समाजवादको आधार तयार गर्न विद्यालयलाई उद्यमस्थल बनाउनुपर्छ :अर्थमन्त्री

काठमाडौँ /८ मङ्सिर-अर्थमन्त्री जनार्दन शर्माले विद्यालयलाई उद्यम बनाउनुपर्ने बताएका छन् । बुधबार एकीकृत अखिल नेपाल शिक्षक संगठनको राष्ट्रिय परिषद्लाई सम्बोधन गर्दे समाजवादको आधार तयार गर्न विद्यालयलाई उद्यमस्थल बनाउनुपर्ने बताएका हुन् ।


अब कृषि फर्म, गाई फर्म, कुखुरा फर्मलगायत बगैँचासहितको विद्यालयम हुनुपर्ने भन्दै समाजवादतिर जान हरेक विद्यालयले एउटा उद्यम गर्नैपर्ने बताए ।


उनले भने विद्यालय उद्योग हुनुपर्यो , ‘एकातिर पढ्ने जनशक्ति निर्माण गर्ने, अर्कोतिर उनीहरूको श्रम प्रयोग गरेर उत्पादन गर्ने हुनुपर्यो ।’ त्यसका लागि शिक्षक र शिक्षक संगठनले नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा जोड दिए ।


विद्यालयलाई उद्यम केन्द्रित बनाउँदा सामुदायिक पुँजी निर्माण हुने उनको भनाइ छ । मन्त्री शर्माले त्यो नै समाजवादको आधार बन्ने बताए । यसले उत्पादनका स्रोत र साधनमा सामुदायिक स्वामित्व रहने उनले बताए । सामुदायिक स्वामित्वबाटै समाजवादको आधार तय हुने छ । ‘विद्यालयको पुँजी भनेको सामुदायिक हुन्छ’, उनले भने, ‘त्यस्तै किसिमको अरू सामुदायिक पुँजी निर्माण गर्ने समूहरसमुदाय बनाउनुपर्छ ।’ त्यसमा व्यक्तिगत सम्पत्ति आर्जन गर्न रोक नहुनेसमेत स्पष्ट पारे ।


मन्त्री शर्माले पछिल्लो समय विद्यालय नयाँ खोल्नुभन्दा मेगा विद्यालय बनाउनुपर्ने बताएका छन् । ‘अब मेगा विद्यालय बनाउनुपर्छ, शैक्षिक प्रविधिलाई केन्द्रित गर्नुपर्छ’, उनले भने, ‘त्यसो गर्दा शिक्षा क्षेत्रमा गुणात्मक असर पार्छ ।’ शिक्षकहरूको विभिन्न मागका सम्बन्धमा शिक्षा मन्त्रालयबाट पूरा हुने र कतिपय माग आगामी बजेटमा सम्बोधन गरिने आश्वासन दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *