विद्यालयका अध्यक्ष र वडा सदस्यविरुद्ध अख्तियारमा उजुरी

रामेछाप/२९ चैत– मन्थली नगरपालिका–७ भटौंलीस्थित कालिकादेवी आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र वडा सदस्यको मिलेमतोमा रकम हिनामिना गरेको आरोपमा उनीहरूविरुद्ध अख्तियारमा उजुरी परेको छ ।
विद्यालयको रकम भ्रष्टाचार गरेको भन्दै उनीहरुविरुद्ध विद्यालय प्रशासन र स्थानीय अभिभावकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएका हुन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश बुढाथोकी र मन्थली नगरपालिका–७ का वडा सदस्य खड्कबहादुर बुढाथोकीले मिलेर कीर्ते बिल भर्पाइ गरी ८७ लाख ५० हजार रकम अपचलन गरेको स्थानीय अभिभावकहरुको आरोप छ ।
वडा सदस्य र विद्यालय व्यवस्थापन समितिका अध्यक्षको मिलेमतोमा विद्यालय भवन निर्माणको क्रममा ६७ लाख ५० हजार बराबरको कीर्ते बिल बनाई फरफारक गरी भुक्तानी लिएको उनीहरुको भनाइ छ ।
विद्यालय भवन निर्माण गर्ने कामदारहरुले समेत हालसम्म काम गरेको पारिश्रमिक नपाएको र शौचालय तथा खानेपानी ट्याङ्की निर्माणमा विनियोजित २० लाख रकम उपभोक्ता समिति नै गठन नगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुढाथोकी र वडा सदस्य खड्क बुढाथोकीले एकलौटी काम गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हाे ।
विद्यालयको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंक मन्थलीको खाता नं १६८००००५२४०१ मा जम्मा भएको रकम समेत अपारदर्शीय तवरले झिकी अध्यक्ष प्रकाश बुढाथोकीले व्यक्तिगत मुनाफा गर्नका लागि मिनीट्रक गाडी खरिद गरी कुखुरा फर्म र पसल सञ्चालन गरेको समेत उजुरीमा उल्लेख छ ।
विद्यालयको नाममा रहेको ३१ रोपनी जग्गामा रहेको साल र सल्लो गरी अन्दाजी ९ हजार ५ सय क्युफिट काठ मनोमानीरूपमा काटी बिक्री–वितरण गरेर उक्त रकमसमेत उनीहरुले अनियमितता गर्नुका साथै मन्थली नगरपालिकाबाट विनियोजित २ लाख रुपियाँबाट ल्यापटप खरिद वाईफाई जडान र बुक कर्नरका लागि भनी दिएको रकमले उनीहरुले कुनै पनि सामग्री नै खरिद नगरी कीर्ते बिल भपाई बनाएर नगरपालिकाबाट फरफारक समेत गरेको उजुरीमा उल्लेख छ ।