सिजेएमसी कलेज र विदेशी विश्वविद्यालयसँगको छात्रवृत्ति सहकार्यमा नेपालीले गरे पत्रकारितामा विद्यावारिधी

काठमाडौँ /५ बैशाख – विगत सन् २००० देखि पत्रकारिता विषय पढाउँदै आएको सिजेएमसी कलेजले नोराडको छात्रवृत्ति सहकार्य पूरा भएको अवसरमा एक कार्यक्रम सम्पन्न गरेको छ ।

कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेशन (सिजेएमसी)को सिफारिसमा पाँच नेपाली विद्यार्थीले विदेशी विश्वविद्यालयबाट पत्रकारितामा विद्यावारिधीको अध्ययन पूरा गरेको अवसरमा सो कार्यक्रम आयोजना गरीएको हो ।

नर्वेली विकास सहायता नियोग (नोराड)को सहयोगमा नर्वेको ओस्लो विश्वविद्यालयबाट समीक्षा कोइराला र शरद राईले विद्यावारिधी तथा नोराडकै छात्रवृत्तिमा चार विद्यार्थीले पत्रकारिता तथा आमसञ्चारमा स्नातकोत्तर अध्ययन पूरा गरेका छन् ।

त्यसैगरी सिजेएमसी कलेजकै सिफारिसमा चीनको कम्युनिकेसन विश्वविद्यालयबाट कृति भुजू, प्रद्युम्न पौडेल र बुद्धी शर्माले विद्यावारिधी पूरा गरेका छन् । बङ्गलादेशको ढाका विश्वविद्यालयबाट १३ र ड्रिक विश्वविद्यालयबाट पाँच जनाले स्नातकोत्तर पुरा गरेका छन् ।

कार्यक्रममा कलेजकी संस्थापक प्रिन्सिपल डा. मञ्जु मिश्रले नेपालको उच्चशिक्षा र अनुसन्धानमा लगानी वृद्धि गर्न सकिए शैक्षिक गुणस्तर तथा प्राज्ञिक क्षेत्रमा उन्नयन हुने बताउनुभयो ।

हालसम्म स्नातक र स्नातकोत्तर तहमा गरी उत्पादित करिब ४०० विद्यार्थी विभिन्न राष्ट्रिय सञ्चारमाध्यम र सञ्चार विधामा कार्यरत हुनु आफ्नो उपलब्धि भएकाले पत्रकारिताको बेग्लै विश्वविद्यालय स्थापनाका लागि सरकारसँग अनुमति माग गरिएको पनि उहाँले बताउनुभयोे ।

प्रोफेसर डा. सुरेन्द्र केसीले उच्चशिक्षालाई अनुसन्धानमुखी र गुणस्तरीय बनाउन राजनीतिक दलीय भागबण्डा र राजनीतिक आवद्धताबाट शैक्षिक संस्थालाई अलग राख्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा विदेशी विश्वविद्यालयबाट पत्रकारितामा विद्यावारिधी अध्ययन पूरा गरेका विद्यार्थी, बुद्धिजीवी, पत्रकार, शिक्षाविद् लगायतको सहभागिता थियो ।