काठमाडौँ /२५ साउन – नेकपा एमालेकी सांसद तथा पूर्व शिक्षामन्त्री विद्या भट्टराईले उच्च शिक्षा क्षेत्रको सुधारका लागि उच्च शिक्षा मापदण्ड बनाएर सबै विश्वविद्यालयलाई अनुगमन, नियमन गर्दै विश्वविद्यालयहरूलाई दलीय प्रभावबाट मुक्त राख्नुपर्ने बताएकी छन् ।
खबर एजुकेशनको आयोजना तथा लिबर्टी कलेजको सहयोमा उच्च शिक्षामा तत्काल देखिएका समस्या समाधानका उपाय सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै सो कुरा बताएकी हुन् ।
उनले विश्वविद्यालयमा हुने गतिविधि नियमन, अनुगमन गर्न उच्चशिक्षा मापदण्ड बनाउन आवश्यक रहेको उल्लेख गर्दै नेपालको उच्चशिक्षाको स्तर राम्रो बनाउन र नेपाली विद्यार्थी बाहिर पढ्न जान प्रेरित गर्ने शिक्षा क्षेत्रका अन्तरराष्ट्रिय परामर्शदाताहरूको समेत नियमन गर्ने कोसिस गरे पनि आफू सफल हुन नसकेको बताएकी छन् ।
यसै सन्दर्भमा उनले भनिने “सरकार, मन्त्री कुनै जादुको छडी होइन, त्यस्तो मान्ने र सबै समस्या तुरुन्तै समाधान हुन्छ । मन्त्रीले गर्नुपर्छ भन्ने भ्रम पाल्न हुन्न । म लगायत कुनै पनि मन्त्री वा जिम्मेवार पदमा रहेर सुधारको काम गर्छु भन्नेलाई सहयोग गर्नुप¥यो, खुट्टा तान्ने कामै गर्न नदिने, मानहानिको मुद्दा समेत खेप्नुपर्ने स्थितिले शिक्षा क्षेत्रमा सुधार ल्याउन समस्या छ ।”
व्यक्ति फेरिने बित्तिकै प्रणाली फेरिने, एकले ल्याएको नियम अर्कोले निरन्तरता नदिने प्रवृत्तिको अन्त्य हुन आवश्यक रहेको र राम्रो हुने नियम जसले ल्याए पनि मान्ने गरी प्रणालीमा परिणत हुन आवश्यक रहेको बताइन ।
भट्टराईले आफू शिक्षा मन्त्री हुँदा उच्च शिक्षा सुधारका लागि लागेको बताउँदै आफूले शहीद दशरथ चन्द विश्वविद्यालयको ऐन अगाडि बढाएको उल्लेख गर्दै विश्वविद्यालयहरू स्वायत्त भएकै कारणले विश्वविद्यालयहरूका छुट्टा–छुट्टै ऐन हुने बताइन । विश्वविद्यालयको एउटै ऐन अहिलेसम्म नबनाएको उल्लेख गर्दै विश्वविद्यालयलाई स्वायत्त बनाउनु पर्छ भनेर छुट्टा–छुट्टै ऐन बनाएको प्रस्ट पारीन ।
यसैगरी पछिल्लो समय नेपालमा ३५ वर्षको उमेरसम्म विदेश नगए बर्वाद हुने मानसिकताको विकास भएको र यसलाई परिवर्तन गर्न तथा उच्चशिक्षाको विकासका लागि शैक्षिक क्यालेन्डर बनाएर त्यसको पूर्ण कार्यान्वयन गर्नुपर्ने, समयमा पढाई, परीक्षा लिने र नतिजा निकाल्ने गर्नुपर्ने, २०, ५० वर्ष अगाडिका शिक्षा नीति, ऐन संशोधन हुनुपर्ने, विद्यालयस्तरको पढाई सकेपछि विद्यार्थीले के पढ्ने भन्ने विषयमा राम्रो परामर्श दिन सक्नुपर्ने बताइन ।
उच्चशिक्षा केका लागि दिइरहेका छौँ, भन्ने कुरामा विश्वविद्यालय परिवार नै सचेत र विद्यार्थीलाई बुझाउने क्षमता राख्नुपर्ने धारणा व्यक्त गर्दै पढाइएका कुरा मात्र होइन, पढिसकेपछि छनौट गर्न सकिने क्षेत्रबारे पनि विद्यार्थीलाई सुझाव सल्लाह दिन सक्नुपर्नेमा जोड् दिइन ।
साथै नेपाली समाजमा पुस्ता–पुस्ता बीचको अन्तर्विरोध पनि बढिरहेको बताउँदै विश्वविद्यालयमा शिक्षक, विद्यार्थीबिचको अन्तरपुस्ता विरोध वा समस्याको पनि अन्वेषण गर्न आवश्यक रहेको उनको भनाई छ ।
विश्वविद्यालयमा एमफिल र मास्टर लेबलको अध्ययन गर्ने क्रममा थेसिस बनाउँदा गरेका राम्रा अध्ययन, अनुसन्धानलाई दराजमा थन्काउनु भन्दा पुस्तकका रूपमा प्रकाशन गर्न सकिए देशलाई आवश्यक धेरै विषयहरूको उजागर हुने भट्टराईले बताइन ।
यसैगरी संविधानमा निःशुल्क तथा अनिवार्य शिक्षा भनिएपनि व्यवहारमा लागु नभएको बताउँदै संविधानको पूर्ण कार्यान्वयन नै गर्ने हो भने माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुनुपर्ने नत्र संविधानमा लेखिएको कुरा लागु नहुने भए संविधान संशोधन हुनुपर्नेमा जोड् दिइन ।



