सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन ईष्टुको माग

काठमाडौँ /१८ भदौ – संस्थागत विद्यालय शिक्षक युनियन (इष्टु)ले निजी लगानीका विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनु पर्ने माग गरेको छ । समितिले पारित गरेको प्रतिवेदनको १५२ को २ मा यो व्यवस्था गर्न लागिएपनि सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने विषयको विरोध भईरहेको उल्लेख गर्दै यो प्रावधान नहटाउन विज्ञप्ति मार्फत चेतावनी दिएको छ ।


यसैगरी विधेयकमा विद्यालयका शिक्षक तथा कर्मचारीलाई नियुक्ति, पारिश्रमिक र सेवा सर्त सम्बन्धीको व्यवस्था स्थानीय तहको विनियम अनुसार हुने भनिएकोले स्थानीय तहले फरक फरक कानुन बनाउने हुँदा शिक्षा नियमावलीमा व्यवस्था भएअनुसार वा राष्ट्रिय मापदण्डमा व्यवस्था भए बमोजिम हुनु पर्नेछ भन्ने शब्द राख्न ईष्टुको माग रहेको छ ।


निजी सञ्चालकहरू छात्रवृत्ति दिनबाट पन्छिन नमिल्ले बतउँदै पूर्ण छात्रवृत्तिका नाममा आफूले उत्पादन नै नगरेको सामग्रीहरू पनि छात्रवृत्तिमा दिनुपर्छ भन्नु ठिक नभएको जनाएको छ । साथै गैरनाफा मूलकका सन्दर्भमा लगानीकर्ताले मुनाफा खोज्ने उल्लेख गर्दै सम्बन्धीत निकायसँग छलफल गरेर सरकारले लगानीको प्रतिफल कति हुने र कसरी व्यवस्थित गर्ने विषयमा टुङ्गो लगाउन आवश्यक रहेको ईष्टुको भनाई छ ।