काठमाडौं /११ पुस-सरकारले लेटर ग्रेडिङ निर्देशिका २०७८ लागु गरेको छ । विद्यालय शिक्षाका लागि राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ को मार्गनिर्देशन बमोजिम शिक्षा नियमावली २०५८ को नियम १८२ को (ङ) अनुसार शिक्षा, विज्ञान तथा प्राविधिक मन्त्रालयले लेटर ग्रेडिङ निर्देशिका २०७८ लागु गरेको हो ।
निर्देशिका अनुसार विद्यालय तह कक्षा १ देखि १२ सम्म एउटै विधिका आधारमा विद्यार्थीको मूल्याङ्कन गरिनेछ । नयाँ निर्देशिकाअनुसार कक्षा उक्लिन अब न्यूनतम ३५ प्रतिशत अर्थात् जीपीए १.६ वा विषयगतमा डी ग्रेड हासिल भएको हुनुपर्नेछ । ३५ प्रतिशतभन्दा कम प्राप्ताङ्कलाई अवर्गीकृत अर्थात एनजी उल्लेख गर्नुपर्ने हुन्छ । प्रमाणपत्रमा अनुत्तीर्ण नलेखिए पनि एनजी उल्लेख भएमा विद्यार्थी अनुत्तीर्ण रहेको स्वतः जनाउने बताइएको छ ।
विद्यार्थीको सिकाई उपलब्धिको मापनबाट प्राप्त अङ्कगत स्तरलाई आठ ओटा अक्षरगत स्तरमा सूचित गरिएको छ । जस्मा सर्वाेत्तम (ए प्लस), अत्युत्तम (ए), उत्कृष्ट (बी प्लस), उत्तम (बी), सन्तोषजनक (सी प्लस), ग्राह्य (सी), आधारभूत (डी) र अवर्गीकृत (एनजी) उल्लेख हुनेछ ।
लिखित र प्रयोगात्मक परीक्षामा छुट्टाछुट्टै न्यूनमत अङ्क प्राप्त गरेको हुनुपर्छ । विषयगत रुपमा सैद्धान्तिकतर्फ कम्तीमा ३५ प्रतिशत अर्थात डी ग्रेड र प्रयोगात्मकतर्फ कम्तीमा सी ग्रेड प्राप्त गरेकै हुनुपर्छ । प्रयोगात्मकलाई आन्तरिक भनी नामकरण गरिएको छ ।
त्यसैगरी विद्यालय तहमा पठनपाठन सञ्चालनका लागि ६० मिनेटको एक घण्टी बनाएको छ । तर विद्यालयले वार्षिक कार्य घण्टा नघट्ने गरी समय व्यावस्थापन गर्न सक्ने छन् । पठनपाठन सञ्चालनका लागि खर्च भएको ३२ घण्टाको समयावधिलाई एक पाठ्यघण्टा मानिनेछ भने मौजुदा पाठ्यक्रमले व्यवस्था गरेको पठनपाठनको समयावधिलाई पाठ्यघण्टामा रुपान्तरण गरी प्रमाणीकरण गरिने छ ।










