कक्षा १२ को नतिजाले उठाएका प्रश्न

काठमाडौं/२२ साउन – यो वर्षको कक्षा १२ को नतिजाले पुनः नेपाली शिक्षा प्रणालीमा गहिरो विमर्शको ढोका खोलिदिएको छ । यसवर्ष तुलनात्मक रुपमा धेरै विद्यार्थी उत्तीर्ण त भए तर यसैमा सन्तुष्ट रहनु मुर्खता पनि हुन्छ । हजारौं विद्यार्थी अनुत्तीर्ण हुनु र उत्तीर्ण हुनेहरूको पनि बहुसंख्यक कमजोर श्रेणीमा सीमित रहनु केवल विद्यार्थीको असफलता होइन; यो समग्र शिक्षा प्रणालीको, विशेषतः शिक्षक, विद्यालय व्यवस्थापन र अभिभावकमाथिको मौन प्रश्न हो । किन र कसरी विद्यार्थीहरू एकै विषयमा एकैपटक असफल हुन्छन् ? के यसको सम्पूर्ण दोष उनीहरूकै हो ? कि कतै शिक्षण पद्धति, शिक्षकको प्रस्तुतीकरण, विद्यालयको प्रशासन, वा घरमै अभिभावकहरूको वेवास्तामा मूल त्रुटि लुकेको छ ?


शिक्षक, शिक्षा प्रणालीको मेरुदण्ड मानिन्छन् । उनीहरू न केवल पाठ्यपुस्तक पढाउँछन्, जीवनदृष्टिकोण दिन्छन् । विद्यार्थीको बौद्धिक विकास मात्र होइन, तिनको सोचाइ, मूल्यबोध, चेतना र आत्मबल निर्माणमा समेत शिक्षकको भूमिकालाई बेवास्ता गर्न सकिन्न । जब एउटै विद्यालयमा एउटै विषयमा लगातार विद्यार्थीहरू कमजोर देखिन्छन्, तब त्यो विषय पढाउने शिक्षकको कार्यशैली, तयारी र समर्पणमाथि पुनर्विचार गर्न आवश्यक हुन्छ । त्यो पुनर्विचार केवल आलोचना होइन — सुधारको सुरुवात हुनुपर्छ ।


नेपालको शिक्षण संस्कृतिमा शिक्षकको मूल्यांकन कहिल्यै गहिरो तहमा गरिएको देखिँदैन । शिक्षक बनिसकेपछि उनीहरूको योग्यता, प्रस्तुतिप्रति सरोकार राखिने प्रभावकारी संयन्त्रको अभाव छ । न त नियमित निरीक्षणको परम्परा छ, न त उनीहरूको कक्षा सञ्चालनको समग्र मूल्यांकन । यस्तो अवस्थाले गर्दा कतिपय शिक्षक समयअनुकूल नबदलिएर परम्परागत पद्धतिमा सीमित हुने, विद्यार्थीसँग संवाद नगरी केवल पाठ्यपुस्तक पढाउने, वा परीक्षामैत्री अभ्यास नगर्ने प्रवृत्ति मौलाउँछ । परिणामतः, नतिजा कमजोर देखिन्छ — जुन विद्यार्थीले बोेहोर्नुपर्ने अभिशाप बनेको हुन्छ ।


तर शिक्षक मात्र दोषी हुन् त ? यहाँ ध्यान दिनुपर्ने अर्को पक्ष हो — अभिभावकको वेवास्ता । आजका कक्षा १२ का विद्यार्थीहरू शारीरिक रूपमा किशोरावस्थाबाट युवावस्थामा प्रवेश गरेका छन्, तर तिनको सामाजिक, भावनात्मक तथा शैक्षिक विकासमा अभिभावकहरूको सहकार्य कत्तिको छ ? के अभिभावकहरूले बालबालिकाको पढाइमा चासो देखाएका छन् ? कि तिनलाई विद्यालयले पास गर्छ भनेर निश्चिन्त भएर बसिरहेका छन् ? धेरैजसो अवस्थामा, अभिभावकहरू विद्यालयको शुल्क तिरेर आफूले कर्तव्य पूरा गरिसकेको ठान्छन् । बालबालिकाको दिनचर्या, पढाइको समय, सिकाइमा आएको प्रगति जस्ता पक्षमा ध्यान नदिँदा विद्यार्थीहरू ‘स्वतन्त्रता’ को नाममा दिशाहीन बन्दै जान्छन् ।


विद्यालय प्रशासन पनि आलोचनाबाट अछुतो छैन । कतिपय विद्यालयहरूमा शिक्षक छनोटको प्रक्रिया नै औपचारिकतामा सीमित हुन्छ । न त योग्यता मूल्यांकन गरिन्छ, न त प्राविधिक दक्षता हेर्ने गरिन्छ । प्रशासनले नतिजाभन्दा बढी प्रचारमा ध्यान दिने प्रवृत्ति विकास गरिरहेको छ । कतिपय विद्यालयमा शिक्षकहरूले सशक्त कक्षा सञ्चालन गर्न नसक्दा पनि समयमै सच्याउने, प्रशिक्षण दिने वा परामर्श प्रदान गर्ने प्रवृत्ति छैन । उल्टै, विद्यालय व्यवस्थापन आफ्ना आन्तरिक कमजोरीहरू लुकाएर नतिजाको दोष विद्यार्थी वा शिक्षकलाई मात्र दिने प्रयास गर्छ — जुन दीर्घकालीन रूपमा शिक्षा प्रणालीकै पतनतर्फ उन्मुख संकेत हो ।


शिक्षकको मूल्यांकन भनेको दोषारोपण होइन, सुधार र उत्तरदायित्वको प्रक्रिया हो । यो मूल्यांकन तथ्यमा आधारित, निष्पक्ष र समाधानमुखी हुनुपर्छ । जब एउटै विषयमा लगातार विद्यार्थीहरू असफल हुन्छन्, तब सो विषयका शिक्षकको भूमिकालाई स्वतः मूल्यांकनको केन्द्रमा ल्याउनुपर्छ । यदि शिक्षकले आफ्ना विद्यार्थीहरूको क्षमता बुझेर, विषय अनुरूप विधि परिवर्तन गरेर कक्षा सञ्चालन गरे भने परिणाम फरक हुन सक्थ्यो । साथै, शिक्षकको उपस्थिति, पठनपाठन शैली, विद्यार्थीको सहभागिता र परीक्षणको तयारी जस्ता पक्षको समग्र मूल्यांकन अनिवार्य छ ।


अर्कोतर्फ, विद्यार्थीहरू पढ्दैनन् भन्ने कथन कति समयसम्म दोहोर्याइरहने ? नपढ्ने कारण के हो ? के त्यहाँ प्रेरणाको कमी छ ? कक्षा १२ का विद्यार्थीहरू अब शिशु होइनन्, उनीहरूलाई कसरी पढ्ने भन्ने ज्ञान हुनु पर्ने हो । तर प्रेरणा र सहजीकरण दिनेबाहक शिक्षक र अभिभावक हुन् — जुन ठोस रूपमा देखिँदैन । शिक्षकले केवल पाठ पढाएर, “अब तिमीहरूको काम“ भनेर छोड्ने परम्परा अहिलेको युगमा चलेन । शिक्षण त्यो हो जहाँ विद्यार्थीको जिज्ञासा सुन्ने समय हुन्छ, शंका समाधान गर्ने आत्मीयता हुन्छ, र बुझाइ गहिर्याउने अभ्यास हुन्छ ।
त्यसैले अब शिक्षण मूल्यांकनको दायरा फराकिलो बनाउनु आवश्यक छ । नतिजा आधारित मूल्यांकनको साथसाथै शिक्षकको आत्ममूल्यांकनको संस्कृति विकास हुनुपर्छ । शिक्षकले आफ्नो कक्षा र नतिजामार्फत् आफैँलाई हेर्ने अभ्यास गर्नु अनिवार्य छ । आत्मालोचना बिना आत्मसुधार सम्भव छैन । आजको शिक्षा प्रणालीमा सुधारको आधार भनेकै शिक्षकको सोच परिवर्तन र अभिभावक तथा विद्यालय प्रशासनको सक्रिय सहभागिता हो ।


शिक्षक मूल्यांकन सफल बनाउन राज्यको पनि भूमिका छ । कमजोर नतिजा देखाउने शिक्षकलाई परामर्श, आवश्यक तालिम वा पुनःपढाइको अवसर उपलब्ध गराइनुपर्छ । उत्कृष्ट नतिजा दिने शिक्षकलाई सम्मान, पुरस्कार वा प्रोन्नतिजस्ता उपायमार्फत प्रोत्साहन दिन सकिन्छ । यसले गुणस्तर सुधार्ने मात्र होइन, प्रतिस्पर्धात्मक भावना जागृत गर्न पनि सहयोग पुग्छ ।


तर मूल्यांकन केवल अंकमा सीमित हुनु हुँदैन । विद्यालयका स्रोतसाधन, कक्षा कोठाको वातावरण, समयमै तलब नपाउने अवस्था, शिक्षकको कार्यभार — यी सबै पक्षले शिक्षकको कार्यक्षमतामा असर पार्छन्। मूल्यांकन गर्दा यस्ता पक्षलाई समेत ध्यानमा राखेर नीति निर्माण गरिनुपर्छ — जसले सुधारको माहोल बनाओस्, दण्डको होइन ।


शिक्षा सुधारको मूल प्रवेशद्वार शिक्षकको सशक्तीकरणबाट खुल्छ । जब शिक्षकले आफ्नो पढाइको नतिजामा गर्व गर्न थाल्छन्, अनि मात्र त्यो शिक्षण पूर्ण हुन्छ । जब अभिभावकहरू आफ्ना सन्तानको शैक्षिक यात्रामा सहयात्री बन्छन्, तब मात्र विद्यार्थीको प्रगति सुनिश्चित हुन्छ । र जब विद्यालय व्यवस्थापन उत्तरदायी बन्छ, तब मात्र शिक्षा प्रणाली विश्वसनीय बन्छ ।


यसर्थ, अब कक्षा १२ को नतिजालाई केवल संख्यात्मक असफलताका रूपमा होइन, गुणात्मक समीक्षा र सुधारको ऐनाका रूपमा हेर्नुपर्ने समय आएको छ । शिक्षक, अभिभावक, विद्यालय र राज्य — सबै पक्षले आफूलाई ऐनामा हेरेर सुधारको पहिचान गर्नुपर्छ । सुधार सजिलो हुँदैन, तर सुधार नगरी प्रगति सम्भव छैन । मूल्यांकन भनेकै सुधारको सुरुवात हो — त्यो सुरुवात शिक्षकबाट, विद्यालयबाट, र अभिभावकको सोचबाट हुनुपर्छ ।


(लेखक अनन्तप्रसाद घिमिरे हुनुहुन्छ ।)