विश्वविद्यालयले मागअनुरुप ईञ्जिनियरिङ शिक्षा दिने प्रयास गरीरहेका छन्

प्रा. देवीप्रसाद भट्टराई
डीन,फ्याकल्टि अफ ईञ्जिनियरिङ
पूर्वाञ्चल विश्वविद्यालय

काठमाण्डौं १६ माघ–नेपालमा ईञ्जिनियरिङ शिक्षाको पाठ्यक्रम तथा अहिलेको अवस्था कस्तो छ ? नेपालको विभिन्न क्षेत्रमा ईञ्जिनियरिङको माग अनुरुप जनशक्ति उत्पादन भएको छ की छैन ? वा अनुरुप जनशक्ति उत्पादन गर्न के–कस्ता योजना भईरहेका छन्, ईञ्जिनियरिङ शिक्षाका लागि नेपालका विश्वविद्यालय विदेशि विश्वविद्यालय भन्दा के कारणले उत्कृष्ट छन भन्ने विषयमा पूर्वाञ्चल विश्वविद्यालयका ईञ्जिनियरिङ डिन प्राध्यापक देवीप्रसाद भट्टराईसँग खबर एजुकेशनले गरेको संवाद–

नेपालमा ईञ्जिनियरिङ शिक्षाको अवस्था कस्तो छ ?
नेपालमा ईञ्जिनियरिङ शिक्षा करिब करिब २००५ साल राणाकालदेखी नै सुरुवात भएको हो । सुरुमा वसन्तपुरबाट ईञ्जिनियरिङ स्कूल स्थापना गरी यसको सञ्चालन गरियो । यसबीचको अन्तरालमा आजको ईञ्जिनियरिङ शिक्षाले धेरै नै फड्को मारिसकेको छ । नेपालमा अहिले स्कूलस्तर देखी स्नातक तह, मास्टर र पिएचडी सम्मको ईञ्जिनियरिङ शिक्षा सञ्चालन भईरहेको छ । हाम्रो देशका विद्यार्थीहरु ईञ्जिनियरिङको विभिन्न विधामा ब्याचलर प्रोग्राम देखी मास्टर्स र पीएचडीसम्मको डिग्री हासिल गरिरहेका छन् । देशमा राष्ट्रिय र अन्तर्राष्ट्रिय जगत्मा ईञ्जिनियरिङ पेसाको मागअनुरुप पूर्ति गर्ने हिसाबले हाम्रो देश भएका विश्वविद्यालयहरुले त्यसलाई लक्षित गरी ईञ्जिनियरिङ शिक्षा दिने प्रयास गरीरहेका छन । अहिलेको सन्दर्भमा भने हामीले पाठ्यक्रमलाई समयसापेक्ष रुपले शिक्षा प्रदान गर्न देशलाई सुहाउँदो र आवश्यक जनशक्ति तयार गर्न परीमार्जन गर्न लागिरहेका छौं ।

ईञ्जिनियरिङ क्षेत्रमा विद्यार्थीको भविष्य कस्तो छ ?
हाम्रो देश अल्पविकसित देशमा पर्छ । तसर्थ, हामीले विकासको पूर्वाधारहरु तयार गर्न, पहाडी भेगमा बाटोघाटोको निर्माण तथा पानीको समस्या समाधान गर्न हामी लागि परेका छौं । यसका साथै विद्युतीय क्षेत्र विकास, सञ्चार विकास र जतिपनि पूर्वाधार विकास तथा निर्माण कार्यहरु छन्, ती सबैको योजना, डिजाईन, रेखाचित्र, सुपरभिजन, ईम्प्लिमेन्टेशन आदि कार्यमा ईञ्जिनियरको अहम् भूमिका रहन्छ । यसै कार्यक्रमका लागि हाम्रा कलेज तथा सम्बन्धित उत्पादन क्षेत्रले नधानेर अहिले पनि ठूलो संख्यामा विद्यार्थी छिमेकी मूलुक भारत लगायत् अन्य देशमा गईरहेका छन् । यसकारण अहिलेको मुख्य नीति भनेको यहाँ अधिकतम नेपाली विद्यार्थीहरुलाई यहीँकै विश्वविद्यालयमा संलग्न गराएर स्वदेशबाट परिस्कृत रुपमा ईञ्जिनियरिङ उत्पादन गर्ने हो । देशको अधिकांश क्षेत्रहरुमा ईञ्जिनियरिङको माग बढ्दो छ तर हाम्रोतर्फबाट उत्पादन कम हँुदा त्यसको पूर्ति भने गर्न नसकिरहेको अवस्था छ ।


देशमा अहिले बनेको प्रणालीअनुसार जस्तै स्थानीय निकाय, केन्द्र र प्रदेश गरी तीन वटै क्षेत्रहरुमा ईञ्जिनियर अपरिहार्य राख्नुपर्छ तर, देशमा भईरहेको विकास निर्माण कार्यमा ईञ्जिनियरिङ उत्पादन अझै पुगिरहेको छैन । यसर्थ, स्वदेश तथा विदेशमा ईञ्जिनियरिङको आवश्यकता र महत्व हुने हँुदा विद्यार्थीहरुले रोजगार तुरुन्तै पाउन सक्छन । जसले गर्दा ईञ्जिनियरिङ शिक्षा अध्ययन गर्ने विद्यार्थी बेरोजगार बस्नु पर्देन र आफ्नो भविष्य निर्माण गर्न सक्छ ।

ईञ्जिनियरिङ शिक्षामा विद्यार्थीको आकर्षण कस्तो छ ?
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्मा ईञ्जिनियरको जति माग भईरहेको छ, त्यति नै त्यसको प्रतिस्पर्धा पनि बढिरहेको छ । अहिले विश्वविद्यालय, आङ्गिक क्याम्पस तथा सम्बन्धन प्राप्त कलेजहरुमा सिभिल ईञ्जिनियरिङमा विद्यार्थीको चाप बढ्दो मात्रामा छ । कलेजमा लगभग सबै सिटहरु प्याक हुन्छन् र सिभिल पढ्न चाहने अन्य विद्यार्थीहरु सिट नपाएर पढ्न पाईरहेका छैनन् । साथै, अन्य विषय जस्तै कम्प्यूटर विषयमा पनि विद्यार्थीहरुको चाप छ । यसैगरी अरु नयाँ विषयहरुमा पनि विद्यार्थीहरुको चासो देखिन्छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा सबैभन्दा पहिले सिभिलमा र क्रमशः कम्प्यूटर, आईटी र ईलेक्ट्रिकल प्रोग्रामहरुमा जनशक्तिको माग बढ्दो छ ।

कती कामकालागि विदेशी ईञ्जिनियर मगाउंछौ,हाम्रा ईञ्जिनियर दक्ष छैनन् र ?
हाम्रो देशको अधिकांश वा आधाभन्दा बढी बजेट पूर्वाधार विकास निर्माण कार्यक्षेत्रलाई नै छुट्याएको हुन्छ । यो परिवेशले गर्दा पनि ईञ्जिनियरको माग सरकारी रुपमा वृद्धि भईरहेको छ । अतः कतिपय अवस्थामा विशेषज्ञको रुपमा हामीले विदेशी ईञ्जिनियर मगाउंछौ तर अन्य कार्यका लागि भने नेपाली ईञ्जिनियरहरु नै प्रयोग भईरहेको हुन्छ । तिनीहरुले पनि राम्रै सेवा दिईरहेका छन् । अवसर दिन सक्यौं भने नेपाली ईञ्जिनियरहरुले पनि विदेशी ईञ्जिनियर सरह नै काम गर्न सक्छन्, तिनीहरुले पनि दक्ष रुपमा राम्रा प्रोजेक्ट सम्हाल्न सक्छन्, त्यो पनि हाम्रै उत्पादनले ।

स्वदेशमा नै ईञ्जिनियरिङ शिक्षा पढाईरहेको अवस्थामा ईञ्जिनियर शिक्षा पढ्न कै लागि विद्यार्थीहरु विदेशीनुपर्ने किन?
राम्रो अवसर पाउन सकेको खण्डमा विदेशमा जो पनि जान चाहन्छन् । यदि, कोही जनशक्ति विदेश गएर त्यहाँको ज्ञान, सीप र अनुभवलाई पछि नेपाल फर्कंदा त्यसलाई प्रयोग गर्छन् भने विदेशमा जानु नराम्रो होईन । कतिपयले त्यहाँ सिकेको सीप स्वदेशमै फर्केर पनि काम गरिरहेका छन् । तसर्थ, ईञ्जिनियरिङ उच्च शिक्षाका लागि विदेशीने र त्यहाँ सिकेका नयाँ कुरा र अनुभवलाई स्वदेशमै प्रयोग गर्ने कुरा नकरात्मक नभई सकरात्मक हो ।

उसोभए ईञ्जिनियरिङ शिक्षा विदेशमा पढ्नु राम्रो कि स्वदेशमा ?
ईञ्जिनियरिङ विभिन्न क्षेत्र अनुसारको हुन्छ । जस्तै, नेपालको सन्दर्भमा हेर्ने हो भने यहाँको स्थानीय तथा भौगोलिक अवस्थालाई हेरी त्यही अनुरुपको विकास निर्माण कार्य गर्न, विज्ञान तथा प्रविधिलाई यहाँको माटो सुहाउँदो प्रयोग गर्न, स्थानीय क्षेत्र विकास निर्माण कार्यका समस्या समाधान गर्न स्थानीय तहमा केन्द्रीत भई अध्ययन तथा अनुसन्धान गरि राम्रो शिक्षा प्रदान गर्न सक्यौं भने विदेशबाट हुने उत्पादन भन्दा पनि स्वदेशी उत्पादन बढी उपयुक्त हुन्छ । यसले विद्यार्थीहरुलाई पनि अध्ययनमा सहज पु¥याउँदछ । त्यसकारण स्वदेशमा अध्ययन गर्न राम्रो ।

नेपालमा ईञ्जिनियरिङ शिक्षा व्यवहारिक भन्दा पनि सैद्धान्तिक मात्र बढी छ भन्ने आरोप छ किन ?
ठ्याक्कै याहि त होईन तर हामीसँग अहिले पनि स्रोत तथा साधनको केही कमि छ , त्यसको परिपूर्तिका गर्न अहिले भने हामी लागिपरेका छौं । यसका साथै शिक्षालाई समयसापेक्ष बनाउन सकरात्मक रुपमा परिमार्जन गर्दै विद्यार्थीलाई विभिन्न सुविधा दिन लागि परेका छौं , त्यसका लागि भने केही समय लाग्नेछ ।

ईञ्जिनियरिङ अध्ययन गरेको जनशक्तिलाई कसरी व्यवस्थापन गर्न सकिन्छ ?
हाम्रो देशमा अहिले सात प्रदेश छन्, त्यसमा पनि सात सय भन्दा बढी स्थानीय निकाय छन् । यसरी ती सबै क्षेत्रहरुमा प्राविधिकको माग रहेको हुन्छ र ती ठाउँहरुमा त्यही अनुरुपको जनशक्ति सहज रुपले परिपूर्ति गर्नका लागि भनेर विश्वविद्यालयले विभिन्न कलेजहरुमा स्थानन एकाइ खडा गर्न लागिरहेको छ । यसरी कलेजहरुमा यस्तो खालको विभिन्न संयन्त्र बनाई भूमिका खेल्यौं भने देशको विभिन्न स्थानमा भएका जनशक्तिले कार्य गर्न भौतारिरहन परेन र तिनीहरुले सहज रुपले काम पाउन सकिन्छ । यस्ता कार्यक्रमले देशका हरेक क्षेत्रमा भएका माग पूर्ति गर्न सकिन्छ ।

हाम्रा विश्वविद्यालयले निर्माण गरेको पाठ्यक्रम अन्तर्गत् विद्यार्थीहरुले के–कस्ता कुराहरु सिकिरहेका छन् ?
ईञ्जिनियरिङ भनेकै गणित र विज्ञान हो । ईञ्जिनियरिङ पाठ्यक्रम प्रणालीअन्तर्गत् गणित र विज्ञानका आधारमा विभिन्न विषयगत कुराहरु समावेश गरी प्रायोगिक रुपमा त्यसको अध्यापन हुने गर्छ । यसरी प्रत्यक्ष रुपमा सम्बन्धित क्षेत्रमा गई वैज्ञानिक तथा गणितीय हिसाबले त्यहाँको समस्या समाधान गर्ने काम गरीन्छ । सुरुको पाठ्यक्रममा पनि विश्वविद्यालयले गणित तथा विज्ञानलाई जोड दिएको छ । र त्यसपछि तेस्रो तथा चौथौं वर्षमा आईसकेपछि विद्यार्थीहरुलाई फिजिक्स, केमिष्ट्रि जस्ता विषयगत विधाहरुमा प्रवेश गराई त्यसको विष्लेशण, योजना तथा कार्यान्वयनका रुपमा तयार गरेको हुन्छ, अर्थात् त्यससम्बन्धि ज्ञान दिलाईएको हुन्छ । र, मास्टर्समा आईसकेपछि भने सम्बन्धित क्षेत्र चयन गरी सो स्थानमा गई खोज तथा अध्ययन गरी अभ्यासमा खटाईन्छ ।

अरु विश्वविद्यालयभन्दा पूर्वाञ्चल विश्वविद्यालय के कारणले फरक छ? र अबका योजना के छन् ?
पूर्वाञ्चल विश्वविद्यालयको ईञ्जिनियरिङ शिक्षा अरु विश्वविद्यालयमा भएको भन्दा धेरै फरक छैन, लगभग सबै विषय उस्तै उस्तै हो । तर पूर्वाञ्चल विश्वविद्यालयको ईञ्जिनियरिङ शिक्षाको कोर्षहरु प्रायः पुल्चोक ईञ्जिनियरिङ क्याम्पसमा पढाईने शिक्षामै आधारित छन् । पुल्चोक ईञ्जिनियरिङ क्याम्पसकै संकाय अन्तर्गत रहेर र सहकार्य गरेर नै हाम्रो विश्वविद्यालयमा शिक्षा दिईरहेका छौं । साथै पूर्वाञ्चल विश्वविद्यालयले पनि आफ्नै आङ्गिक कलेज खोल्न लागिरहेको छ । तसर्थ, आजको समयसम्म पूर्वाञ्चल विश्वविद्यालयमा ईञ्जिनियरिङ संकायमा जुनजुन प्रोग्राम लागू गरीरहेका छौं अब देखी झन् त्यसलाई परिमार्जित गर्दै समयसापेक्ष र सबल बनाउन दक्ष जनशक्ति उत्पादन गर्ने गरी त्यसको मागअनुरुपको विभिन्न नयाँ विषय तथा कार्यक्रम ल्याउने योजनामा छौं ।