अनुमति पाएलगत्तै कक्षा १२ को स्थगित परीक्षा सञ्चालन गरिने


काठमाडौं /१५ भदौ-परीक्षा सञ्चालनको लागि सरकारले अनुमति दिए कक्षा १२ को स्थगित परीक्षा सञ्चालन गर्न तयार भएको राष्ट्रिय परीक्षा बोर्डका अधिकारीहरुले जानकारी दिएका छन् ।


कोरोना भाइरस संक्रमणकै बीचमा त्रिभुवन विश्वविद्यालयका परक्षिाहरु नियमित रुपमा सञ्चालन भए पनि कक्षा १२ को स्थगित परीक्षाको अन्योल अझै हट्न नसकेको बेला यस्तो धारणा आएको हो । बोर्डको कक्षा ११ र १२ हेर्ने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले कोभिड १९ संक्रमण व्यावस्थापन केन्द्र( सीसीएमसी) र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अनुमति पाएलगत्तै परीक्षा लिन तयारी अवस्थामा रहेको जानकारी दिनु भयो ।


कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुले पूर्ण रुपमा खोप लगाउन पाएको अवस्थामा परीक्षा निर्वाध रुपमा सञ्चालन हन सक्ने विश्वास आफुहरुमा रहेको उहाँको भनाई छ । परीक्षाको अनुमति पाएपछि १५ दिनको सूचना दिएर परीक्षाको कार्यतालिका निकाल्ने योजना बोर्डले बनाएको छ ।


संसदको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा भौतिक रुपमै सञ्चालन गर्न शिक्षा , विज्ञान तथ प्रविधि मन्त्रालयलाई निर्देशन समेत दिइसकेको अवस्थामा आफुहरु भौतिक रुपमै परीक्षा लिने योजनामा रहेको उहँले जानकारी दिनुु भयो । कक्षा १२ पछि उच्च शिक्षा अध्ययनका लागि विद्यार्थी विदेशी विश्वविद्यालयमा समेत पुग्ने भएकाले भौतिक रुपमै परीक्षा लिनुपर्छ भन्ने बोर्डको निति रहेको परीक्षा नियन्त्रक शर्माले बताउनु भयो ।


यस वर्ष कक्षा १२ को परीक्षा दुई पटक स्थगित भइसकेको छ । साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने भनिएपनि अन्तिम समयमा आएर रोकिएको थियो । यस अघि बैशाख २६ गतेबाट सञ्चालन गर्र्नेगरी प्रकाशित गरिएको परीक्षाको कार्यतालिका पनि रोकिएको थियो । गोरखापत्रबाट