काठमाडौँ /२६ साउन – हिसानका अध्यक्ष रमेश सिलवालले सरकारले सरकारी, निजि, स्वदेश विदेशको लगानीमा समेत विभेद गरेको बताएका छन् । बन्दै गरेको शिक्षा ऐन प्रति संकेत गर्दै सरकारले निजी क्षेत्रलाई बेवास्ता गरेको र चर्को कर लिएर पनि योजना, नीति भने केही बनाएको बताएका हुन् ।
खबर एजुकेशनले आयोजना र लिबर्टी कलेजको सहयोगमा उच्च शिक्षामा तत्काल देखिएका समस्या समाधानका उपाय सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै निजी शिक्षा क्षेत्रले १३५ देखि १४३ प्रतिशतसम्म कर तिर्ने गरेको, साइनबोर्डकै चार लाख लिने गरेको र निजि क्षेत्रका लगानीका शिक्षालयहरूले घर भाडामा लिनुपरेमा घरभाडा कर समेत तिर्नुपरेको उल्लेख गर्दै विभेद गरेको बताए ।
उनले भने “सरकारलाई शिक्षाक्षेत्रले १३५ देखि १४३ प्रतिशतसम्म कर तिर्छ, शिक्षा मात्र यस्तो क्षेत्र हो, आज १२ वर्षदेखि लक्ष्य भन्दा बढी राजस्व उठाउने क्षेत्र शिक्षा मात्रै हो । साइनबोर्डकै चार लाख लिन्छ । सरकारले सरकारी, निजि, स्वदेश विदेशको लगानीमा समेत विभेद गरेको छ । नेपाली निजि क्षेत्रले ७० हजार र विदेशीले १२ हजार तिरे पुग्छ । निजि क्षेत्रका लगानीका शिक्षालयहरूले घर भाडामा लिनुपरेमा घरभाडा कर समेत तिर्नुपर्छ तर योजना, नीति भने केही बनाउँदैन ।”
सिलवालले अहिले बनाएको शिक्षा ऐन शिक्षा ऐन नभएको तर्क गर्दै शिक्षक नीति मात्र होइन, शिक्षा नीति ल्याएर नेपालको शिक्षा ५ वर्षमा, १० वर्षमा कहाँ पु¥याउने भन्नेसम्मका योजना बनाउन आवश्यक रहेको बताए । ” के तपाईहरूले बनाउनु भएको शिक्षा ऐन शिक्षा ऐन हो ? त्यो शिक्षक ऐन हो । कसले भन्छ शिक्षा ऐन ? शिक्षाको खोइ नीति, शिक्षालाई ५ वर्षपछि कहाँ पु¥याउने, १० वर्ष कहाँ पु¥याउने, २५ वर्ष कहाँ पु¥याउने ? यो सवाल शिक्षा ऐनको प्रारम्भमा कहाँ उल्लेख छ मलाई देखाईदिनुस त । सबै मुद्दा शिक्षकको छ, अहिले प्राविधिक रूपमा अडिरनु भएको छ” उनले भने ।
निजी क्षेत्रले शिक्षा ऐन रोके भनेर अनाहकमा आरोप लाग्ने गरेको बताउँदै हामीलाई पनि शिक्षा ऐन चाहिने र सबैले दीपावली गर्ने शिक्षा ऐन ल्याउन सभापतिसँग आग्रह गरे । निजी क्षेत्र ढल्यो भने तत्कालको स्थितिमा शिक्षा क्षेत्र ढल्ने सिलवालको दाबी छ । यसलाई पनि संरक्षण गर्नुपर्ने, फैलावट बनाउने बाटो खोज्नु पर्ने, विदेशी विद्यार्थी ल्याउने कसरी भन्ने पक्षमा सोच्नु पर्ने उनको भनाई छ ।
छात्रवृत्तिको सन्दर्भमा बोल्दै कपडा अर्कोले सिलाउने, पुस्तक अर्कोले छाप्ने, होस्टल निःशुल्क हुनुपर्ने र बस भाडा दिनुपर्नै तर त्यो सबै विद्यालय वा कलेजले हालीदिनुपर्ने विषय संसारमा नभएको अनौठो रहेको सिलवालको भनाई छ । सिलवालले किन शिक्षामा लागिएछ रक्सी पसल खोलेको भए नाफा पनि बढी थियो भन्ने खालको पनि साथीहरूका यदाकदा उत्पन्न भएको बताए ।
यसैगरी उच्च शिक्षाको सन्दर्भमा बोल्दै सरकारले विभेद गरेको र कुनै पनि शिक्षामन्त्रीसँग नेपालका विश्वविद्यालयलाई कसरी बलियो बनाउने सोच र दृष्टिकोण नभएको आरोप लगाए । सरकारले सरकारी, निजि, स्वदेश विदेशको लगानीमा समेत विभेद गरेको उनको भनाई छ । नेपालमा सम्बन्धन लिन मात्रै चर्को शुल्क लिने गरेको तर विदेशी विश्वविद्यालयबाट सम्बन्धन लिन १२ हजार भए पुग्ने प्रावधान विभेदकारी रहेको बताए । डलरमा पैसा लिनेको १२ हजार र गरिबका छोराछोरीबाट पैसा लिनेलाई ७० हजारसम्म लिने गरेको उल्लेख गर्दै यसबारेका कुनै शिक्षामन्त्री नबोलेको सिलवालको भनाई छ ।
सिलवालले नेपालको शिक्षा प्रणाली सुधारका लागि यहाँको स्कुल भर्नादेखि उच्च शिक्षासम्मको यात्रा तय गर्ने विद्यार्थीबारे अध्ययन गर्न जरुरी रहेको सुझाब दिए । सरकारी विश्वविद्यालय सुधारका लागि हरेक वर्ष १२ वटा विश्वविद्यालयहरूमा भौतिक सुधार गर्दै लगे विस्तारै सुधार पनि गर्न सकिने तर्क राख्दै नेपालको पाठ्यक्रम ठीक भएन भनेर जनवादी शिक्षा भनेर रटान लाउनेहरूले पनि जनवादी शिक्षा यस्तो हुन्छ भनेर नमुना पाठ्यक्रम पनि तयार गरेर देखाउन नसकेको बताए ।
पछिल्लो समय नेपालमा पढ्ने र नपढने पछुताउने गरेको भन्दै उनले भने “घोकेर, कण्ठ गरी सैद्धान्तिक शिक्षा लिएकाहरूलाई त्यो शिक्षा व्यवहारमा कतै लागु नभएर पछुतो हुने र पढ्न छोडेकाहरूलाई उसले सक्थ्यो भने त मैले नि घोकेरै पनि पास त गर्न सक्थेँ कि भनेर दुवैथरी पछुताउँछन् । अहिले कक्षा १२ का विद्यार्थीलाई २ विषयको मात्र मौका परीक्षा दिन पाइने रे । मौका परीक्षा भनेपछि जत्ति विषयमा फेल भएपनि जाँच त दिने अवसर दिनुप¥यो नि ।”
विश्वविद्यालयमा ताला लगाउने विरोध गर्ने शैलीको अन्त्य हुनुपर्ने, विश्वविद्यालयमा आउने समस्या समाधान गर्नका लागि स्थायी वार्ता समिति नै बनाउनु पर्ने, विद्यार्थीहरूलाई सरकारी, नीति क्षेत्रले खोलेका कम्पनीलगायत विभिन्न क्षेत्रमा इन्टर्नको रूपमा राख्ने नीति बनाएर इन्टरप्रेनरसिपको विकास गर्नुपर्ने लगायतका सुझाब दिँदै विश्वविद्यालयमा हुने राजनीतिक चलखेलका कारण निम्तिएको विवादले नेपाली विद्यार्थीले स्वदेशमा पढ्न नपाउने र पढेपछि काम गर्न नपाउने वातावरणमा विदेश जानबाट रोक्न नसकिने बताए ।
साथै नेपालका विश्वविद्यालयहरूले विद्यार्थीहरूलाई न्यूनतम सुविधा पनि दिन नसकेको तर निजिले त्यो व्यवस्था गर्दा पनि यहाँको पाठ्यक्रम, बजारको आवश्यकता नमिल्दा विद्यार्थीलाई नेपालमा राख्न नसकिएको बताए ।



