काठमाडौँ /१८ भदौ – आसन्न विद्यालय शिक्षा विधेयकले संविधान प्रदत्त सामाजिक न्याय र समतामूलक सिद्धान्तको मर्मलाई समेट्न नसकेको भन्दै शिक्षविद्हरूले राष्ट्रपति रामचन्द्र पौडेलको ध्यानाकर्षण गराएका छन् । विधेयकले खास सैद्धान्तिक वा वैचारिक आधार नसमाएको र अग्रगामी नभएको ठहर छ ।
भएका एकाध प्रावधानहरू पनि आखिरी अवस्थामा उल्ट्याउने दुष्प्रयत्न हुँदै गरेको विषय सार्वजनिक भएकोले संविधान र त्यसको मर्म संरक्षकको हैसियतले राष्ट्रपतिको ध्यानाकर्षण गराएको जनाइएको छ ।
सर्वसाधारणका छोराछोरी पढ्ने विद्यालयमा गतिला शिक्षक भित्र्याउनु राज्यको दायित्व रहेको र असक्षम शिक्षकहरूलाई आन्तरिक प्रतिस्पर्धाबाट मात्रै स्थायी बनाउनु राज्य स्रोतको दोहन मात्रै नभई सर्वसाधारण अभिभावक र तिनका छोराछोरीलाई राज्यले ठग्नु रहेको पत्रमा उल्लेख छ । सार्वजनिक विद्यालयमा आन्तरिकबाट बढीमा ६० प्रतिशत र बाह्य प्रतिस्पर्धाबाट ४० प्रतिशत नै शिक्षक छानिनु पर्ने विज्ञहरूको भनाई छ ।
यसैगरी विधेयक निःशुल्क तथा अनिवार्य शिक्षा विधेयक ऐन २०७५ सँग पनि बाझ्ने, निजी र सार्वजनिक विद्यालय सहअस्तित्वका साथ अगाडी बढ्न सक्ने तर पहिलाको दुष्प्रभाव दोस्रोमा नपर्ने गरी व्यवस्थापन गर्ने ढाँचाहरू खोज्नुपर्ने, ढाँचाहरू खोज्ने र प्रयोग गर्ने बाटो विधेयकले बन्द गर्न नहुने पत्रमा उल्लेख छ ।
ध्यानाकर्षण पत्रमा भनिएको छ “विधेयकमा धेरै विरोधाभासहरू छन् । तिनलाई सच्याउनुपर्छ, जस्तै निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाउँदै लगिने भनेपछि फेरि नयाँ खोलिने निजी विद्यालय कम्पनी अन्तर्गत पनि खोल्न पाउने भन्ने कुरा पहिला दृष्टिमै मेल खाँदैन । यदि निजी विद्यालयलाई कम्पनी अन्तर्गत नै कायम राख्ने हो भने निजी कम्पनी अन्तर्गत दर्ता भएका विद्यालयहरूले राज्यको कम्पनी ऐन अन्तर्गत सञ्चालित हुनुपर्दछ, जस्तै कर तिर्नुपर्दछ, पारदर्शी ढंगले लेखा परीक्षण गराउनु पर्दछ, शैक्षिक संस्थाले पाउने कर छुट माग गर्न मिल्दैन । कम्पनी अन्तर्गत दर्ता भएका अन्य संस्था जस्तै सामाजिक उत्तरदायित्व पनि बहन गर्नुपर्दछ ।”
नेपालमा बहुसङ्ख्यक बालबालिका बहुभाषिक भएकोले यो अवस्थामा शिक्षणको माध्यम यो अथवा त्यो भाषा भन्न नमिल्ने शिक्षणको माध्यम बहुभाषिक हुनुपर्नेमा उनिहरूले जोड् दिएका छन् ।
केदारभक्त माथेमा, प्रा।डा। विद्यानाथ कोइराला, प्रा।डा। सुशना आचार्य लगायतका शिक्षविदहरूले मंगलबार राष्ट्रपतिलाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।



