काठमाडौँ /२५ साउन – सरकारले विद्यालय शिक्षा विधेयकमा चार बुँदा नसच्याए आन्दोलनमा जाने निजी विद्यालयहरूले चेतावनी दिएका छन् ।
निजी विद्यालयहरूलाई क्रमशः गैर नाफामूलक बनाईनेछ भन्ने वाक्यांश हटाइनु पर्ने, पूर्ण छात्रवृत्ति भन्ने शब्द हटाइनु पर्ने, हाल अभ्यासमा रहेको जम्मा विद्यार्थी सङ्ख्याको १०% छात्रवृत्ति दिने प्रावधानलाई निरन्तरता दिइनु पर्ने र छात्रवृत्ति अन्तर्गत भर्ना शुल्क, वार्षिक शुल्क र मासिक पढाइ शुल्क कायम हुनुपर्ने व्यवस्था गरेर शिक्षा ऐन जारी गर्नुपर्ने माग गरेका छन् ।
निजी विद्यालयका ४ संगठनहरू हिसान, नेशनल प्याब्सन, एन प्याब्सन र प्याब्सनले आज राजधानीमा आयोजित संयुक्त पत्रकार सम्मेलन मार्फत साउन २८ गते भित्र मागहरू सम्बोधन गरी विधेयकमा संशोधन नगरिए आगामी साउन २९ गतेदेखि आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन् ।
राज्यले गर्न नसक्ने काम निजी क्षेत्रबाट प्रवाह गराउन खोज्नु अत्यन्त अव्यावहारिक र राज्यलाई अनुत्तरदायी बनाउने प्रयास रहेको उल्लेख गर्दै प्रतिकूल हुनेगरी गरिने नीतिगत निर्णयको विपक्षमा उभिन बाध्य भएको उनिहरूको भनाई छ ।
“अनिवार्य तथा निःशुल्क शिक्षा ऐन कार्यान्वयनमा निजी क्षेत्र बाधक भएको भन्ने बुझाई हो भने निजी विद्यालयहरूलाई राष्ट्रियकरण गरी यसलाई राज्यको मातहतमा लिने वा सबै विद्यार्थीहरूलाई भौचर दिएर विद्यालय छान्ने अवसर निर्माण गर्नुको विकल्प छैन । र नेपालको संविधानले व्यक्तिको पेशा, व्यवसाय र लगानी सुरक्षाको प्रत्याभूत गरेको छ । यसको प्रतिकूल हुनेगरी गरिने नीतिगत निर्णयको विपक्षमा हामी उभिन बाध्य हुनेछौ । तसर्थ सम्पूर्ण सरोकारवालाका विषयहरू विद्यमान कानुनी व्यवस्था र कानुनबमोजिम स्थापना भई सञ्चालन भएका संस्थाहरूको स्थायित्वलाई समेत मध्यनजर गरी कुनै पूर्वाग्रह नराखी निर्माणाधीन शिक्षा ऐनमा समुचित व्यवस्था गरियोस् भने जोडदार माग गर्दछौँ ” विज्ञप्तिमा भनिएको छ ।
प्याब्सनका अध्यक्ष कृष्ण अधिकारीले सरकार आफैले पनि विद्यार्थीलाई व्यवस्था गर्न नसकने तर निजीले १५ प्रतिशत छात्रवृत्ति दिनुपर्ने व्यवस्थाले निजी क्षेत्र तरङ्गित भएको बताउँदै १० भर्नामा प्रतिश छात्रवृत्ति बाहेक १ प्रतिशत पनि दिन नसकिने बताए । यसैगरी नेशनल प्याब्सनका अध्यक्ष सुवास न्यौपानेले सरकारले फेरी छात्रवृत्तिका नाममा निरुत्साहीत गर्न खोजेको र भावनामा मात्रै बगेर कुनै निर्णय गर्दा सरकार गलत बाटोमा गएको बताए । उनले विद्यालय क्षेत्रमा ३४ प्रतिशत निजी विद्यालयले ओगटेको उल्लेख गर्दै १५ प्रतिशत निःशुल्क गर्दा बाँकी ८५ प्रतिशतलाई अन्याय हुने हुँदा यसले द्वन्द मात्रै सिर्जना गर्ने बताए ।
प्याब्सनका निवर्तमान अध्यक्ष डिके ढुङ्गानाले सरकारले भावनामा बगेर लेखेको १५ प्रतिशत छात्रवृत्तिको व्यवस्था नसच्याए सडकमा जान बाध्य हुने चेतावनी दिए । ढुङ्गानाले १० प्रतिशतसम्म भर्ना, वार्षिक र मासिक शुल्क दिन सकिने बताउँदै १५ प्रतिशत पूर्ण छात्रवृत्ति कुनै हालत दिन नसकिने र सरकारलाई सच्याउन आग्रह गरे ।
निजी विद्यालयले राखेका तत्काल सच्याउनु पर्ने विषयहरू :
१) निजी विद्यालयहरूलाई क्रमशः गैर नाफामूलक बनाईनेछ भन्ने वाक्याशं हटाइनु पर्ने ।
२) पूर्ण छात्रवृत्ति भन्ने शब्द हटाइनु पर्ने ।
३) हाल अभ्यासमा रहेको जम्मा विद्यार्थी सङ्ख्याको १०% छात्रवृत्ति दिने प्रावधानलाई निरन्तरता दिइनु पर्ने ।
४) छात्रवृत्ति अन्तर्गत भर्ना शुल्क, वार्षिक शुल्क र मासिक पढाइ शुल्क कायम हुनुपर्ने ।
यदि श्रावण २८ गते भित्र हाम्रा मागहरू संबोधन गरी विधेयकमा संशोधन नगरिए आगामी श्रावण २९ गतेदेखि आन्दोलन गर्न बाध्य हुने ।



