शैक्षिक परामर्श संस्था दर्ता र नवीकरण केन्द्रबाट कि प्रदेशबाट ? यसो भन्छन् सरोकारवालाहरु


काठमाण्डौं/२७ चैत– नेपालमा दर्ता भएर सञ्चालनमा आएका एक हजार चार सय ७३ वटै शैक्षिक परामर्श सेवा संस्थाहरु नवीकरण नभएकाले कहाँबाट नवीकरण गर्ने विषयमा अहिले अन्यौलतामा परेका छन् । त्यसैगरी, सात सय पैंतिस शैक्षिक परामर्श संस्थाहरु निवेदन दिएर दर्ताको पर्खाईमा छन् ।

सरकारले शैक्षिक परामर्श संस्था कहाँबाट नवीकरण गर्ने भन्ने नखुलाईदिएका कारण दर्ता भएका संस्थाहरु पनि गैह्र कानूनी रुपमा चलेको देखिएको र नियमन गर्दाखेरी तिनीहरु पनि कारवाहीमा पर्न सक्ने देखिएपछि अहिले शैक्षिक परामर्शकर्मीहरु चिन्तित देखिन्छन् ।

२०७५ साल देखी नयाँ शैक्षिक परामर्श संस्था दर्ता प्रक्रियामा सरकारले रोक लगाएपछि ०७५ साल भन्दा अगाडी दर्ताका लागि निवेदन दिएका शैक्षिक परामर्श संस्था र नवीकरणका लागि भौचर दिएका संस्थाहरुलाई के गर्ने भन्ने अहिलेको प्रमुख समस्या रहेको छ ।

शैक्षिक परामर्श संस्था दर्ता तथा नवीकरण प्रक्रिया केन्द्रिय तहबाट गर्ने वा प्रदेशस्तरबाट गर्ने भन्ने अन्यौल भईरहेको अवस्थाको विषयलाई लिएर शैक्षिक परामर्श संघका पदाधिकारी तथा सरोकारवालाहरुसँग खबरएजुकेशनले गरेको संवाद–

शिक्षा मन्त्रालयबाट हुने कामहरु भने केन्द्रिस्तरबाटै हुने हँुदा दर्ता तथा नवीकरण केन्द्रमैं राख्दा राम्रो


दीपक भुषाल

महासचिव
नेपाल शैक्षिक परामर्श संघ (ईक्यान)


शैक्षिक परामर्श संस्था दर्ता र नवीकरण प्रक्रिया केन्द्रबाटै हुनुपर्छ । अध्ययनका लागि विदेशमा गईरहेका विद्यार्थीको सहजताका लागि, विदेशमा अवस्थित सम्बन्धित शैक्षिक संस्थाहरुसँग समन्वय गर्न र संघको मातहतमा रहेर काम गर्न पनि केन्द्रबाट नै सहज हुने हँुदा दर्ता तथा नवीकरण प्रक्रिया केन्द्रबाट नै हुन आवश्यक छ ।

विदेश अध्ययन जाने सवालमा केही कामहरु जिल्लाहरुबाटै गरेता पनि परामर्श क्षेत्रसँग सम्बन्धित रहेका अन्य विभिन्न काम, एनओसीका काम लगायत कुटनैतिक खालका काम र शिक्षा मन्त्रालयबाट हुने कामहरु भने केन्द्रिस्तरबाटै हुने हँुदा शैक्षिक परामर्शको दर्ता तथा नवीकरण प्रक्रिया र विविध कार्यका लागि केन्द्रमैं राख्दा राम्रो हुनेछ ।

देश संघीय संरचनामा गईसकेपछि सबै प्रक्रिया प्रदेशस्तरबाटै हुनुपर्छ

सन्तोष प्याकुरेल

अध्यक्ष
राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका)


शिक्षा मन्त्रालयले शिक्षा ऐन ल्याएदेखि नै चित्त नबुझेका केही प्रावधानमा हामीले पहिल्यै आपत्ति जनाईसकेका थियौं । त्यसको लागि निश्चित रुपमा शिक्षा मन्त्रालयलाई तीन तहमा दर्ता र अनुगमन गर्नपर्ने झन्झटलाई हटाएर यसलाई एउटै तहबाट मात्रै दर्ता गर्ने बनाउनुपर्छ भन्दै तीन तहमा दर्ता प्रक्रियालाई असहमति जनाईसकेका छौं । देश संघीय संरचनामा गईसकेपछि संविधानको भावना र मर्म अनुसार दर्ता, नवीकरण र अनुगमन सबै प्रक्रिया प्रदेशस्तरबाटै हुनुपर्छ ।

शैैक्षिक परामर्श सेवा, भाषा शिक्षण र तयारी कक्षा यि तीन वटै एउटै व्यवसायले एउटै लाईसन्सबाट प्राप्त गर्ने र एउटै ठाउँमा काम गर्ने हुँदा व्यवसायलाई चलाउन टुक्र्याउन वा खण्ड गर्नुपर्ने आवश्यकता पनि देखिंदैन । यि तीनवटै एउटा बृहत नभई साना क्षेत्र भएको हुँदा यसको एउटै निकायबाट सेवा प्रदान तथा व्यवस्थित गर्नुपर्छ ।

समस्या पर्दा विभिन्न दूतावाससँग सम्पर्क र समन्वय गर्नका लागि पनि शैक्षिक परामर्श संस्था केन्द्रमैं हुनुपर्छ

उद्वव खड्का

महासचिव
नेपाल एशोसियशन अफ अष्ट्रेलिया एजुकेशन रिप्रिजेन्टेटिभ (नायर)


शैक्षिक परामर्श सेवा केन्दमैं राख्नुपर्ने जरुरी देखिन्छ । यो विदेशी कुटनीतिक नियोगहरुदेखी लिएर विभिन्न विदेशी मामलासँग सम्बन्धित भएका कारण भोली गएर केही समस्या हँुदा परराष्ट्र देखि लिएर विभिन्न दूतावास तथा कुटनीतिका कुराहरु समावेश हुने हुँदा यसलाई केन्द्रिय स्तरमा नै राख्दा राम्रो हुने देखिन्छ ।

तर, यदि भाषा शिक्षण, अनुकूल तथा सहजताका लागि चाहिँ प्रदेशमा राख्दा पनि केही फरक परेन तर, शैक्षिक परामर्श संस्था वा विदेश अध्ययन गर्न जाने जुन नीति नियममा विद्यार्थीका सहजताका लागि केन्द्रमैं राख्नुपर्ने देखिन्छ । केही समस्या पर्दा विभिन्न दूतावाससँग सम्पर्क र समन्वय गर्नका लागि पनि शैक्षिक परामर्श संस्था केन्द्रमैं हुनुपर्ने आवश्यक देखिन्छ ।

संरचनाको हिसाबले प्रदेशमा लग्नु स्वभाविकै हो तर, शैक्षिक परामर्श क्षेत्रका जटिलताहरु धेरै रहेका कारण केन्द्रमैं राख्दा राम्रो


गीता रिजाल

निवर्तमान उपाध्यक्ष
स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन)

शैक्षिक परामर्श सेवा केन्द्रमैं हुनुपर्छ । अहिलेको संरचना अनुसार प्रदेशमैं जानुपर्छ भन्ने कुरा शिक्षा मन्त्रालयले जनाए पनि दर्ता तथा नवीकरण कार्य केन्द्रमैं हुनुपर्छ । किनकि यो क्षेत्र अलि संवेदनशील क्षेत्र भएका कारण प्रदेशमा सार्दा दर्ता तथा नवीकरण कार्यमा अलमल हुने देखिन्छ । देशको संरचनाको हिसाबले प्रदेशमा लग्नु स्वभाविकै हो तर, शैक्षिक परामर्श क्षेत्रका जटिलताहरु धेरै रहेका कारण यसलाई केन्द्रमैं राख्न उचित देखिन्छ ।

मुख्य काम चाहिँ केन्द्रमा तर अन्य स–साना काम चाहिँ प्रदेशस्तरबाट गर्दा झन् समस्या उत्पन्न हुने र अचानक सबै कुरा प्रदेशमा पठाईहाल्दा प्रदेशलाई यो सम्बन्धि ज्ञान भईसकेको पनि नहुने हुँदा केन्द्रमैं राख्दा राम्रो हुनेछ ।

काठमाण्डौंबाट नै मुख्य काम हुने हुँदा यो केन्द्रमैं सीमित हुनुपर्ने देखिन्छ

खेम संग्रौला

प्रबन्ध निर्देशक
एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस

शैक्षिक परामर्श सेवाहरु केन्द्रमै राख्दा उचित हुने देखिन्छ । शैक्षिक परामर्श सेवाहरु सबै सहर केन्द्रित छन् । यसको सुरुवात् काठमाण्डौंबाटै भएको हो । काठमाण्डौं बाहिर धेरैजसो कन्सल्टेन्सी ब्रान्चका रुपमा मात्रै सञ्चालित छन् । र तिनीहरुको मुख्य कार्यालय काठमाण्डौमैं रहेकाले यसका हरेक काम तथा प्रक्रियाहरु काठमाण्डौंबाटै हुने गर्छ ।

यसका साथै, विद्यार्थीहरुको एनओसी दिने मामलामा पनि काठमाण्डौंबाट नै मुख्य काम हुने हुँदा यो केन्द्रमैं सीमित हुनुपर्ने देखिन्छ ।

राज्यले सहज तरिकाले काम गर्नका लागि मात्रै विकेन्द्रिकरण गरेको हो । तर, शैक्षिक परामर्शको हकमा केन्द्रबाटै काम गर्दा व्यवस्थापनमा पनि सहज हुने हुँदा शैक्षिक परामर्श संस्था दर्ता र नवीकरणका लागि केन्द्रमैं राख्नुपर्छ ।