विद्यालयदेखि उच्चशिक्षालाई लयबद्ध बनाउन राम्रो नीति ल्याउन आवश्यक छ : महर

काठमाडौं/२५ साउन – उच्चशिक्षाको अवस्था सुधार्न नेपालको राजनीतिक नेतृत्व पहिले सुध्रिन आवश्यक रहेको नेपाली काँग्रेसका शिक्षा विभाग प्रमुख नैनसिंह महरले बताएका छन् ।


खबर एजुकेशनको आयोजना र लिबर्टी कलेजको सहयोगमा उच्च शिक्षामा तत्काल देखिएका समस्या समाधानका उपाय सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अब विद्यालय शिक्षा तथा उच्चशिक्षालाई लयबद्ध बनाउन शिक्षा सम्बन्धी राम्रो नीति ल्याउन आवश्यक रहेको उनको भनाई छ ।


“विश्वविद्यालय भनेको ज्ञान मात्र लिने ठाउँ होइन, विचार निर्माणको थलो पनि हो, तर पढाउने तालिकादेखि परीक्षा लिने, परीक्षाको नतिजा समयमा प्रकाशन गर्ने वातावरण बनाउनुपर्छ । प्राज्ञिक क्षेत्रमा तीन दशकदेखि नेपालको उच्चशिक्षा सुधार्ने विषयमा बहस चाहिँ चिलरहेकै हो । प्रणालीगत सुधार गर्न आवश्यक छ” उनले भने ।


महरले मानिस सरिरहने प्राणी भएकोले अहिलेको समयमा विदेश जाने विद्यार्थीलाई रोक्न नसकिने बताए । तर विद्यार्थीलाई नेपालकै विश्वविद्यालयमा पढ् भन्नका लागि धेरै कुराको सुधार गर्न आवश्यक रहेको विचार व्यक्त गरे ।


उनले भने “ठूला अवसरका लागि जानु स्वभाविक हो तर साना, तिना आवश्यकताका लागि समेत विदेश जानुपर्ने वाध्यताको अन्त्य गर्न जरुरी छ । शिक्षा विधेयक सदनमा छ । विद्यालय शिक्षा, उच्च शिक्षालाई लयबद्ध बनाउन शिक्षा सम्बन्धी राम्रो नीति ल्याउन आवश्यक छ ।”