काठमाडौँ /२ मंसिर – कालीकोटको नरहरिनाथ गाउँपालिका ७ मा रहेको श्री रुपादेवी माध्यमिक विद्यालयले गणित शिक्षक नियुक्तिका लागि १८ औँ पटकसम्म विज्ञापन गर्दा पनि आवेदन नपरेपछि १९ औँ पटक आवेदन माग गरेको छ । गत चैत २७ गतेदेखि खाली भएको उक्त शिक्षक पदका लागि १९ औँ पटकसम्म आवेदन माग गरेको हो ।
विद्यालयले मावि तह सङ्घीय अनुदान गणित विषय कोटाका लागि मागेको छ । अध्यापन अनुमतिपत्र अनिवार्य गर्दा १८ औँ पटकसम्म एउटा पनि आवेदन नपरेको विद्यालयले जनाएको छ ।
सङ्घीय शिक्षण सिकाई अनुदान कार्यविधि २०८१ अनुसार अध्यापन अनुमतिपत्र अनिवार्य गर्दा अध्यापन अनुमतिपत्र भएको व्यक्ति सम्पर्क मै नआएको विद्यालयका प्रधानाध्यापक दान बहादुर बुढाले बताए । अध्यापन अनुमतिपत्र नभएका सम्पर्कमा आएपनि राख्न नमिल्ने व्यवस्थाले शिक्षक पाउन कठिन भएको उनको भनाई छ ।
उनले भने “१८ औँ पटकसम्म विज्ञापन गर्दा सम्पर्कमा कोही आएनन् त्यसपछि १९ औँ पटक विज्ञापन गरेका हौँ । सम्पर्कमा आएकाको अध्यापन अनुमतिपत्र छैन । धेरैले यत्रो विज्ञापन गर्दा पनि कोही नआएपछि अध्यापन अनुमतिपत्र नभएको पनि राख्न मिल्छ होला भन्नु हुन्छ । तर राख्न मिल्दैन ।”
गत चैतमा प्रावि तहमा स्थायी भएर गणित शिक्षक गएपछि बालबालिकाको पढाईलाई असर नपरोस भनेर अध्यापन अनुमति पत्र नभएका एकजना गणित शिक्षक निजि स्रोतबाट राखेर पठनपाठन गर्दै आएको बुढाले बताए ।
१९ औँ पटक प्रकाशित गरिएको विज्ञापनमा आवेदन दिने अन्तिम समय मंसिर ८ गतेसम्मलाई तोकिएको छ ।




