मोरङ/५ मंसिर – मोरङको जहदा–१ भुटाहाको श्री दुर्गा माध्यमिक विद्यालयमा अभिभावकहरूको उपस्थितिमा विद्यालय व्यवस्थापन समिति (विव्यस) चयनको कार्यक्रम निर्धारित भए पनि अन्तिम क्षणमा प्रक्रिया स्थगित गरिएपछि विद्यालय परिसरमा तनाब सिर्जना भएको छ ।
विद्यालयका प्राध्यापक (प्र.अ.) सन्तोष कुमार साहले जहदा गाउँपालिका शिक्षा अधिकृत दीपक खनालसँग मिलेमतोमा अभिभावकले पूर्ण बहुमतले समर्थन गर्न तयार रहेका नयाँ नेतृत्व चयन प्रक्रियालाई रोकिदिएको अभिभावकको आरोप छ ।
अभिभावकहरूले विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष दिनेश ठाकुरलाई पुनः अध्यक्ष बनाउन उद्देश्यपूर्वक चयन प्रक्रिया स्थगित गरिएको बताएका छन् । यसअघि समिति अध्यक्ष रहेका ठाकुरलाई फेरी अध्यक्ष बनाउन प्र.अ. र शिक्षा अधिकृत मिलेको अभिभावकको आरोप छ ।
विद्यालय व्यवस्थापन चयन प्रक्रियामा हस्तक्षेप गरिएको भन्दै आक्रोशित अभिभावकहरूले प्र.अ. साहको विरोध जनाउँदै हातपात गर्न प्रयास गरे पनि सुरक्षाकर्मी प्रहरीले तत्काल नियन्त्रणमा लिएर सम्भावित झडप रोक्न सफल भएको छ ।
अभिभावकहरूले विद्यालय प्रशासनमा गम्भीर अनियमितता भइरहेको दाबी गर्दै विद्यालयकी लेखापाल आरती कुमारी ठाकुर पूर्व अध्यक्ष दिनेश ठाकुरको पत्नी भएकाले प्र.अ.–लेखापाल–अध्यक्ष तिनै पक्षको मिलेमतोमा “लाखौँ रुपैयाँको भ्रष्टाचार” हुँदै आएको आरोप लगाएका छन् । दिवा खाजाबाट समेत निरन्तर आर्थिक अनियमितता भइरहेको उनीहरूको दाबी छ ।
अभिभावकहरूले विद्यालयमा शिक्षा सुधार, पारदर्शिता, र जवाफदेहिताको माग गर्दै स्थगित प्रक्रिया पुनः सुरु गरी निष्पक्ष रूपमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।



