यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ

दाङ/१ चैत्र– तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ दाङस्थित अमर माध्यामिक विद्यालयको छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।
कक्षाकोठा भित्रै यौन दुर्व्यवहार गरेको भन्दै बाल यौन दुराचारको उजुरी परेपछि तुलसीपुर–११ सुकौराका शिक्षकलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
फागुन २३ गते अर्थात् एक हप्ताअगाडि दिउँसो कक्षाकोठाभित्रै कक्षा ६ मा पर्ने १३ वर्षीया छात्राले आफूलाई ती शिक्षकले संवेदनशील अंगमा हातपात गरेको आरोप लगाएकी थिइन् ।
पीडित छात्राको बुवाले फागुन २६ गते बाल यौन दुराचार गरेको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेर दिएका थिए । सोही जाहेरीका आधारमा उनलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय, तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले बताएका छन् ।
उनले भने, “त्यो दिन बालिका सञ्चो नभएर कक्षा कोठामा एक्लै बसेको अवस्थामा ती शिक्षक आएर संवेदनशील अंगमा हातपात गरेको भन्ने आरोपमा उजुरी परेको थियो । फागुन २६ गते मुद्दा परेपछि हामीले शिक्षकलाई पक्राउ गरेका हौं ।”
डिएसपी सिंहका अनुसार सत्थतथ्यको पहिचान गर्न अहिले प्रहरी अनुसन्धान भईरहेको छ । पक्राउ परेका शिक्षकविरूद्ध दाङ देउखुरी जिल्ला अदालतले घटना अनुसन्धान गर्नका लागि सोही दिन सात दिनको म्याद समेत थप गरेको उनले जानकारी दिए ।