प्राविधिक शिक्षा बालुवामा पानी नबनोस्

नवलपरासी/१९ पुस-सरकारले हरेक स्थानीय तहमा,न्युनतम एक प्राविधिक शिक्षाको सिद्धान्त बमोजिम सामुदायिक विद्यालयमा विभिन्न प्राविधिक धारका विषय अध्ययन गर्न विद्यार्थीहरुका लागि एउटा अवसरको रुपमा अर्बौं लगानी गरेको छ ।


सिभिल इन्जिनियरिङ, इलेक्ट्रीकल इन्जिनियरिङ, कम्प्युर विज्ञान, बाली विज्ञान ,मेकानिकल इन्जिनियरिङ, कृषि, भेटेरिनरी आदि प्राविधिक शिक्षालाई कक्षा ९ देखि नै सञ्चालन गर्ने अनुमती प्रदान गर्दै आएको छ । तर त्यसरी लगानी गर्दा तोकिएको संख्यामा विद्यार्थी पुग्ने सुनिश्चित गरिनु पर्दछ । २०४६ साल पछि आफ्ना कार्यकर्तालाई जागीर खुवाउन प्रत्येक टोलमा स्कुल खोल्ने अनुमती दिएर अहिले विद्यार्थी नपुगेर गाभ्नु परे जस्तै यो प्राविधिक शिक्षा पनि त्यस्तै नहोस् ।


भौतिक पुर्वाधार अर्थात उपयुक्त जग्गा वा फिल्ड, उपयुक्त वातावरण, दक्ष जनशक्ति आदि नभएका स्थानमा जबर्जस्ती प्राविधिक शिक्षाको नाममा राज्यले करोडौं लगानी गर्दा प्रतिफल शुन्य नहोस् । शिक्षा मन्त्रालयले तोकेको न्युनतम विद्यार्थी संख्या (४८) नपुगेमा त्यस्ता विद्यालयको अनुदान र दरबन्दी कट्टा गरि विद्यार्थीको चाप उच्च भएका विद्यालयहरुलाई थप संख्यामा विद्यार्थी अध्यापन गर्ने अनुमती र पुर्वाधार एवं जनशक्ति थप्नु पर्दछ । कमजोर विद्यार्थीहरुलाई जबर्जस्ती प्राविधिक धारमा भर्ना गरेर उनिहरुको भविष्य बिगार्न दिनु हुदैन ।


हाल सञ्चालनमा रहेका प्राविधिक धारको वर्तमान अवस्था के छ ? विद्यार्थी संख्या कस्तो छ ? सबै निरन्तर अनुगमन गरिनु पर्छ । न्युनतम विद्यार्थी संख्या नपुर्याउने विद्यालयको सम्बन्धन खारेज गर्नु पर्छ । कक्षा ९ मा भर्ना भएको विद्यार्थी संख्या कक्षा १२ सम्म पुग्दा टिकाउ दरको अवस्था कस्तो छ, त्यसको मुल्यांकन गरिनु आवश्यक छ । कक्षा ९ मा भर्ना भएका प्राविधिक धारका विद्यार्थीहरु २५ जना मध्ये कक्षा १२ मा पुग्दा ५ जना मात्रै हुनु दुर्भाग्य हो । यस्तो अवस्थामा ती विद्यालयको अनुमती खारेज गर्नु पर्दछ ।


ग्रामिण क्षेत्रमा खोलिएका प्राविधिक धारका विद्यालयमा विद्यार्थीहरुले कक्षा १२ सम्म निःशुल्क अध्ययन गर्न पाउनु पर्दछ । आवश्यक जनशक्ती (कक्षा ९–१० का लागि ५ जना र कक्षा ११/१२ का लागि न्युनतम ३ जना) लाई यदि विद्यार्थी संख्या न्यून भएमा विद्यार्थीको चाप र भौगोलिक अवस्था हेरेर स्थानान्तरण गर्नु पर्दछ । राज्यको अर्बौं सम्पत्ति खेर जान दिनु हुदैन । अन्यथा विद्यालय गाभे जस्तै गाभ्नु गर्नु पर्ने अवस्था आउन सक्छ । प्राविधिक धारका विद्यार्थीहरुले कक्षा ११ मा धार नै परिवर्तन गरेका उदाहरण देख्न पाइन्छ । यसको कारण खोजी गर्न जरुरी छ ।


साथै कक्षा ११/१२ मा विज्ञान अध्यापन अनुमती पाएका सामुदायिक विद्यालयको समेत अनुगमन र लेखाजोखा गर्न जरुरी छ । कम दुरिमा च्याउ झैं प्राविधिक धार तथा विज्ञान सन्चालन गर्ने अनुमति दिइनु हुदैन । न्युनतम संख्यामा विद्यार्थी अपुग भएका विज्ञान धारको अनुमति रद्ध गरि अर्को विद्यालयमा स्थानान्तरण गर्नु पर्दछ । कुनै विद्यालयमा ४८ सिटका लागि योग्य र इच्छुक ४०० विद्यार्थी मध्ये ३५२ जना कोक्षाकै कारण पढ्नबाट वञ्चित हुनु पर्ने र कुनै विद्यालयमा १० जना विद्यार्थीहरु ( त्यस मध्ये आधाले बिचैमा धार परिवर्तन गर्ने )लाई मात्रै पढाउनु पर्ने अवस्थाको अन्त्य गरिनु पर्छ ।


प्राविधिक र विज्ञान शिक्षा कसैलाई जागीर खुवाउन र भवन निर्माण गरिदिनका लागि होइन, दक्ष प्राविधिक उत्पादन गर्न स्थापना गरीयोस् । अनुत्पादक लगानिलाई स्थानान्तरण गरि कमजोर भौतिक अवस्थाका विद्यालयको भौतिक सुधारका लागि लगानी गरियोस् । समयमै सरोकारवाला सबैको ध्यान जावोस् ।
कुसुम न्यौपाने (शिक्षक) जनता मा वि मंगलचौर,अरुणखोला,नवलपरासी (पुर्व)