काठमडौ/७ भदौ – प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन’ पेस भएको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले विद्यालय शिक्षा विधेयक, २०८० को प्रतिवेदन’ पेस गरेका हुन् ।
शिक्षा विधेयकमा समितिले ६० अङ्क शिक्षक आफैँले दिन सक्नेगरी व्यवस्था गरिएको छ । विद्यालयका कर्मचारीको तलब सम्बन्धित स्थानीय तहले बनाएको कानुनअनुसार हुनेगरी निर्धारण गरिएको छ । यस्तो तलब सङ्घीय कानुनले तोकेको न्यूनतम् पारिश्रमिक भन्दा कम नहुने व्यवस्था मिलाइएको सभापति थापाले जानकारी दिए ।
यसैगरी विद्यालय शिक्षा विधेयमा भने क्रमशः गैर नाफामूलक बनाउने र उपलब्ध गराउने छात्रवृत्तिमा ५० प्रतिशत जेहेन्दार, ५० प्रतिशत गरिब तथा विपन्न विद्यार्थीलाई उपलब्ध गराउने व्यवस्था गरेको छ ।
प्याब्सन, एनप्याब्सन र हिसान लगायत निजी विद्यालयहरुले जारी गरिने नयाँ शिक्षा ऐनमा निजि विद्यालयले १५ प्रतिशतसम्मको पूर्ण छात्रवृत्ति दिनुपर्ने व्यवस्था र निजी सञ्चालकमा रहेका विद्यालयलाई गैर–नाफामूलक लगायतका व्यवस्था नराख्न माग गर्दै निरन्तर सडकमा आन्दोलन गरिरहेका छन् । घोषाण गरिको आन्दोलनका कार्यक्रम अनुसार २०८२ भाद्र ८ गते निर्णायक आन्दोलनमा प्रवेश गर्ने जनाइएको छ ।
साथै नेपाल शिक्षक महासंघले पनि सहमति अनुसार शिक्षकहरुका माग समावेश नगरी विधेयकको प्रतिवेदन संसदमा पेस गरिएको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
महासंघले पहिलो चरणका आन्दोलनका कार्यक्रम अन्तर्गत भाद्र ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकको ध्यानाकर्षण पत्र पेश गर्ने, भाद्र ११ गतेदखि २० गतेसम्म सबै राजनीतिक पार्टीका कार्यालयहरुमा ध्यानाकर्षण पत्र बुझाउने र त्यही ३ घण्टा प्रतिनिधिमूलक धर्ना गर्ने, भाद्र १३ गते शुक्रबार सबै पालिकामा र भाद्र १५ गते आइतबार सबै जिल्लाका समन्वय एकाइमा प्रतिनिधिमूलक उपस्थितिमा ध्यानाकर्षण पत्र बुझाउने र १ घण्टा धर्ना दिने, भाद्र २१ गते दोस्रो चरणका कार्यक्रम सार्वजनिक गर्ने र यो चरणमा अवरोधात्मक, विरोध प्रदर्शन लगायतका कडा कार्यक्रम ल्याइने जनाएको छ ।



