काठमाडौं /२५ मंसिर-बिहिबार आएको कोरोनाविरुद्धको मोडर्ना खोप दिनका लागि विद्यालयमा केन्द्र कायम गरिने भएको छ ।
कोरोनाविरुद्धको अमेरिकी खोप मोडर्ना १४ लाख ९८ हजार मात्रा आएको थियो । राष्ट्रिय खोप सल्लाहकार समितिको बैठकले मोडर्ना खोप १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई दिने निर्णय गरीसकेको छ । मोडर्ना खोप बालबालिकालाई दिने निर्णय भएकोले खोप केन्द्र पनि विद्यालयमै तोकिएको छ भन्दै खोप केन्द्र शाखाका प्रमुख सागर दाहालले भन्नुभयो, “विद्यालयमै खोप केन्द्र तोकिँदा विद्यार्थीलाई सहज हुनेछ ।”
सरकारले आगामी पुस ४ देखि १४ गतेसम्म विद्यालयमै विद्यार्थीलाई कोरोनाविरुद्धको खोप दिने निर्णय गरेको छ । उहाँले यसअघि फाइजर खोप दिएका २४ अस्पतालमा पनि मोडर्ना खोप दिइने बताउनुभयो । बिहिबार कोभ्याक्स सुविधाअन्तर्गत नेपालमा १४ लाख ९८ हजार ६ सय मात्रा र गत शुक्रबार एक लाख ८८ हजार मात्रा मोडर्ना खोप नेपाल आएको थियो ।
हालसम्म आएको खोपसहित आइतबारसम्ममा ३७ लाख मात्रा मोडर्ना खोप आउने निश्चित भइसकेको छ । मोडर्ना खोप एक महिनासम्म सहजै भण्डारण गर्न मिल्ने भएकाले ग्रामीण भेगका विद्यालयलाई प्राथमिकता दिई खोप दिने निर्णय भएको हो ।
बालबालिकालाई मोडर्ना खोप दिन लागिएको जिल्लामा सर्लाही, रामेछाप, दोलखा, बारा, रौतहट, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपालाञ्ञ्चोक, मकवानपुर, गोर्खा, लमजुङ, स्याङजा, तनहुँ, मनाङ, कपिलवस्तु, नवलपरासी, अर्घाखाँची, गुल्मी, पाल्पा, म्याग्दी, पर्वत, मुस्ताङ, प्युठान, रोल्पा, रुकुम, सल्यान, बर्दिया, दैलेख, जाजरकोट, डोल्पा, हुम्ला, जुम्ला, कालिकोट, मुगु, अछाम, डोटी, बझाङ, बाजुरा, कञ्चनपुर, बैतडी, दार्चुला, इलाम, पाँचथर, ताप्लेजुङ, भोजपुर, धनकुटा, तेह्रथुम, सङखुवासभा, सिराहा, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु र महोत्तरी रहेका छन् । गोरखापत्रमा समाचार छ ।



