काठमाडौँ /१९ कार्तिक – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रालय र अन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी पुर्नसंरचना गर्ने भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र अन्तर्गतका निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने कार्तिक १७ गते बसेको मन्त्रीपरिषद्को निर्णयसँगै सो बाटो खुलेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालय स्रोतका अनुसार शिक्षा मन्त्रालय र विज्ञान प्रविधिलाई छुट्टा–छुट्टै मन्त्रालय नाउने बाटो खुलेको जनाएको छ । अब बन्ने नयाँ मन्त्रालयको नाम विज्ञान, प्रविधि तथा नवप्रवर्तन हुन सक्ने स्रोतको भनाई छ ।
यस सन्दर्भमा असोज २९ गते शिक्षामन्त्री महावीर पुनले विज्ञान तथा प्रविधि मन्त्रालयलाई शिक्षा मन्त्रालयबाट हटाएर छुट्टै मन्त्रालय बनाउने गरी छलफल अगाडी बढाएको जानकारी दिएका थिए । उनले विज्ञान प्रविधि, नवप्रवर्तन, सूचना प्रविधि, जल तथा मौसम विज्ञान सम्बन्धी कामहरू सोही मन्त्रालय मार्फत गर्ने गरी छलफल भएको बताएका थिए ।
यसैगरी मन्त्रीपरिषद्को उक्त निर्णयसँगै शिक्षा मन्त्रालय भित्रका शाखा, महाशाखालाई पनि व्यवस्थापन सर्वेक्षण गरी छाँटकाँट गर्न सकिने बाटो खुला भएको जनाइएको छ । विज्ञान प्रविधिलाई छुट्याए पछि कति शाखा तथा महाशाखा आवश्यक हुन्छ, कुन शाखा महाशाखाले कुन कुन क्षेत्र हेर्ने छलफल हुने स्रोतले बतायो ।



