संस्थागत विद्यालयद्वारा कक्षा दशको प्रि–बोर्ड परीक्षा सञ्चालन

काठमाण्डौं/८ वैशाख– निजी तथा संस्थागत विद्यालयले कक्षा १० को प्रि–बोर्ड परीक्षा सञ्चालन गरेका छन् ।
नजिकिंदै गईरहेको एसईई परीक्षाको तयारीका लागि संस्थागत विद्यालयले अरु कक्षा बन्द गरे तापनि परीक्षालाई भने निरन्तरता दिएकाे हो ।


गत सोमबार सरकारले अति प्रभावित शहरी क्षेत्रका विद्यालयहरु वैशाख मसान्तसम्मका लागि बन्द गर्ने निर्णय गरेको थियो । सोही अनुसार विद्यालय बन्द भए पनि संस्थागत विद्यालयहरुको संगठन प्याब्सनमा आवद्ध विद्यालयहरुले वैशाख पाँच गतेदेखि प्रिबोर्ड परीक्षा लिइरहेको सहअध्यक्ष डिके ढुंगानाले जानकारी दिए ।


उनले भने, ‘अरु कक्षालाई वैकल्पिकमा लगेका छौं तर, परीक्षा भने स्वास्थ्य सुरक्षाको सबै मापदण्ड पालना गरेर नै सञ्चालन गरिरहेका छौं ।’


त्यस्तै, एनप्याब्सनसँग आवद्घ रहेका विद्यालयहरुले भने भोलिदेखि परीक्षा लिने जनाएको छ । एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाका अनुसार आ–आफ्नै विद्यालयलाई होम सेन्टर बनाएर परीक्षा लिने तयारी भएको छ ।


२०७७ सालको एसईई जेठ १३ गतेबाट हुने भनि राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका सार्वजनिक समेत गरिसकेको छ ।