शिक्षा विधेयक निजी विद्यालयको हित विपरीत रहेको भन्दै थप आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं /८ भदौँ – संसदमा पेश गरिएको विद्यालय शिक्षा विधेयक निजी विद्यालय हित विपरीत रहेको भन्दै थप आन्दोलनका कार्यक्रम घोषणा गरिएको छ ।


शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिबाट पारित भएको शिक्षा विधेयकमा कतिपय प्रावधानहरू निजी विद्यालय हित विपरीत रहेको र सो सन्दर्भमा प्याब्सन, नेशनल प्याब्सन, हिसान र अपेनले संयुक्त आन्दोलनका कार्यक्रमहरू घोषणा गरेका थिए ।


पहिलो चरणका आन्दोलनमा सरकारले कुनै सुनुवाइ नगरेपछि थप आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन । ‘आन्दोलनका कार्यक्रम, र्‍याली गर्दा गर्दै शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिले जस्ताको तस्तै प्रस्तावित विधेयक संसदमा छलफलका लागि पेस गरेकोले थप सशक्त रूपमा दोस्रो चरणको आन्दोलनका कार्यक्रमहरू तय भएको कुरा अनुरोध छ’ विज्ञप्तिमा भनिएको छ । साथै अब हुने आन्दोलनका कार्यक्रमहरूमा शिक्षासँग सरोकार राख्ने सबै सङ्घ– सङ्गठनहरूलाई समेटी सहकार्य गरिने जनइएको छ ।


प्याब्सन, एनप्याब्सन र हिसान लगायत निजी विद्यालयहरूले जारी गरिने नयाँ शिक्षा ऐनमा निजि विद्यालयले १५ प्रतिशतसम्मको पूर्ण छात्रवृत्ति दिनुपर्ने व्यवस्था र निजी सञ्चालकमा रहेका विद्यालयलाई गैर–नाफामूलक लगायतका व्यवस्था नराख्न माग रहेको छ ।


संयुक्त आन्दोलनका कार्यक्रमहरूमा भाद्र ९ गते केन्द्रमा प्रतिनिधिसभा अगाडि प्रदेशमा प्रदेश सभा अगाडि प्रदर्शन गर्ने, ११ गते हरेक जिल्ला सदरमुकाममा सर्वपक्ष उपस्थिति गराई विषयमा अन्तरक्रिया गर्ने र उपत्यकामा बृहत् अन्तरक्रिया राख्ने, भाद्र १२ गते विद्यालय बन्द हुनेसम्मको अल्टिमेटम दिएर सबै सिडिओ कार्यालय अगाडी कोणसभा गर्ने र जानकारी पत्र दिने रहेका छन् ।