसार सञ्चालन गरे नगरेको हेरिने जनाएको छ । साथै मन्त्रालयमा बुझाएको विवरण र अनुगमन गर्दा पाइएको रेकर्ड अनुसार फरक पाइएमा कारवही गरिने मन्त्रालय स्रोतको भनाई छ ।
साथै मेलामा उच्च शिक्षा अध्ययन गर्ने, गराउने संस्थाहरुको मात्र सहभागिता हुनेगरी उच्च शिक्षा अध्ययन गर्न जान चाहने विद्यार्थीहरुका लागि मात्र शैक्षिक मेला आयोजना गर्न पाइने गरी अनुमति दिइएको छ । तर विदेशी शैक्षिक संस्थाहरु र व्यात्तिहरुको हकमा मन्त्रालयबाट अनुमति लिनुपर्ने हुन्छ । तर मेला आयोजना गर्ने संस्थाहरुले यसको पालना गरेको पाइदैन ।



