छात्रवृत्ति, दिवाखाजा र पाठ्यपुस्तकको रकम हिनामिना गर्ने प्रअ विरुद्ध मुद्दा

काठमाडौँ /१ मंसिर – अख्तियार अनुसन्धान आयोगले छात्रवृत्ति, दिवाखाजा र पाठ्यपुस्तकको रकम हिनामिना गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक विरुद्ध मुद्दा दायर गरेको छ । कपिलवस्तु, विश्वमैत्री आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा थारू र प्रधानाध्यापक विश्वम्भर रैदास विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।


उनिहरूले विद्यालयको लागि आ।ब। २०७८/७९ मा कपिलवस्तु नगरपालिकाबाट छात्रवृत्तिका लागि प्राप्त रकम ५१,६०० कुनै पनि विद्यार्थीलाई नदिएको पाइएको हो ।


यसैगरी दिवा खाजाका लागि २,४७,०५० रकम मध्ये ९,९०० रकम बराबरको उक्त विद्यालयमा कक्षा ६ मा अध्ययनरत ३ जना विद्यार्थीहरूलाई विद्यालयमा नै खाजा खुवाई बाँकी रहेको २,३७,१५० रकमको दिवा खाजा नखुवाएको आयोगको आरोप छ ।

पाठ्यपुस्तक शीर्षकमा निकासा भएको रकममा १,१६,७२९। मध्ये जम्मा १,७६४।४ रकम बराबरको पाठ्यपुस्तक खरिद गरी जम्मा ३ जना विद्यार्थीहरूलाई वितरण गरेको सोको बाँकी रकम १,१४,९६५।८ बराबरको वितरण नगरेको आयोगले जनाएको छ ।
साथै सामाजिक सुरक्षा करबापतको ३९,७१४।९५ गरी चार लाख त्रिचालिस हजार चार सय तीस रुपैयाँ पचहत्तर पैसा रकम सम्बन्धित काममा खर्च नगरी खाईमासी हिनामिना गरेको आयोगले जनाएको छ ।


उनिहरू विरुद्ध हिनामिना, हानिनोक्सानी एंव दुरुपयोग गरेको बिगोसमेत असुल उपर हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ ।