महानगरपालिकाद्वारा पाँच सामुदायिक विद्यालयलाई बस किन्न रकम प्रदान

भरतपुर/१९ माघ– भरतपुर महानगरपालिकाले महानगर क्षेत्र भित्र रहेका सामुदायिक विद्यालयहरुलाई विद्यार्थीको सुविधाका लागि बस खरिद गर्न रकम प्रदान गरेकोे छ ।
गत पुुस २९ गते भएको महानगरपालिका परिसरमा आयोजित बस खरिद सम्बन्धी सम्झौता कार्यक्रम अन्तर्गत महानगरपालिकाले पाँच विद्यालयलाई बस प्रदान गरेको हो ।
विद्यालय नजिक नभएका र अशक्त विद्यार्थीलाई बस प्रभावकारी हुने भन्दै महानगरपालिकाले ती विद्यालयलाई बस खरीद गर्न रु एक करोड निकासा समेत गरेको छ ।
चालू आर्थिक वर्षमा पाँच विद्यालयलाई बस खरिद गर्न प्रत्येक विद्यालयलाई रु २० लाखका दरले रकम प्रदान गर्ने भनि भएको सम्झौताअनुरुप वडा नं. १० को नमूना मावि, वडा नं. २० को भिमनगर मावि, वडा नं. २३ को लक्ष्मी मावि, वडा नं. २५ को प्रभात मावि, शुक्रनगर र वडा नं. २९ को कविलास मावि लाई बस खरिदका लागि रकम विनियोजन गरिएको महानगरपालिका शिक्षा महाशाखा प्रमुख महेन्द्र पौडेलले जानकारी दिए ।
विद्यार्थीहरुलाई साइकलदेखि विपन्न विद्यार्थीलाई न्यानो कपडासमेत बाँड्दै आएको जनाउँदै महानगरपालिका प्रमुख रेनु दाहालले महानगरभित्रका सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न, धेरै विद्यार्थी भएका, टाढाबाट आउनुपर्ने र प्राविधिक विषयको पढाइ गर्ने विद्यालयलाई पहिलो चरणमा बस दिइएको जानकारी दिए । यसको प्रभावकारिता हेरेर आउँदो वर्ष थप विद्यालयहरुलाई पनि बस खरीदमा सहयोग गर्ने उनले धारणा व्यक्त गरे ।
भरतपुर महानगरभित्र अहिले १२३ सामुदायिक र ९७ संस्थागत विद्यालय रहेका छन् । त्यस्तै, सामुदायिकमा ३५ हजार र संस्थागतमा ४० हजार बढी विद्यार्थी अध्ययनरत छन् ।