इलाम/१३ मंसिर – इलामको रोङ गाउँपालिकाले अभिभावकविहीन विद्यार्थीलाई हेस्टलको व्यवस्था सहित कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने भएको छ । अभिभावकविहीन विद्यार्थीहरूका लागि अभिभावकत्व ग्रहण कार्यक्रमको आयोजना गरी सो घोषणा गरेको हो ।
अभिभावकविहीन बालबालिकाको शैक्षिक सुविधा, स्वास्थ्य सुरक्षा र भविष्यमा अभिभावकको कमीले पार्ने मानसिक तथा सामाजिक प्रभावलाई न्यूनीकरण गर्ने लक्ष्यसहित कार्यक्रम कार्यान्वयनमा ल्याइएको पालिकाले जनाएको छ ।
अभिभावक नहुने विद्यार्थीको अभिभावकत्व स्थानीय सरकारले गर्ने र कोही पनि बालबालिका, असहाय विद्यार्थी छोराछोरीहरू कहिलै पनि अभिभावकविहीन नहोस भन्ने संकल्पका साथ कार्यक्रम ल्याइएको रोङ गाउँपालिका अध्यक्ष, मिन कुमार स्याङ्बोले बताए ।
पालिकाले अध्यक्षसँग विद्यार्थी कार्यक्रम अन्तर्गत अभिभावकविहीन विद्यार्थीको अभिभावक गाउँपालिका बनेर बस्ने, खाने लाउने व्यवस्था सहित कक्षा १२ सम्मको शिक्षा निःशुल्क दिने निर्णय गरेको स्याङ्बोले जानकारी दिए ।
यसका लागि कार्यविधि नै बनाएर कार्यान्वयनमा ल्याइएको बताउँदै उक्त कार्यविधिमा रु एक बचत कार्यक्रम, अभिभावकविहीन विद्यार्थी व्यवस्थापन सहयोग, उद्यमशीलतामा आधारित गतिविधि र प्रोत्साहन कार्यक्रम गरी चारवटा कार्यक्रम समावेश गरिएको बताए ।
यस अन्तर्गत अभिभावकविहीन विद्यार्थीका लागि स्वास्थ्य सुरक्षा अन्तर्गत ५ लाखसम्मको दुर्घटना बिमा, १ लाखसम्मको स्वास्थ्य बिमा गरिएको र उपचारका लागि लाग्ने अन्य आवश्यक खर्च कार्यपालिका मार्फत उपलब्ध गराईने छ ।
साथै होस्टल व्यवस्थापन नहुँदासम्म खाना बस्न हाललाई यथा स्थानमा सम्पूर्ण कुरा प्याकेजमा उपलब्ध गराईने र होस्टल व्यवस्थापन पश्चात् परिवारको स्वेच्छामा होस्टमा राखिने अध्यक्ष स्याङ्बोले बताए ।
अभिभावकविहीन विद्यार्थी सबैको बैक खाता प्राइम बैकमा खोलिएको र रोङ गाउँपालिकाको तर्फ बाट वार्षिक १० हजार र सिद्दी हाईड्रोपावर प्रालिको तर्फबाट एकपटकको लागि २० हजार गरि जम्मा ३० हजार तत्काल जम्मा गरिने उनको भनाई छ । उक्त बचतलाई सेयर बजारमा जोडि गुणात्मक वृद्धि गरिनेछ । अन्य दाताहरूलाई पालिकाले तोकिएको बैँक खातामा जम्मा गरि तोकिएको मापदण्डमा सबैको बैक खातामा जम्मा गरिने जानकारी दिए ।



