राष्ट्रिय व्यवसायिक योग्यता प्रारुप : व्यक्तिले हासिल गरेको दक्षतालाई प्रमाणीकरण गरीने

काठमाडौँ /१ मंसिर – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालको राष्ट्रिय व्यवसायिक योग्यता प्रारुप सार्वजनिक गरेको छ । व्यक्तिले हासिल गरेका योग्यता र श्रम बजारबिचको सम्बन्ध स्थापित गर्नु, व्यक्तिले हासिल गरेका पूर्व ज्ञान तथा सिप परीक्षण तथा प्रमाणीकरण गर्नु र विभिन्न धारका शैक्षिक योग्यताहरूबिच गतिशीलता तथा पारगम्यताको अवस्था सिर्जना गर्न प्रारुप ल्याइएको मन्त्रालयले जनाएको छ ।


प्रारुपले साधारण शिक्षा तथा प्राविधिक शिक्षा र व्यावसायिक तालिमसँग सम्बन्धित शैक्षिक योग्यता र यसको मान्यतासम्बन्धी मुद्दालाई समाधान गर्न सहयोग गर्ने साथै राष्ट्रिय योग्यता प्रारूपको व्यवस्थाले शैक्षिक योग्यताप्रतिको बुझाइमा पनि समानता ल्याउने अपेक्षा रहेको मन्त्रालयको भनाई छ ।


“राष्ट्रिय योग्यता प्रारूपले श्रम बजारका लागि आवश्यक ज्ञान, सिप तथा दक्षतासहितको जनशक्तिको आवश्यकताहरूलाई सम्बोधन गर्ने छ । यसले तालिम प्रदायकरशिक्षण संस्थाहरूलाई मापदण्डमा आधारित शैक्षिक योग्यताको गुणस्तर कायम गर्न थप प्रोत्साहित गर्दछ । प्रारूपको प्रभावकारी कार्यान्वयनबाट शैक्षिक योग्यताका प्रत्येक तहले अपेक्षा गरेको सिकाइ दक्षता सुनिश्चित गर्न सकिने हुन्छ ” प्रारुपमा उल्लेख छ ।


साथै एक धार वा तहको शैक्षिक योग्यताबाट अर्को धार वा तहको शैक्षिक योग्यता हासिल गर्ने अवसर प्रदान गर्ने जनाइएको छ ।


योग्यता प्रारूपको कार्यान्वयनबाट औपचारिक, अनौपचारिक वा अरीतिकजस्ता जुनसुकै सिकाइको माध्यमबाट हासिल गरेको ज्ञान, सिप एवम् दक्षतालाई परीक्षण तथा प्रमाणीकरण गरी मान्यता प्रदान गर्ने र व्यक्तिले आजीवन सिकाइ गरी आफ्नो योग्यताको प्रमाणपत्र पाउने अवसर प्राप्त गर्ने छ ।

हेर्नुहोस प्रारुप