तनहुँ/१५ भदौ-आदरणीय शिक्षक साथिहरु सबैमा नमस्कार, म नेपाल शिक्षक सङ्घमा आवद्ध भएर जनस्तरमा सक्रिय भई काम गरेको २६ बर्ष भयो । जब नेपाल शिक्षक सङ्घको सदस्यता नवीकरण को समय आउँछ तब म जस्तै जनस्तरमा काम गर्ने शिक्षक लाई बिल प्याड हातमा थमाईन्छ । २६ बर्ष को अवधिमा नवीकरणको दस्तुर लिएर जिल्लामा धेरै पटक बुझाइयो ।
यतिमात्रै होईन माओवादी द्वन्द्व कालमा पनि जोखिम मोलेर नवीकरण गराइयो । न पद कहिल्यै खोजियो न पदमा भएकालाई व्याक्तिगत स्वार्थमा प्रयोग गरियो ।
२०५४ साल देखि नेपाल शिक्षक सङ्घमा आवद्ध भईरहदा धेरै अनुभव बटुल्न पाए र धेरैलाई बुझ्ने अवसर मिल्यो । हिजोको समयलाई हेर्ने हो भने संस्थाको नेतृत्व गर्ने व्याक्ति कुनै पनि राजनीति दल कांग्रेस,एमाले वा कुनै पार्टीका उच्च नेताका सल्लाहकार अथवा उच्च नेता शिक्षकको अनुभव भएका र व्यावहारीक हिसावले खारिएका व्याक्ति हुने थिए ।
तर अहिले हेर्ने हो भने ठेकेदार ,व्यापारी ,ठुला व्यावसायी शिक्षक संगठनको नेतृत्वमा आएको देखिन्छ , जुन बिडम्बना हो । जसले गर्दा उनिहरुले शिक्षकका माग सुन्न चाहादैनन् । शिक्षकका माग उठाउने भन्दा पनि आफ्नो व्याक्तिगत प्रोफाईल कसरी बनाउने, पार्टीमा आफनो स्थान बनाउन सकिन्छ की भन्ने सोच राख्ने र व्याक्तिगत लाभ लिने लालच बोकेको देखिन्छ ।
एका तिर नेतृत्वको कमप्रति शिक्षकहरु असन्तुष्ट छन् भने अर्को तर्फ राजनितीक दलहरूको अकर्मण्यताका कारण नया युवा पुस्ता पुरै राजनीति प्रति घृणा गर्छन । त्यसकारणले पनि नयाँ पुस्ता शिक्षक संघ संगठनहरुको सदस्य हुनै चाहँदैनन् ।
वाड स्तरमा काम गरि सदस्यहरुले हरेक बर्ष संघसंगठनको नबिकण दस्तुर बुझाउछन तर कुनै काम पर्यो वा सरुवा हुनु पर्दा त्यही शिक्षकले घुमाउरो बाटो बाट दलाली दस्तुर बुझाउनु पर्छ ।
वाड एकाइको काम भनेको सदस्य नविकरण गराइ दस्तुर बुझाउने मात्र हो ? न कुनै सल्लाह दिन पाउँछन् न त कोहि साथी सरुवा हुदा जानिकारी पाउँछन । तर यसमा पनि चलखेल फेरि तिनै संघ संगठनका शिक्षकका नेताहरुको हुने गरेको छ ।
उनीहरु संघ संगठनमा शिक्षक नेता हुने भनेको विकास बजेट र शिक्षक सरुवामा कमिसन खान जाने रहेछन । उनिहरुले कर्मचारी लगाएर होस वा आफै लागेर होस कुनै न कुनै माध्यमबाट कमिस खाएकै हुन्छन् ।
पछिल्लो घटनाक्रमलाई हेर्ने हो भने शिक्षकका लागि राम्रा माग लिएर कसैले पनि विशेष काम गर्न खोज्यो भने उल्टै विरोध गर्ने, हतोत्साहित वनाउन खोज्ने र चारै तिरबाट घेरेर कामै गर्न नसक्ने वातावरण सिर्जना गर्ने सम्मका काम गर्न पछि पर्देनन् ।
यतिमात्रै होइन आफुले शिक्षकका लागि काम नगर्ने , भाषण मिठो गर्ने र अरुले गरेको कामको जस आफुले लिन खोज्नुका साथै नेतृत्वमा सकेसम्म आफै बस्न खोज्ने नभए आफु निकटको व्याक्ति ल्याउने सम्मका हर्कत गर्न पछि पर्देनन् ।
(कृष्ण बिलास पौडेल सरस्वती आधारभुत विद्यालय भानु नगरपालिका १० दुधेकुन तनहुँका शिक्षक हुन ।)



