कक्षा आठको परीक्षा पूर्व निर्धारित समयमा नै हुने, तालिका सहित

काठमाण्डौं/९ वैशाख– गोकर्णेश्वर नगरपालिकाले विद्यालयको परीक्षा पूर्व निर्धारित समयमा नै हुने भन्दै कक्षा आठको परीक्षा तालिका समेत निकालेको छ ।
नगर शिक्षा समितिको बुधबार बसेको बैठकले स्वास्थ्यसम्बन्धी आवश्यक सुरक्षा र मापदण्ड अपनाएर उपयुक्त व्यवस्था मिलाई परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।
नगरपालिकाले परीक्षा सञ्चालन सम्बन्धमा आम सरोकारवालाहरू, शिक्षाका पेशागत संघसंस्थाका पदाधिकारीहरूसँगको छलफल एवं प्राप्त राय र सुझावका आधारमा परीक्षा पूर्ववत् मितिमा नै सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ ।
नगरपालिकाले आगामी १६ गतेदेखि विद्यालय तहका कक्षा १ देखी ९ लगायत कक्षा ८ को परीक्षा कार्यक्रम जनस्वास्थ्यको मापदण्ड पालना गरी सञ्चालन गर्न गराउन आफ्नो मातहतका विद्यालयलाई निर्देशन समेत दिएको छ ।
विद्यालयको अन्य पढाई भने संघीय मन्त्रिपरिषद्ले सोमबार गरेको निर्णयानुसार नै विद्यालयमा पठनपाठन बन्द गरिसकेको नगरपालिकाले जनाएको छ ।