शिक्षकलाई गाली मात्रै गरेर शिक्षामा गुणस्तर आउँदैन : शिक्षाविद् डा.गंगाराम गौतम

काठमाडौँ /१२ मंसिर – विद्यालय शिक्षाको मुटु भनेको कक्षाकोठा भित्र हुने शिक्षक र विद्यार्थीबिचको अन्तरक्रिया रहेको र उक्त अन्तरक्रियालाई सहजिकरण गर्ने पद्धति स्थापित गर्न नसकिएकोले विद्यालय शिक्षामा गुणस्तर ल्याउन नसकिएको शिक्षाविद् डा. गंगाराम गौतमले बताएका छन् ।


शिक्षकलाई, सरकारलाई र शिक्षा पद्धतिलाई मात्रै गाली गरेर शिक्षामा गुणस्तर नआउने बताउँदै शिक्षा पद्धतिमा समस्या रहेको उनको भनाई छ ।


कक्षाकोठामा अन्तरक्रिया गर्ने मुख्य पात्र भनेको शिक्षक रहेकोले शिक्षाको विषयमा बहस गर्दा त्यो शिक्षकलाई परिवर्तित समाज अनुसार कक्षाकोठाको अन्तरक्रिया प्रक्रियामा कसरी परिवर्तित कुराहरूलाई समाहित गर्न सकिन्छ भन्ने विषयमा जति सहयोग पु¥याउन सकिन्छ त्यति पु¥याउन नसकिएको दाबी गरे ।


उनले भने “शिक्षकलाई, सरकारलाई र शिक्षा पद्धतिलाई गाली गरिरहेका छौँ । तर राम्रो सँग विचार गरेर अहिले कक्षाकोठामा पढाई राख्ने शिक्षकहरूको अवस्था के छ ? उहाँहरूको योग्यताले कति गरिराखेको छ, त्यसमा नपुगेको कुरा के छ ? के गर्दीयो भने उहाँहरूले आफै राम्रो गर्न सक्नु हुन्छ ? भन्ने कुरामा सिस्टमको विकास गर्नुपर्ने हो त्यो भएको छैन ।”


शिक्षाविद् डा. गौतमले जसरी चिकित्सामा मेडिकल डाक्टरले बिरामीको उपचार गर्नका लागि नयाँ नयाँ औषधिक तथा पद्धतिको आविष्कार हुन्छ र त्यसलाई समात्नका लागि डाक्टर अपडेटेड हुनुपर्छ त्यसैगरी शिक्षकहरूलाई पनि शिक्षामा आएको परिवर्तन र प्रविधिलाई जोडेर गुणस्तरीय शिक्षा बनाउन अपडेट गर्नुपर्ने धारणा व्यक्त गरे ।


अहिलेको प्रक्रियामा शिक्षकलाई तालिम केन्द्रमा बोलाएर तालिम दिने र अब गएर पढाउनुस भन्ने चलनले शिक्षामा परिवर्तन गर्न नसकिने बताए । विद्यालय शिक्षामा देखिएको मुख्य समस्या भनेको शिक्षकलाई गुणस्तर सुनिश्चित गर्नका लागि काक्षाकोठा भित्र शिक्षक र विद्यार्थी बिचमा हुने अन्तरक्रियालाई सहजिकरण गर्ने पद्धति स्थापित नभएकोले समस्या आएको उनको भनाई छ ।