आवेदन आह्वान नगरी सिएसआईटी कार्यक्रमको कोटा थपमा त्रिविको चलखेल

काठमाडौँ /२७ भदौ- त्रिभुवन विश्वविद्यालयको विएस्सी सिएसआईटी कार्यक्रमका लागि सूचना जारी नगरी सात वटा कलेजलाई मात्रै कोटा थप गर्न लागेकोे छ ।


विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फको बिएस्सी सिएसआइटी विषयमा विश्वविद्यालयका पदाधिकारीहरूको मिलेमतोमा विएस्सी सिएसआईटी विषय अध्ययन अध्यापनका लागि उक्त कार्यक्रमको सम्बन्धन प्राप्त बिभिन्न कलेज मध्ये सात वटा कलेजलाइ मात्र आवेदन आह्वान नगरी कोटा थप गर्न लागेको हो ।


विश्वविद्यालयले २०७६ असोज २७ मा बिएस्सी सिएसआइटी कार्यक्रममा २४ बिद्यार्थी संख्या रहेका कलेजका लागि मात्र एक सेक्सनको न्युनतम विद्यार्थी कोटा निर्धारणका लागि आवेदन पेश गर्न आग्रह गर्दै कलेजहरूका लागि सूचना जारी गरेको थियो ।


उक्त जारी गरिएको सूचनामा भनिएको छ “एक सेक्सनमा ३६ जना सम्म विद्यार्थी रहने व्यवस्था भए अनुसार यस अध्ययन संस्थान अन्र्तगत बिएस्सी सिएसआइटी कार्यक्रम सञ्चालन गरिरहेका सम्बन्धनप्राप्त क्याम्पसहरूमा एक सेक्सनमा ३६ जना भन्दा कम विद्यार्थी कोटा निर्धारण भएका क्याम्पसहरूबाट एक सेक्सनका लागि आवश्यक पूर्वाधारहरू तयारी अवस्थामा रहेको भए सोको विवरण सहित २०७६ आश्विन मसान्तभित्रमा कोटा थपका लागि यस कार्यालयमा आवेदन पेश गर्न सूचित गरिन्छ ।” साथै सोका लागि निरिक्षण शुल्क रु ७५ हजार कार्यालयको बैंक खातामा जम्मा गर्न आग्रह गरिएको सूचनामा उल्लेख छ ।


तर स्रोतका अनुसार उक्त सूचना अनुसार त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानले २०७६ असोज २७ मा बिएस्सी सिएसआइटी कार्यक्रम सञ्चालन गरिरहेका सम्बन्धनप्राप्त क्याम्पसहरूमा एक सेक्सनमा ३६ जना भन्दा कम विद्यार्थी कोटा निर्धारण भएका क्याम्पसहरूबाट एक सेक्सनका लागि आवश्यक पूर्वाधारहरू तयारी अवस्थामा रहेको भए सोको विवरण सहित २०७६ आश्विन मसान्तभित्रमा कोटा थपका लागि कार्यालयमा आवेदन पेश गर्न सूचित गरिएको जनाएको छ ।


उत्त सूचना अनुसार कोटा निर्धारण कार्यकम २०७६ माघ मसान्त भित्रमा सम्भाव्यता अध्ययन गरेर प्रतिवेदन अनुसार सिमित कलेज जसको बिद्यार्थी संख्या २४ कोटा को थियो सो कलेजहरुलाई थप १२ कोटा सहित ३६ कोटाको सेक्शन वितरण गरी फाईल बन्द भईसकेको विश्वविद्यालय स्रोतले बताएको छ ।


विश्वविद्यालयको सूचना अनुसार तत्कालिन समयमा २४ कोटा भएका कलेजलाई एक सेक्सनमा ३६ जनाभन्दा कम विद्यार्थीकोटा निर्धारण भएका कारण ३६ बनाउनका लागि क्याम्पसहरूबाट आवेदन माग गरिएको भएपनि सो समयमा ४८ विद्यार्थी कोटा रहेका सात वटा कलेजहरूले सोहि समयमा राजनैतिक पहुचको भरमा अवैधानिक तरिकाले गोप्य ढंगले आवेदन बुझाएका थिए ।


तर ४८ विद्यार्थी कोटा रहेका बाँकी अरु सम्बन्धन प्राप्त कलेजले ३६+३६ गरी ७२ कोटा निर्धारणका लागि आवेदन दिदा विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालयले उक्त सूचना ३६ जना भन्दा कम विद्यार्थी कोटा निर्धारण भएका कलेजहरूका लागि मात्र भएको जानकारी गराउदै आवेदन दर्ता नगरी फिर्ता गरेको स्रोतको भनाई छ । सात वटा कलेज मध्ये लुम्बिनी आईसीटि कलेज चितवनले २०७८ असार मसान्तमा आवेदन तथा निरीक्षण शुल्क डीन कार्यालय लाई बुझाइ प्रक्रिया अगाडि बढाएको स्रोतको दाबी छ ।


उक्त सूचनाको समयसिमा २०७६ माघ मसान्तमा समाप्त भएको तर विश्वविद्यालयले ४८ कोटा सञ्चालन रहेका कलेजहरूका लागि ४८ बाट थप गरेर दुई सेक्सन पुरा हुनेगरी ३६+३६ गरी जम्मा ७२ कोटा निर्धारणका लागि सूचना जारी गर्नुपर्नेमा त्यसो नगरी पुरानो फाइल बन्द रहेको अवस्थामा नयाँ डीन प्रा. डा. बिनिल आर्याल आउना साथ कोटा थप गरी ७२ बनाउन प्रक्रिया अगाडि बढाईएको छ ।


त्यसैगरी २०७८ साल भाद्र ४ गतेको विज्ञान तथा प्रबिधि अध्ययन संस्थान को फ्याकल्टी बोर्डको आधिकारीक बैठकले ४८ कोटालाई ७२ बनाउन नमिल्ने निर्णय गरेर योजना माहाशाखामा पठाएको भए पनि उक्त निर्णयको वेवास्ता गर्दै डिन कार्यलयले भदौ ११ गते पुनः योजना महाशाखामा ४८ कोटालाई ७२ बनाउन प्रक्रिया अगाडि बढाउन पत्रचार गरेको स्रोतले जनाएको छ ।


यता ४८ कोटा रहेकोमा थप गरी ७२ कोटा बनाउन लागेको भन्दै केही कलेज सञ्चालकहरुले यसको विरोध गरेका छन् । उनीहरूको भनाई अनुसार ४८ कोटा सञ्चालन रहेको कलेजहरूमा ३६ + १२ को सेक्सन विभाजनमा समस्य भएकोले दुई सेक्सन पुरा हुनेगरी ३६+३६ गरी जम्मा ७२ कोटा निर्धारण गर्नु न्यायोचित भएपनि विश्वविद्यालयले सो प्रक्रियाका लागि सूचना प्रकाशित गरी सबैलाई अवसर प्रदान गर्नुपर्नेमा प्रक्रिया विना नै विश्वविद्यालयका निर्णायक भूमिकामा रहेका पदाधिकारीहरू राजनैतिक तथा आर्थिक प्रलोभनमा परी ७ ओटा कलेजलाई मात्र ७२ कोटा निर्धारणको लागि कार्यकारी परिषदबाट निर्णय गराइएको भन्दै विरोध गरेका छन् ।


उनीहरूले ३६+३६ गरी ७२ कोटा निर्धारण गर्न आवेदन दिदा विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालयले उक्त सूचना ३६ जना भन्दा कम विद्यार्थी कोटा निर्धारण भएका कलेजहरूका लागि मात्र भएको जानकारी गराउदै आवेदन दर्ता नगरेको बताए ।


तर बदनियत पूर्वक सिमित कलेजहरूको लागि मात्र सम्भाव्यता अध्ययन समेत नगरी मिलेमतोमा आर्थिक लाभ लिएर आवेदन तथा निरिक्षण शुल्क लिई प्रक्रिया अगाडि बढाएको उनीहरूको आरोप छ ।


विज्ञान तथा प्रविधि अध्ययन संस्थानका डीन प्रा.डा.विनिल अर्यालले सूचना जारी नगरी कोटा थपको लागि कसैकोपनि दर्ता नहुने र दर्ता गर्न नमिल्ने बताए । तर २०७६ यताका सबै पुराना फाइल हेरेको र कसैको पनि दर्ता नभएको उनले बताए । तर दर्ता नभए पनि कोटा थपको लागि कलेजले पैसा तिरेको उनि बताउछन् । अर्यालका अनुसार कलेजको कुनै अन्य कुरा छ काम छ र कलेजमा समस्या छ भने दर्ता गरीने तर कोटा थपको लागि आवेदन आह्वान नगरी दर्ता गर्न नमिल्ने जनाए । विएस्सी सिएसआईटी विश्वविद्यालयको राम्रो कार्यक्रम भएको बताउदै केहिहप्ता अघि देखि कोटा थपको लागि फोन, इमेल मार्फत दबाब आएको बताए ।


योजना निर्देशनालयका डाइरेक्टर ध्रुब गौतमले यसबारे धेरै थाहा नभएको तर सात वटा कलेजको कोटा थपको आवेदन दर्ता भएको स्वीकार गरे । साथै सातवटा कलेज हामिकहा दर्ता भएको हो भनेर डीन कार्यलयमा पठाएको उनि बताउछन् । सात वटा कलेज मध्ये लुम्बिनी कलेजले पहुँचको भरमा सूचनाको म्याद समाप्त भएपश्चात पनि २०७८ असार मसान्तमा आवेदन किन दर्ता गरीयो भन्ने प्रश्नमा त्यो सम्भव नभएको र त्यसो नगरीएको उनको भनाई छ । योजना आयोगमा यसबारे कुनै पनि काम नहुने र प्रकिया पुरा गरेर आएको खण्डमा पत्र मात्र लेख्ने भएकोले बाँकी सम्बन्धित ठाउँमा नै सोध्नुपर्ने बताउदै उनी तर्किए ।


कार्यकारी परिषदका एकजना व्यक्तिले यस विषयमा योजना आयोगमा पत्र पठाई सकिएको बताए । सर्वे गरेर प्रक्रिया अगाडि बढाउने भनी निर्णय गरेर पठाईएको र बाँकी योजना निर्देशनालयमा बुझ्नु पर्ने बताए ।


सम्बन्धित त्रिविका अधिकारी भने यस विषयमा खुल्न चाहदैनन् । सबैले एक अर्कालाई देखाउदै यस विषयमा तर्कदै सबै अनविज्ञ रहेको बताउदै आएका छन् । तर बाँकी कलेजलाई छिट्टै कोटा थपका लागि आवेदन आह्वान गरिने विश्वविद्यालयका पदाधिकारीले कलेजलाई आस्वासन दिदै आएका छन भने पदाधिकारी अनुसार यस बारे फरक फरक जानकारी दिएका छन् ।


कोटा वृद्धिका लागि काठमाडौँ स्थित अर्किड इन्टरनेसनल कलेज, टेक्सास कलेज, एनसिसिएस कलेज, बर्नहार्ट कलेज, सगरमाथा कलेज, हिमालयन इन्जिनियरिङ कलेज र चितवन को लुम्बिनी आईसीटि कलेजको आवेदन दर्ता भएको छ ।

अचम्मको कुरा के देखिन्छ भने डीन कार्यालय ले २०७२ सालमा नयाँ कलेजहरुलाई बिएस्सी सिएसआइटी कार्यक्रम सम्बन्धन दिन भक्तपुर लगायत देशका बिभिन्न ठाउँमा कलेजहरुबाट आवेदन मागी ३ पटक सम्म अनुगमन गरेको थियो । स्रोतका अनुसार सो अनुगमन पश्चात डीन कार्यालयका पदाधिकारीहरुको आर्थिक मिलोमतो नमिले पछि उक्त नयाँ कलेजहरुलाई तिन तिन पटक अनुगमन गरि प्राबिधिक रिपोर्ट तयार हँुदा सम्म पनि कार्यकारी परिषदमा नपठाई थन्क्यइएको छ्र । यसरी प्रकृया पुगेका कलेजको सम्बन्धन रोकी प्रकृया नै नपुगी सिमित कलेज लाई मात्र पोस्ने नीति लिएको त्रि. वि. का पदाधिकारी हरुको नियत नै बदनियत रहेको देखिन्छ ।