पदाधिकारी नियुक्ति नहुँदा शिक्षक सेवा आयोग प्रभावित


काठमाण्डौं /१ चैत्र– महिनौ बितिसक्दा पनि शिक्षक सेवा आयोगको पदाधिकारी नियुक्ति हुन नसक्दा रिक्त शिक्षक पदमा खुला विज्ञापन प्रकृया र शिक्षक बढुवा प्रक्रिया नराम्रोसँग प्रभावित भएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक सेवा आयोगको अध्यक्ष पदको उम्मेदवार एंव संक्षिप्त सुचिमा परेका खुला सदस्य र महिला सदस्य पदका उम्मेदवारहरुको नाम छनौट गरेर सार्वजनिक समेत गरिसक्दा पनि पदाधिकारी नियुक्ति गर्न सकिरहेको छैन ।

पदाधिकारी नहुँदा अध्ययन अनुमतिपत्र, शिक्षक विज्ञापन, शिक्षकको बढुवा लगायत नीतिगत निर्णय गर्नुपर्ने काम रोकेको छ भने प्रशासनिक माध्यमबाट हुने कामहरु मात्रै अहिले भईरहेको शिक्षक सेवा आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले खबर एजुकेशनलाई जानकारी दिए ।

शिक्षक सेवा आयोगको पदाधिकारी नियुक्तिको ढिलाइले विद्यालय शैक्षिक स्थिति झन् समस्याग्रस्त बन्दै गईरहेको भन्दै स्थायी शिक्षक हकहित मञ्चले घोर आपत्ति समेत जनाईरहेको छ ।

यसका साथै शिक्षा जस्तो संवेदनशील क्षेत्रमा ऐन निर्माणमा ढिलाइ, ई सि डि शिक्षक, विद्यालय कर्मचारी, राहत अस्थायी आदि शिक्षकहरूको व्यवस्थापनमा भएको ढिलाइले गुणस्तरीय शिक्षालाई चरितार्थ गर्न नसकिने भन्दै उनीहरुले शिक्षामन्त्रीको आलोचना समेत गरेका छन् ।

शिक्षक सेवा आयोगमा अहिले ४० जना कर्मचारीहरु कार्यरत छन् । शिक्षक सेवा आयोगको अध्यक्ष पद खाली हुँदा सबै काम थाँती रहेको छ ।

पदाधिकारी नियुक्तिका लागि आयोगबाट मन्त्रालयमा नाम सिफारिस गरिसकेको छ तर अहिले सम्म पनि मन्त्रालयबाट नाम सार्वजनिक नहँुदा खेरी शिक्षक सेवा आयोग अन्यौलमा परेको छ ।