पोखरा/६ वैशाख– पोखरामा तत्काल विद्यालय बन्द नहुने भएको छ ।
पोखरा महानगरपालिका र त्यहाँको निजी विद्यालयका छाता संगठनबीच भएको बैठकको छलफलमा तत्काल पोखरा महानगर क्षेत्रभित्रका विद्यालय बन्द नगर्ने निर्णय भएको हो ।
कोरोना संक्रमण दिन प्रतिदिन वृद्धि हुँदै गएपछि सबै भन्दा बढी संक्रमण विद्यालयमा देखिएको भन्दै सरकारले शहरी क्षेत्रको विद्यालय बन्द गर्ने निर्णय गरेको छ । तर, पोखरा क्षेत्रका विद्यालय भने परीक्षा नजिकिएका कारण तत्काल बन्द नगर्ने सहमति भएको छ ।
सो छलफलमा तत्काल विद्यालय बन्द नगर्ने र कक्षा आठ बाहेक सम्पूर्ण कक्षाको परीक्षा यही बैशाख महिना भित्र सम्पन्न गरिसक्ने निर्णय भएको छ ।
पोखरा महानगर प्रमुख मानबहादुर जिसी, उपप्रमुख मञ्जुदेवी गुरुङ सहितका सरोकारवालाहरुबीच भएको बैठकले विद्यालयमा पछि आउने समस्याका आधारमा बन्द गर्ने र नगर्ने भन्ने विषयको निर्णय स्वयं विद्यालयले नै गर्ने भएको महानगर शिक्षा प्रमुख हेम आचार्यले जानकारी दिए ।



