केन्द्रको निर्णयविपरीत झापामा विद्यालय सञ्चालन, विद्यालय नखोल्न स्थानीय सरकारको निर्देशन

झापा/८ वैशाख– केन्द्रको निर्णयविपरीत मंगलबार झापाका तीन स्थानीय तहमा विद्यालय खुलेपछि स्थानीय सरकारले वैशाखसम्म विद्यालय नखोल्न निर्देशन दिएको छ ।


संघीय मन्त्रिपरिषद्को निर्णयपछि बिर्तामोड, मेचीनगर र दमक नगरपालिकाका सबै विद्यालय बन्द गर्ने स्थानीय सरकारले निर्णय गरेको हो ।


केन्द्रको निर्णयविपरीत मंगलबार बिर्तामोडका सामुदायिक तथा संस्थागत विद्यालय खुलेपछि वैशाख १९ सम्मका लागि बन्द गर्न स्थानीय सरकारले निर्देशन दिएको छ भने मेचीनगर नगरपालिकामा पनि वैशाखभर भौतिक रुपमा पठनपाठन स्थगित गर्न निर्देशन दिइएको छ ।

मंगलबार नगरपालिकामा बसेको संस्थागत तथा सामुदायिक विद्यालयका प्रतिनिधिको छलफलले वैशाख मसान्तसम्म प्रत्यक्ष सिकाइ स्थगित गर्ने निर्णय गरेको हो ।


त्यस्तै, दमकका विद्यालयलाई पनि स्थानीय सरकारले १४ वैशाखसम्म विद्यालय नखोल्न भनेको छ । नगरपालिका शिक्षा शाखा प्रमुख दिनेश न्यौपानेले केन्द्रको निर्णय उल्लङ्घन नगर्न र स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ ।


साथै, वैशाख ७ देखि १४ गतेसम्म विद्यार्थीलाई परीक्षा पूर्वतयारीका लागि बिदा दिन र स्वास्थ्य मापदण्ड पालना गर्दै सामाजिक दूरी पालना गरेर मात्र १५ वैशाखबाट एउटा कक्षामा २५ जना मात्र विद्यार्थी राखेर आ–आफ्ना विद्यालयमा कक्षा ८ र १० बाहेकका वार्षिक परीक्षा सञ्चालन गर्न निर्देशन दिइएको छ ।