काठमाण्डौं/२९ चैत– सरकारले विद्यालयहरु भौतिक रुपमा बन्द गराई अनलाईन मार्फत् पठनपाठन जारी राख्ने भनि सिसिएमसीलाई गरिएकाे सिफारिसप्रति गम्भिर आपत्ति जनाउँदै प्याब्सनले आज एक विज्ञप्ती जारी गर्दै ध्यानाकर्षण गरेको छ ।
कोरोनाको दोस्रो लहरले १८ वर्ष मुनिका बालबालिकाहरु समेत प्रभावित हुन सक्ने पुष्टि भईरहँदा र बालबालिकाहरुका लागी भ्याक्सिनको परीक्षण समेत भइनसकेको सन्दर्भमा उक्त समूहलाई संक्रमित हुनबाट जोगाईराख्न अपनाउनु पर्ने स्वास्थ्य सावधानीका सन्दर्भमा निजी लगानीका विद्यालयहरुको छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन, नेपाल (प्याब्सन) अत्यन्तै गम्भीर रहेको भन्दै आज विज्ञप्ती निकालेको हो ।
आफ्ना सदस्य विद्यालयहरुलाई स्वास्थ्य सावधानीका पूर्ववत् उपायहरु अनिवार्य र कडि कडाउका साथ अपनाई पठनपाठनका साथै अन्य गतिविधि सञ्चालन गर्न गराउन प्याब्सनले आन्तरिक परिपत्र समेत जारि गरेको छ ।
प्याब्सनका अनुसार नेपालको भौगोलिक विकटता, अभिभावकहरुको आर्थिक तथा सामाजिक अवस्था, ईन्टरनेटको उपलब्धताको अभाव, शिक्षकहरुको प्राविधिक दक्षता जस्ता कारणले नेपालको सामुदायिक तथा सार्वजनिक शिक्षालयमा मात्र नभएर निजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुकोे ५०% क्षेत्र समेत अनलाईन शिक्षाले समेट्न नसक्ने कुरा विगतको बन्दाबन्दीमा गरिएको प्रयोगले प्रमाणित गरि सकेको छ ।
अतः कोरोना संक्रमण र यसको प्रभाव न्यूनीकरणका लागि नेपाल सरकारले तयार गरेको स्वास्थ्य सावधानी सम्बन्धी उपायहरुलाई हरेक क्षेत्रमा कडि कडाउका साथ लागु गरी स्थानीय सरकार, प्रदेश सरकार र संघिय सरकारका सम्बन्धित निकायहरुलाई जिम्मेवारी सहित सक्रिय बनाउनु अहिलेको प्राथमिकता हुनुपर्ने प्याब्सनले जनाएको छ ।
कोरोनालाई जीवनको एउटा हिस्साको रुपमा स्वीकार्दै कोरोनासँग संघर्ष गर्दै जनजीवनलाई यथासम्भव सहज बनाउने तर्फ पहल कदमी गर्न जरुरी रहेको विगतको बन्दाबन्दी पश्चातः विद्यालय सञ्चालन गर्न नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सरोकारवालाहरुसँग छलफल समेत गरि तयार गरेको कार्यढाँचा अनुसार शिक्षालयहरुका गतिविधिहरु सञ्चालन गर्न सान्दर्भिक भएको भन्दै आवश्यकता अनुसार शिक्षालयहरुमा तातो पानी, स्वास्थ्यकर्मी, सेनिटाइजर, आइसोलेशन कक्ष, भौतिक दुरीको व्यवस्थापन जस्ता कार्यहरु सरकारका सम्बन्धित निकायहरुको सहयोग र समन्वयमा गर्दै जानु उपयुक्त हुने विज्ञप्तीमा उल्लेख छ ।
प्याब्सनले सबै शिक्षालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई स्वास्थ्य सावधानीका उपायहरु अवलम्बन गर्न गराउन विशेष भूमिका निर्वाह गर्न सबै शिक्षक–कर्मचारीहरुलाई अनुरोधका साथै शिक्षालयहरुमा कार्यरत शिक्षक–कर्मचारीहरुलाई कोभिड–१९ विरुद्धको खोपको प्रबन्ध तुरुन्तै गर्न नेपाल सरकारसँग आग्रह गरेको छ ।
साथै, मुलुकभरी कोरोना संक्रमणको वृद्धि दर एकनासको नभएको यथार्थलाई समेत मध्यनजर गरी अत्यन्त आवश्यक भए सम्बधित विद्यालय अथवा सम्बन्धित पालिकामा मात्र केहि निश्चित समयका लागी मात्र प्रतिबन्धात्मक व्यवस्था गरी अन्य ठाउँमा सहज रुपमा शैक्षिक संस्थाहरु स्वास्थ्य सावधानीका उपायहरु अवलम्बन गरी सहज तरिकाले सञ्चालन हुने वातावरण सृजना गरिदिन प्याब्सनले नेपाल सरकारसँग माग गरेको छ ।



