फ्रान्समा तीन साता विद्यालय बन्द, सार्वजनिक गतिविधिमा पुनः कडाई

काठमाण्डौं/१९ चैत- फ्रान्समा कोभिड –१९ को संक्रमण तीब्र रुपमा बढ्न थालेपछि तीन साता सम्मका लागि त्यहाँको विद्यालय बन्द गरिने भएको छ ।
बुधबार टेलिभिजन मार्फत् राष्ट्रपति एमान्युल म्याक्रोले देशैभरि लकडाउनको घोषणा गर्दै काममा जानुपर्ने मानिसले पनि आफ्नो घरबाट बढीमा १० किलोमीटर परसम्मको कामका लागि मात्र जान सक्ने बनाइएको छ ।
यस अघि बालबालिकाको पढाइमा कुनै किसिमको अवरोध हुन नदिन र अर्थतन्त्रलाई चलायमान बनाइराख्ने प्रतिबद्धता जाहेर गरेपनि संक्रमण तीव्र रुपले फैलिएपछि फ्रान्स सरकारले पुनः लकडाउन गर्ने निर्णयलाई नै अघी बढाएको अन्र्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
फ्रान्समा यसअघि पनि कोरोना महामारी नियन्त्रण गर्न भन्दै दुईपटक लकडाउन गरिसकेको छ । शनिबार देखि लागू हुने लकडाउन कम्तिमा एक महिनासम्म रहने छ ।
संक्रमण जोखिम बढ्न थाले पछि राजधानी पेरिस लगायत उच्च संक्रमण भएका केही स्थानमा यस अघि नै विभिन्न खाले प्रतिबन्धहरू लगाइएका थिए ।
प्रधानमन्त्री क्यास्टेकले यो अहिलेको लकडाउन पहिलेको कफ्रयु नै लगाएजस्तो कडा भने नरहेको तर यहाँका नागरिकले सकेसम्म आफ्नो घरमा भने बस्नुपर्ने बताएका छन् ।
उनका अनुसार लकडाउनका समयमा मानिसहरुलाई अत्यावश्यक कामका लागि मात्रै घर बाहिर निस्कने अनुमति दिइने छ । तर एक राज्यबाट अर्कोमा जान यात्रा प्रतिबन्ध गरिएको छ ।
कोरोना भाइरसको महामारीको सुरुमा युरोपमा अति प्रभावित मध्येको फ्रान्समा गत मार्चमा पहिलोपटक लकडाउन गरिएको थियो। त्यसबेला २ महिना लकडाउन गरेर खुला गरिएको थियो ।

फ्रान्समा अहिले दैनिक औसतमा ४० हजार कोरोना संक्रमित थपिने गरेका छन् भने अहिलेसम्म संक्रमणबाट १ लाख मानिसको मृत्यु भइसकेको छ । पछिल्लो समय कोभिड १९ विरुद्धको खोप लगाउन थालिए पनि त्यसको प्रभावकारी नतिजा नदेखिएकाले नयाँ भेरियन्टस हित फ्रान्समा कोरोनाको तेस्रो लहर चलिरहेको बिबिसिले जनाएको छ ।