उप-प्रध्यापक र कर्मचारीसँग त्रिवि द्धारा स्पष्टीकरण माग

काठमाडौं /२७ भदौ-त्रिभुवन विश्वविद्यलाय रजिष्ट्रार कार्यलय, कर्मचारी प्रशासन महाशाखाले विदा स्वीकृत नगराई विना सूचना अनुपस्थित भएका शिक्षक कर्मचारीलाई स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । विश्वविद्यलायको विभिन्न निकायमा कार्यरत शिक्षक कर्मचारी विना सूचना ९० दिन भन्दा बढी अनुपस्थित भएको भन्दै स्पष्टीकरण पेश गर्न भनिएको हो ।


विश्वविद्यलाय कार्यकारी परिषद्को साउन २१ को निर्णय नं. ९६५ र भदौ १७ को निर्णय नं. १०२४ भएकोले १५ दिन भित्र आ आफ्नो स्पष्टीकरण पेश गर्न सूचित गरिएको छ ।


साथै त्रिभुवन विश्वविद्यलाय शिक्षक कर्मचारी सेवा सम्बन्धी २०५० को दफा ८४ (१) छ को सोहि नियमको दफा ८२ (ख) १ बमोजिम सजाए गरिने जनाइएको छ ।


स्पष्टीकरण सोधिनेमा रत्न राज्यलक्ष्मी क्याम्पसका उप-प्रध्यापक चिरंजीवी काफ्ले, रत्न राज्यलक्ष्मी क्याम्पसका लेखा सहायक सावित्रा गौतम, चि.शा.अ.सं.,डीनको कार्यलयका मुख्य प्राविधिक सहायक सुजन गुरुङ्ग र सामान्य प्रशासन महाशाखाकी कार्यलय सहयोगी शर्मीला डंगोल रहेका छन् ।


उप-प्रध्यापक चिरंजीवी काफ्लेले २०७४ जेठ २ देखि २०७५ जेठ १ सम्मको अध्ययन विदा लिएकोमा हाल सम्म सम्पर्कमा नरहेको जनाइएको छ । त्यस्तै लेखा सहायक सावित्रा गौतमको बेतलबी विदा माग भएकोमा अस्वीकृत भएको र त्यसपछि सम्पर्कमा नरहेको र मुख्य प्राविधिक सहायक सुजन गुरुङ्ग अध्यन विदाको निवेदन दिएको कागजात नपुग भई स्वीकृत नभएको तर सम्पर्कमा नरहेको कर्मचारी प्रशासन महाशाखाले जनाएको छ ।