होस्टलमा बसेकी छात्राको निधनपश्चात् नगरपालिकाका सबै शैक्षिक संस्था अनिश्चित कालका लागि बन्द

रूपन्देही/१२ वैशाख– तिलोत्तमा नगरपालिकाअन्तर्गतकाे नगर कार्यपालिकाले नगरभित्रका सम्पूर्ण शैक्षिक संस्थाहरु अनिश्चित कालका लागि बन्द गरेको छ ।


नगरपालिकाको आज बसेको बैठकले सबै प्रकारका परीक्षालगायत विद्यालय, कलेज, होस्टल, ट्युशन तथा तालिम सेन्टर अर्को निर्णय नहुँदासम्मका लागि पूर्ण रुपमा बन्द गरेको हो ।


तिलोत्तमा १, नमामिल स्थित प्यारामाउन्ट बोर्डिङ स्कुलमा अध्ययनरत होस्टलकी छात्रा प्रतिमा सापकोटाको निधन भएपछि नगरपालिकाले यस्तो निर्णय गरेको जनाएको छ ।


सो घटनाको विषयमा तीन दिनभित्र प्रतिवेदन पेश गर्नेगरी छानबिन समिति गठन समेत गरेको छ । नगरपालिकाले नगर शिक्षा शाखा प्रमुख उपसचिव गंगाराम आचार्यको संयोजकत्वमा नगरपालिका शिक्षा समिति सदस्य टंकप्रसाद पौडेल, प्याब्सन तिलोत्तमा अध्यक्ष डिबी यापा, अभिभावक संघ तिलोत्तमाका अध्यक्ष नारायण जवाली र नगरपालिका कोरोना फोकल पर्सन केशव भट्टराई सदस्य रहेको छानविन समिति गठन गरेको छ ।


तिलोत्तमा केही दिनयता कोभिड–१९ को संक्रमण बढ्दो अवस्थामा रहेको र संक्रमणले थप जटिलता ल्याउन सक्ने भएकोले नगरपालिका स्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठकले यस्तो निर्णय गरेको नगरप्रमुख वासुदेव घिमिरेले जानकारी दिए ।