नयाँ कोरोनाबाट विद्यार्थी जोखिममा, अनलाइनमार्फत् कक्षा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाण्डौं/२७ चैत– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा नयाँ कोरोनाको लक्षण देखिएकाले विद्यालय बन्द गरेर विकल्पका रुपमा अनलाइन कक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयलाई आग्रह गरेको छ ।
पछिल्लो समय फेला परेका कोरोना संक्रमितहरूमा विद्यार्थी पनि रहेकाले विद्यालय बन्द गरेर अनलाइन कक्षा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयले शिक्षा मन्त्रालयलाई आग्रह गरेको हो ।
नेपालमा नयाँ कोरोना अर्थात् एस जिन नेगेटिभ देखिन थालेको छ । यो भाइरस यूके भेरियन्टसँग मिल्दोजुल्दो रहेको विज्ञहरु बताउँछन् ।
स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलले नेपालमा संक्रमितहरूलाई एस जिन नेगेटिभ पुष्टि हुने क्रम बढेको जानकारी दिए । कम उमेरका व्यक्तिमा बढी देखिएकाले यसबाट एकदमै सतर्क हुनुपर्ने निर्देशक डा. पौडेलले बताए ।
पछिल्लो २४ घण्टामा बिहीबार ३ सय ३२ संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ भने बुधबार मात्रै २ सय ९८ जनामा कोभिड पुष्टि भएको थियो ।
कतिपय जर्नलमा एस जिन नेगेटिभलाई यूके भेरियन्टका रुपमा लिने गरेको पाइन्छ । यो कलिलो उमेरका व्यक्तिमा बढी देखिन थालेको छ । स्कुल जाने उमेरका १२ देखि १६ वर्ष उमेर समूहका व्यक्तिलाई समेत सो लक्षण देखिएको उनको भनाई छ ।
डा. पौडेलका अनुसार स्कुले विद्यार्थीमा यसको लक्षण देखिएकोले जोखिम बढेको स्पष्टै हुन्छ । तसर्थ, सबैले बेलैमा सावधानी र सतर्कता अपनाउनुपर्ने उनले सुझाव व्यक्त गरे ।
पछिल्लो समयमा कोरोना संक्रमणको क्रम तीव्र भएका कारण स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले लकडाउन गर्नुपर्ने अवस्थासम्म नपुग्न विकल्पका रुपमा पहिले विद्यालय तथा कलेज बन्द गर्नुपर्ने बताएका छन् ।