शिक्षा समितिमा सरकारको प्रस्ताव : निजी विद्यालयले दिने पूर्ण छात्रवृत्ति नियमावलीमा राखौँ

काठमाडौँ /२ भदौँ -शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले निजी विद्यालयको पूर्ण छात्रवृत्तिको सवालमा ऐनमा नराखी नियमावलीमा राखेर जानु पर्ने प्रस्ताव राखेका छन् । सोमवार बसेको प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले मन्त्रालयलाई विश्वास गर्न आग्रह गर्दै सो प्रस्ताव राखेका हुन् ।

सरकारको दायित्व भनेको मूल रूपमा अनिवार्य तथा निःशुल्क शिक्षालाई कार्यान्वयन गर्न भएपनि हाम्रो संविधानले तीन खम्बे अर्थ नीति लिएको, गुठीका विद्यालय पनि रहेको, शिक्षा नीति बनाउँदा १२ कक्षा सम्म निःशुल्क तथा अनिवार्य शिक्षा पनि भनिएको, सार्वजनिक सामुदायिक विद्यालय रहेको बताउँदै उनिहरूको भूमिकालाई विकासको पाटोमा भूमिका दिएर अगाडी जानु पर्ने बताए ।

उनले भने “हाम्रो कानुनले नै छुट दिएर निजी विद्यालय सञ्चालनमा छन्, त्यसलाई सरकारले कडाइका साथ नियमन गर्नुपर्छ । तर यसो भन्दै गर्दा घाटीनै थिचेर अगाडी बढ्नुपर्छ भन्ने हुन्न ।”