काठमाडौँ /२५ साउन – विद्यार्थीका लागि अङ्क भन्दा सिकाई बढी महत्वपूर्ण रहेको शिक्षाविद् तथा सरोकारवालाहरूले सुझाब दिएका छन् । खबर एजुकेशनद्वारा शुक्रवार राजधानीमा आयोजित “परीक्षा अङ्क वा सिकाई” शीर्षकको कार्यक्रममा बोल्दै नेपालको सन्दर्भमा अङ्क र सिकाई उत्तिकै महत्वपूर्ण रहेको र विद्यालयको पाठ्यक्रम सुधार गरेर विद्यार्थीहरूलाई सिकाईमा केन्द्रीत गर्नुपर्ने सुझाब दिएका हुन् ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले यस वर्षको एसईई नतिजाका बारेमा बोल्दै परीक्षामा धेरै सुधार आएको बताए । उनले आगामी दिनमा परीक्षालाई अझै व्यवस्थित र वैज्ञानिक बनाउन बोर्डले काम गरिरहेको र परीक्षा र पाठ्यक्रमका विषयमा शिक्षकहरूलाई राम्रो जानकारी नहुँदा समस्या आउने गरेको बताए । उनले प्रश्न पत्र निर्माण, उत्तरपुस्तिका परीक्षण, पाठ्यक्रमले निर्धारण गरेको उदेश्य लगायतका विषयमा विभिन्न तालिम सञ्चालन गर्न आवश्यक रहेकोमा जोड् दिए ।
परीक्षा अङ्क वा सिकाई बिचमा रहेको अन्योलता र शिक्षा क्षेत्रको सुधारका लागि यस क्षेत्रसँग सम्बद्ध व्यक्तित्वहरू भेला भएर गरिने छलफलले समस्या पहिचान र समाधानको बाटो निस्कने बताउँदै प्राप्त सुझाबलाई कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
शिक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता शिवकुमार सापकोटाले शिक्षा क्षेत्रमा समय अनुसारको परिवर्तन तथा सुधारका लागि यस क्षेत्रका सरोकारवालाबिच भएका छलफल प्रभावकारी हुने बताउँदै प्राप्त सुझाब मन्त्रालयका लागि आगामी दिनमा पाठ्यक्रम परिवर्तन, परीक्षा लगायतका विषयमा उपयोगी हुने बताए ।
हरेक क्षेत्रमा परिवर्तनको आवश्यकता हुन्छ, सबै नेपालीबिच शिक्षाको पहुँच पुग्न, गुणस्तरीय शिक्षा र सिकाई पद्धति र पाठ्यक्रमहरूमा पनि आवश्यक परिमार्जनका लागि यस्ता विषयहरूमा सुझाब आउनुपर्ने उल्लेख गर्दै पछिल्लो समयमा विद्यालय तहको पाठ्यक्रम परिमार्जनको काम भईरहेको बताए । उनले विद्यार्थीलाई प्राविधिक शिक्षा तथा व्यवहारिक शिक्षामा बढी जोड् दिइएकोले विद्यार्थीका लागि अङ्कसँगै सिकाईलाई पनि जोड्न सकिए अझै राम्रो हुने धारणा व्यक्त गरे ।
त्रिभुवन विश्वविद्यालय, शिक्षा शास्त्र संकायका पूर्व डिन एवं शिक्षाविद् प्रा.डा प्रकाशमान श्रेष्ठले राष्ट्रिय/अन्तरराष्ट्रिय शिक्षा क्षेत्रको अवस्थाबारे अध्ययन गरी तथ्याङ्क प्रस्तुत गर्दै नेपालको शिक्षा क्षेत्रको सुधारका लागि अझै धेरै मेहनत गर्नुपर्ने अवस्था रहेको बताए ।
उनले गत वर्ष एसईईको परीक्षाफलको अध्ययन गर्दा ७७ मध्ये ७१ जिल्लाका विद्यार्थीहरू नेपाली विषयमा कमजोर नतिजा ल्याएको उल्लेख गर्दै पाठ्यक्रममा सुधार गर्नुपर्ने अवस्था झल्किएको बताए । त्यसैगरी वि.स. २०८० को भन्दा वि.स. २०८१ को एसईईको नतिजामा १४ प्रतिशत बढी नतिजा आउँदा कतिपय सञ्चारमाध्यमले स्कुलले थप्न पाउने नम्बर बढि थपे कि भन्ने शङ्का समेत गरेको तर नेपालका शिक्षण सिकाई राम्रो हुँदै आएको भन्ने आकलन नगरेको उल्लेख गरे । यस क्षेत्रमा अहिले धेरै सुधारको आवश्यकता छ, मिलेर राम्रो गर्नपट्टि सबै लागौँ, शङ्का नगरौँ उनले भने ।
प्रा.डा. श्रेष्ठले चाइना, सिङ्गापुरमा विद्यार्थीहरूलाई जीवनशैलीसँग जोडिएका विषयलाई अनिवार्य विषयको रूपमा राखेर नागरिकलाई आत्मनिर्भर बनाउने अभ्यास बढि गराइने शिक्षा पद्धति रहेको पनि उल्लेख गरे ।
फिनल्याण्ड, सिङ्गापुरलगायतका विकसित देशहरूले विद्यार्थीलाई जीवनोपयोगी विषय राखेर ५/६ वटा विषय मात्र पढाउने तर गुणस्तरीय शिक्षा दिने प्रणालीगत सुधार गरेको तर नेपालमा धेरै विषय पढाएर किताबका भारी तर उपयोगी पाठ्यक्रम नभएकोले पनि पढाईप्रति रुचि जगाउन गाह्रो परेको हो कि भन्ने सुझाव दिए ।
उनले भने परीक्षामा अङ्क महत्वपूर्ण कि सिकाई भन्ने विषयमा दुवै महत्वपूर्ण छन्, व्यवहारिक शिक्षा पद्धतितिर जोड दिउँ, हाम्रो विद्यार्थीले ४ जिपिए ल्ययो, यत्ति नम्बर ल्ययो भन्दै उत्सव मनाउँदा नम्बर कम ल्याएका विद्यार्थीमा निराशा, मानसिक समस्या समेत निम्तिने विषयबारे अभिभावक, स्कुल, शिक्षक समेत सचेत हुनुपर्छ । खुसी हुनु स्वभाविक भएपनि उत्सव नै मनाईहिड्नु गलत प्रवृत्ति हो ।
नेपाल शिक्षक महासङ्घका सहअध्यक्ष नानुमाया पराजुलीले विद्यार्थीको प्राप्ताङ्क उसको विषयप्रतिको बुझाईको सानो मापदण्ड मात्र रहेको बताउँदै त्यो नै सबैथोक भने नभएको बताइन । एउटा विद्यार्थीसँग पढाईका साथै धेरै प्रतिभा हुन्छन्, तीनघण्टे परीक्षाले सबै नाप्न नसकिने उनको भनाई थियो । गाउँका विद्यार्थीले सहरका भन्दा धेरै कुरा जानेका र सिकेका हुन्छन्, कक्षा कोठामै अभ्यास गर्दै सिक्ने, बुझ्ने अवसरका लागि सामुदायिक विद्यालयमा भने साधन स्रोतकै अभाव रहेको बताइन ।
प्याव्सनका अध्यक्ष कृष्ण अधिकारीले विद्यार्थीलाई अङ्क मात्र बढि ल्याउन घोकाइरहनु भन्दा सिप सिकाउने पद्धतिको आवश्यक रहेको धारणा व्यक्त गरे । राज्य र शिक्षा क्षेत्रसँग सम्बद्ध सरोकारवालाले अव नेपाली विद्यार्थीलाई सिपमूलक शिक्षण पद्धतिमा जोड दिनुपर्ने बताए ।
निल वाराही माध्यमिक विद्यालयका प्रधानाध्यापक डा. जानुका नेपालले चार जिपिए ल्याएका विद्यार्थीलाई मात्र महत्व दिने, अनेक खालका उत्सव, सम्मान, पुरस्कारको व्यवस्था गर्ने पद्धतिले कम नम्बर ल्याउने वा कुनै विषयमा फेल नै भएका विद्यार्थीले आत्महत्या गर्ने सम्मका घटना भइरहेको बताइन ।
“सबै एउटै क्षमताका हुँदैनन, विद्यार्थीलाई बढी नम्बर भन्दा पनि व्यवहारिक र जीवनोपयोगी सिपमा जोड दिएर, एक पटक असफल भएपनि अर्को पटक सफलता पाउछौँ भन्ने कुरा सम्झाउने काममा अभिभावक, विद्यालय परिवार, र समाजको पनि दायित्व हो” उनले भनिन् ।
रातो बंगला स्कुलकी संस्थापक निर्देशक डा. शान्ता दीक्षितले विद्यालयस्तरीय शिक्षा सुधारका लागि देशभरकै स्कुलमा शिक्षण पद्धति, सिकाइएको वातावरण सिर्जना गर्न सक्नुपर्ने बताइन ।
उनले कार्यपत्र प्रस्तुत गर्दै नेपाली शिक्षा क्षेत्रमा बालबालिकालाई स्कुल जान थालेदेखि नै परीक्षाको बोझ बोकाउने, बढि नम्बरलाई महत्व दिँदा अभिभावक, विद्यार्थी र शिक्षकले समेत घोकाउने, रटाउनेमा जोड दिनुपर्ने अवस्था रहेको उल्लेख गरीन । स्कुलको व्यवस्थित संरचनादेखि शिक्षकलाई पनि पढाउन सक्ने क्षमता, नयाँ प्रविधि विषयबारे थप तालिमको व्यवस्था गर्दै जानुपर्नेमा जोड् दिइन ।
रटेको, घोकेको कुरा छिटो बिर्सने भएकोले त्यसरी अङ्क ल्याउने होडबाजीलाई छोड्दै विश्व परिस्थितिलाई बुझेर अगाडि बढ्न सक्ने नागरिक तयार गर्न व्यवहारिक, सिपयुक्त शिक्षामा जोड दिनुपर्ने उनको भनाई छ । शिक्षाविद् रमेश वस्तीले कक्षा कोठामा सिकेका विषय कति जाने भनेर जान्न परीक्षा पनि आवश्यक रहेपनि सिकाई मजबुत भएपछि परीक्षामा नम्बर पनि अवश्य नै आउने बताए ।
रानीदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक नारायण गौतमले विद्यालयमा शैक्षिक सामाग्री कमी हुने हुँदा शिक्षण सिकाईमा निकै सकस भएको बताए । उनले विद्यार्थीको सिकाईमा भन्दा पनि उनिहरूले प्राप्त गरेको अङ्कका आधारमा शिक्षक तथा विद्यालयको स्तर निर्धारण गरिने गलत अभ्यास हुने गरेको बताए । उनले भने “स्थानीय तहले पनि त्यसलाई बढी हेर्छ, पढाउनका लागि पर्याप्त शैक्षिक सामग्री, तालिम छैन । तर नतिजालाई हेरेर विद्यालय र शिक्षकको स्तर निर्धारण गर्नु, कारबाही गर्छौ भन्नु गलत हो ।”
प्रिमियर इन्टरनेशनल आईबी कन्टिन्युम स्कुलकी संस्थापक निर्देशक पवित्रा लिम्बुले नम्बर भन्दा पनि सिप सिकाईमा जोड दिनुपर्नेमा द्विविधा नरहेको बताउँदै अङ्क धेरै ल्याएको भन्दै उत्सव मनाएर अन्य विद्यार्थीलाई हतोत्साही, निराश पार्ने वातावरणको अन्त्य हुनुपर्ने बताइन । विद्यार्थीले निराश भएर आत्महत्या गर्ने प्रवृत्ति बन्द होस्, पहिलेको टप टेन बोर्डको अन्त्य त भयो, तर अहिले पनि ४ जिपिए भन्दै धुमधाम खुसियाली मनाउने क्रम चलीरहेको र ठुल, ठुला हिसाब राखेर गणित विषय नपढाई, पाठ्यक्रमलाई सरलीकृत गर्दै व्यवहारिक सिकाइमा जोड दिनुपर्छ उनले भनिन् ।
शिक्षाविद् मेदिनी लामिछानेले एसईईका विद्यार्थीले ल्याएका नम्बर र नतिजाबारे मात्र बहस हुन्छन् तर हाम्रा विद्यार्थीहरू कक्षा एकमा भर्ना भएदेखि एसईईको परीक्षासम्म आउँदा करिब आधाको सङ्ख्याले हराउँछन्, स्कुल छोड्छन्, ति विद्यार्थीहरू किन हराए, उनीहरू कुन क्षेत्रमा गए, भन्ने विषयमा पनि अब बहस र अध्ययन हुन जरुरी रहेको बताए ।
नेपाली विद्यार्थीले बीचैमा पढाई छोड्नुको पछाडि लुकेको कारण, कमजोरीबारे पनि खोजबिन गरेर सबैले उच्च शिक्षासम्मको यात्रा तय गराउनेतर्फ जोड दिनुपर्ने उनको भनाई थियो ।
उनले विद्यार्थीले परीक्षामा नम्बर धेरै ल्याउनुपर्ने बाध्यात्मक अवस्थाका कारण शिक्षक, विद्यार्थी, स्कुल परिवारको मानसिक अवस्थामै असर पुग्न थालेको र विद्यार्थीले त परीक्षामा असफल भएको वा नम्बर कम आयो भनेर पनि आत्महत्या गर्ने वातावरणको अन्त्यका लागि नम्बरलाई जोड नदिई जीवन उपयोगी सिपमा जोड दिनुपर्ने बताए ।



