विद्यालय कर्मचारीको राष्ट्रिय भेला : शिक्षक कर्मचारीलाई राज्यबाट उपहास भएको संगठनहरूको भनाई

काठमाडौँ /१२ मंसिर – सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरूका मागका सवालमा राज्यले बेवास्ता गरेको विभिन्न संगठनहरूले बताएका छन् । शिक्षक कर्मचारीलाई राज्यबाट उपहास भएको उनिहरूको धारणा छ ।


नेपाल विद्यालय कर्मचारी परिषद्, राष्ट्रिय समितिको पाँचौँ राष्ट्रिय भेलामा संगठनहरूको तर्फबाट आफ्नो धारणा राख्दै सबै पेसागत संगठनहरू मग पुरा गर्नका लागि एक भएर अगाडी बढ्नुको विकल्प नरहेको बताएका छन् ।


नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले मंसिर १२ र १३ गते चल्ने राष्ट्रिय भेलाबाट विगतमा भएका आन्दोलन र सरकारसँग भएका सहमतिको समीक्षासहित घोषणा पत्र जारी गरिने बताए । उनले विद्यालय कर्मचारीहरूका माग पुरा गर्नका लागि थप रणनीति योजना र कार्यदिशा तय गरिने जानकारी दिए । परिषद्का महासचिव शान्तीनाथ योगीले संगठनको प्रतिवेदन पेस गर्दै गत जेठमा तत्कालीन सरकारसँग गरिएका तीन बुँदे सहमति कार्यान्वयन गर्नुपर्नेमा जोड्दिए ।


नेपाल शिक्षक संघका उपमहासचिव नारायण प्रसाद तिमल्सिनाले ऐन नआएसम्म शिक्षक कर्मचारीहरूका माग सम्बोधन नहुने बताउँदै शिक्षक कर्मचारीहरूका मग पुरा नभएसम्म निरन्तर लाग्नुपर्ने बताए । हरेक विद्यालयमा कर्मचारीहरूको आवश्यकता रहेको उल्लेख गर्दै नेपाल शिक्षक महासङ्घ स्थायी दरबन्दीका बारेमा बोलिरहे पनि दलका नेताहरूमा इमान्दारीता नहुँदा शिक्षक कर्मचारीहरूका माग सम्बोधन हुन नसकेको बताए ।


ईस्टु महासचिव भूपाल उप्रेतीले सामुदायिक विद्यालयमा कार्यरत सबै कर्मचारीहरूलाई छाता संगठनको रूपमा ल्याउन पहल गर्नुपर्ने सुझाब दिए । उनले सबै पेसागत संगठनहरू एकजुट हुनुको विकल्प नरहेको बताउँदै आन्तरिक सुदृढीकरणमा जोड दिनुपर्ने विचार व्यक्त गरे ।


एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीले अहिले शिक्षक कर्मचारीहरूका माग राज्यले सुनिरहेको अवस्था नभएको उल्लेख गर्दै कहि कतैबाट विश्वास गर्ने बाटो नबनेको बताए । हालको सरकारले ट्रेड युनियन अधिकार खारेज गर्न खोजेर लगाम लाउन खोजेको उनको आरोप छ । साथै नेपाल शिक्षक महासङ्घलाई रिफर्म गर्नुपर्ने , महासङ्घको अध्यक्ष प्रत्यक्ष निर्वाचित हुनु पर्ने, विगतमा गरिएको आन्दोलनको समीक्षा गर्दै विद्यालय कर्मचारीहरूको महासङ्घ प्रति घट्दै गएको विश्वासको समीक्षा गर्नुपर्नेमा जोड् दिए ।


नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष हंस बहादुर शाहीले अहिलेको टालाटुली सरकारले केही गर्न नसक्ने बताउँदै पेसागत संगठनहरूले खबरदारी गर्न छोड्न नहुने धारणा व्यक्त गरे । उनले विद्यालय कर्मचारीहरूका मागका सवालमा संगठन लागिरहने बताउँदै विद्यालय कर्मचारीको घोषणा पत्र निर्माण गरी कार्यान्वयनमा जोड दिन सुझाब दिए ।


त्यसैगरी नेपाल शिक्षक महासङ्घका महासचिव तुला बहादुर थापाले शिक्षक कर्मचारीलाई राज्यबाट उपहास भएको बताए । उनले विद्यालय कर्मचारीका मागहरूका सन्दर्भमा बोल्दै राज्य पक्षले चासो नदिँदा नेपाल शिक्षक महासङ्घले मात्रै केही गर्न नसकेको र यस विषम अवस्थामा सबै कटिबद्ध भएर लाग्नु पर्नेमा जोड् दिए । साथै नेपाल शिक्षक महासङ्घलाई व्यवस्थित गर्न आवश्यक रहेको उनको भनाई थियो ।